पुष्पा खनाल
मैले खोजेको तिम्रो हात हो
म लड्दा उठ्न सकौँ, त्यही हात समाएर
तिमी लड्दा उठाउन सकौँ, त्यही हात समाएर ।
मैले खोजेको तिम्रो साथ हो
म एक्लिन नपरोस्, कुनै पल सङ्घर्षमा
तिमी एक्लिन नपरोस्, कुन पल हर्षमा ।
हामी सँगै हिडौँ र पुगौँ टाढा टाढा
हामी सँगै चढौँ र पुगौँ माथि माथि
बनाऔँ सम्मानको सगरमाथा
तोडौँ अभिमानको सगरमाथा
मेरा पाइलामा तिम्रो स्पर्श
तिम्रा सफलतामा मेरो सङ्घर्ष
अनि पो चम्कन्छ- हिरा आफ्नै सौँन्दर्यमा
अनि पो लम्कन्छ- अस्थित्व आफैँ सौहार्दमा
धेरै केही गर्नुपर्दैन तिमीले
मात्र त्यत्ति हो-
म जन्मनु पहिले मेरो पहिचान नगरे पुग्छ
म जन्मेपछि मेरो पहिचान नहरे पुग्छ ।
आऊ ! एउटा वाचा गरौँ ।
तिमी रक्षा गर म जन्मने द्वारको
म उर्वर राखौँला तिमी उम्रने जमिन ।
बाँकी तपशिलका कुरा……
तिमी र म मिलेरै गरौँला
खोला, नदी या जङ्घार समस्याका,
मिलेरै तरौँला
सुख, खुशी र हर्षले, जीवन झोली भरौँला
तर्नु छ एक दिन-यो भवसागर,
सँगसँगै तरौँला
मर्नु छ एकदिन, छ सत्य उजागर,
हाँसेरै मरौँला ।
पुष्पा खनाल
भर्जिनिया ।
प्रतिक्रिया