रौतहट
देशको पीडा विदेशको पीर – पुस्तकको समालोचना तथा वितरण कार्यक्रम सर्लाहीको गोडैता बजारस्थित वेणी भोला नमुना माध्यमिक विद्यालय प्रांगणमा सोमवार सम्पन्न भएको छ । पूर्व शिक्षक कृष्णकान्त झाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्रकुमार यादवले बोल्दै कृति र कृतिकार दुवै अनुकरणीय रहेको बताएका छन् ।
सर्लाहीको सिमराका सुनीलकुमार झाले लेखेको पुस्तकमाथि परिचर्चा कार्यक्रम राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख यादवसमेत कवि राजेन्द्र ठाकुर, कवि सिंहेश्वर सिंह, बिन्दी चौधरी, दिनेश्वर ठाकुर, किशुनदयाल श्रीकृष्ण, सञ्जय साह मित्र, मुनर यादव तथा जुगलकिशोर दासले पुस्तक र पुस्तककारको खुलेर प्रशंसा गरेका छन् ।
बुक हिल प्रकाशक रहेको पुस्तकसित प्रत्यक्ष सम्बन्धित कोही पनि उपस्थित नहुँदा पनि करिब एक सयजना भन्दा बढी शिक्षक, पूर्व शिक्षक तथा समाजसेवी र साहित्यकारको उपस्थितिमा भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको छ । देशको पीडा विदेशको पीर – पुस्तकमा कवि सुनीलकुमार झाले आफ्ना काकाको आलोकमा आफ्नो जीवन र भोगाइलाई प्रस्तुत गरेका छन् ।
एक सामान्य मध्यम वर्गीय परिवारमा जन्मेका झाले दृष्टिविहीन तर दूरदर्शी काकाको आदर्शलाई पछ्याउँदा तथा अमेरिकासम्म पुग्दा पनि काकाकै आदर्शलाई मानेर अगाडि बढेको कृतिमा उल्लेख गरेका छन् । सात खण्डमा विभाजित कृतिमा काका सदानन्द झाको निकै प्रशंसा पनि गरिएको छ । कृतिमाथि मन्तव्य व्यक्त गर्नेहरुले पनि सदानन्द झा, सुशीलकुमार र कृतिको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
सदाननन्द झाको आलोकमा रामायण र महाभारतका विभिन्न सान्दर्भिक दृष्टान्त र जीवनमा उपयोगितासहित कृतिकार झाले आफ्नो जीवनको संघर्षको गाथा प्रस्तुत गरेका छन् । केही महिना पहिले काठमाडौँमा विमोचन गरिएको पुस्तकको लेखक झाले पढेको विद्यालयमा नै पुस्तकको उपयोगिताबारे पनि छलफल गरिएको छ ।
लेखक झाका गुरुहरु, समकालीन तथा साथीहरुका साथै अनुज पुस्ताले कृतिमाथि प्रकाश पार्ने क्रममा विद्यालयका करिब डेढ सय विद्यार्थीलाई पनि प्रोत्साहनको लागि राखिएको थियो । लेखक झाका गुरुहरुले उत्तम शिष्य पाएको भन्दै गर्व व्यक्त गरेका छन् । झाका गुरु कवि राजेन्द्र ठाकुरले भने – सुनीलकुमार झा जस्तो शिष्य पाएर गुरुहरु पनि धन्य बन्दछन् ।
प्रतिक्रिया