\
रौतहट÷सर्लाहीको मलंगवामा बज्जिका महोत्सव २०८१ सम्पन्न भएको छ । बज्जिका साहित्य समाज सर्लाहीको सहयोगमा मलंगवा नगरपालिकाले नेपालको इतिहासमा पहिलोपटक बज्जिका महोत्सव सम्पन्न गरिएको हो ।
मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री माननीय सञ्जयकुमार यादवले बज्जिका भाषा र साहित्यको प्रबद्र्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यादवले मन्त्री पदको शपथ बज्जिका भाषामा नै लिएका थिए । भाषाको लिपिको संरक्षण हुनुपर्ने बताउँदै यादवले मधेशको सबैभन्दा बढी मानिसको आत्मामा बसेको भाषाको रुपमा बज्जिकालाई बताएका छन् । आफ्नो भेष, पहिरन, संस्कृति र भाषा सबैलाई प्राणभन्दा प्यारो हुने बताउँदै पूर्वमन्त्री यादवले बज्जिका महोत्सवले नयाँ इतिहासको गोरेटो निर्माण गरेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बज्जिका भाषाको विकास महत्वपूर्ण रहेको बताउँदै मातृभाषालाई छाडेर अंग्रेजी शिक्षातिर ध्यान दिने अभिभावकप्रति असन्तोष व्यक्त गरेका छन् । अध्यक्ष महतोले पहिचानको लागि भाषा र संस्कृतिको रक्षा अत्यावश्यक रहेको पनि बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि, नगर प्रमुख र कार्यक्रम संयोजक तथा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले सञ्जय साह मित्र, विश्वराज अधिकारी, राम विश्वास राय, सिद्धान्तकुमार चौधरी, रेणु गुप्ता, रामचन्द्र महतो कुशवाहा, किशुनदयाल श्रीकृष्ण र सञ्जय सुदामाद्वारा लिखित संयुक्त लघुकथा कृतिको संयुक्त लोकार्पण गरेका छन् । नेपालमा बज्जिका भाषाको पहिलो लघुकथा कृति ‘बज्जिका लघुकथा’को प्रकाशन लेखकहरु स्वयंले गरेका छन् । हरेक लेखकको पाँच ओटाको दरले कवितामा चालिस लघुकथा संकलित छन् । लघुकथा कृतिको लागि रचनाको संयोजन सञ्जय साह मित्रले गरेका थिए ।
बज्जिका भाषाको स्वरुप शीर्षकमा अनुसन्धानकर्मी सञ्जय साह मित्रले कार्यपत्र प्रस्तुत गरेका छन् । यसै गरी मित्रले बज्जिका भाषाको इतिहासको बारेमा पनि प्रकाश पारेका छन् ।
कार्यक्रममा मित्रलाई बज्जिका रत्न उपाधि प्रदान गरिएको छ । यसअघि सर्लाहीकै एउटा संस्थाले मित्रलाई बज्जिका शिरोमणि उपाधि प्रदान गरेको थियो । बज्जिका भाषाको इतिहास, साहित्य, व्याकरणसमेत लेखेका मित्रले बज्जिका शब्दकोशमा पनि काम गरेका छन् । मित्रलाई नेपालीय बज्जिकाको पहिलो साहित्यकार मानिएको छ । बज्जिका भाषमा मित्रको एक दर्जन कृतिसहित महाकाव्य पनि प्रकाशित छ । यसै गरी महोत्तरीका साहित्यकार अजयकुमार झालाई बज्जिका गौरवको उपाधि दिइएको छ । यसै गरी साहित्यकारहरु विश्वराज अधिकारी, विमलेशकुमार झा, डा. विजय झासहित करिब एक दर्जन साहित्यकारलाई सम्मानित गरिएको छ ।
कार्यक्रममा भारतीय बज्जिका साहित्यकार मणिभूषणप्रसाद सिंह अकेला, डा. शिवबालक राय, डा. सञ्जय विजित्वर, अवधेष तृषित, रामकिशोर सिंह चकवालाई पनि सम्मानित गरिएको छ । कार्यक्रममा राजकुमार श्रीवास्तव, विमला झासहित आधा दर्जन पत्रकारलाई पनि सम्मानित गरिएको छ ।
नेपालको बारा, रौतहट, सर्लाही र महोत्तरीमा मातृभाषाको रुपमा बोलिने बज्जिका मातृभाषी भारतमा करोडौँको संख्यामा रहेका छन् । नेपालमा पहिलोपटक बज्जिका महोत्सव आयोजना गरिएपछि बज्जिका मातृभाषी तथा साहित्यकारहरुमा निकै उत्साह देखिएको छ । मलंगवा नगरपालिकाले पहिलो बज्जिका महोत्सवको आयोजना गरेपछि नेपाल र भारतभरि मलंगवा नगरपालिकाको प्रशंसा खुब भइरहेको छ ।
केही महिना पहिले सर्लाहीमा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको थियो । लगातार सार्थक कामहरु भइरहँदा सर्लाहीमा बज्जिका भाषाको प्रचारमा ठुलो टेवा पुगेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सर्लाहीको सबैभन्दा ठुलो मातृभाषा बज्जिका रहेको छ ।
प्रतिक्रिया