गद्दीको हबिगत

इनेप्लिज २०८१ फागुन २५ गते १२:४२ मा प्रकाशित

(ऐतिहासिक कथा)

“माथवरको हत्या भइगयो । अब देश हाक्न्या मानिस छैन । खै कसलाई प्रधानमन्त्री बनाउन्या हो ? फत्ते पनि मुग्लान नै छ । बरु त्यसैलाई बोलाउनुपर्ला । कसो महारानी ?” राजा राजेन्द्र विक्रमले रानीतिर फर्केर भनेँ । “के फत्तेले मान्ला त ! अधिक अधिकार माग्न्या हो कि ? सोचेर बोलाउनुपर्छ ।” रानीले राजालाई सल्लाह दिइन् । सरसल्लाह र कुराकानी गर्दागर्दै चार महिना बित्यो तर खास प्रभावकारी निष्कर्ष निस्केन । जङ्गीतर्फ जङ्गबहादुर र निजामतीतर्फ गगनसिंहलाई हातमा लिई राजारानीले नै शासन गरे ।

एक दिन बेलुका खानासाना खाइसकेर खोपीमा पसेपछि रानीले भनिन्, “महाराज ! हाम्रो राजकाजको चाल त्यति निको भएन । प्रधानमन्त्री त चाइन्या रहेछ । त्यही फत्तेलाई प्रधानमन्त्री बनाइबक्से बेस होला ।” रानीका धेरै कुरा सुनेपछि राजाले सिरानी मिलाए र ओढ्ने तान्दै भने, “महारानीको मनसुवा मलाई ठिकै लाग्यो । अर्को हप्ताको सोमबार नै म फत्तेलाई प्रधानमन्त्री बनाउन्या छु ।” नभन्दै विक्रम संवत् १९०२ असोजमा फत्तेजङ शाहको नेतृत्वमा गगनसिंह खवास, अभिमान सिंह राना र दलभञ्जन पाण्डे रहेको रहेको मन्त्रिमण्डल बन्यो । राजालाई टाउकाको भार हटेझैँ भयो । रानीलाई चाहिँ जिम्मेवारी थपिएको महसुस भयो ।

चौतरिया फत्तेजङ प्रधानमन्त्री त बने तर प्रधानसेनापति भएकाले गगन सिंहको बढी चहलपहल हुन थाल्यो । हुन पनि किन नहोस्, सात रेजिमेन्ट फौजको अख्तियारी उनैले पाएका थिए । एकातिर सैनिक शक्ति अर्कातिर कान्छी रानी लक्ष्मीदेवीको पूर्ण समर्थन उनलाई नै थियो । यही भएर उनी कसैलाई गन्दैनथे । दरबारको सबै परिवेश बुझेका जङ्गबहादुर मन्त्री त थिएनन् तर उनको पनि शासनमा रवाफ कम थिएन । उनी रानी र गगनसिंह दुवैसँग राम्रो सम्बन्ध राख्न चाहन्थे । उनको पनि मौका पाउने बित्तिकै चौका हान्ने दाउ थियो । राजालाई पनि यस बिषयमा थोरबहुत जानकारी त थियो तर रानीका अघि उनी प्रत्यक्ष रूपमा केही भन्न सक्दैनथे । यस्तै परिवेश रहिरहे कुनै दिन राजालाई पनि गाह्रो पर्न सक्थ्यो । त्यसैले उनले देशको प्रशासन अलिक भिन्न तरिकाले चलाउन पाए हुन्थ्यो भन्ने सोचे । राजालाई राम्ररी बुझेकी र जेठी रानीका अघि आफ्नो सान देखाउन चाहने कान्छी रानीले पनि यो मौकालाई आफ्नो हातमा पार्न चाहिन् । उनले राजालाई एक विशेष सल्लाह दिइन् । उनैको सल्लाहअनुसार राजाले आफ्नो आदेश युवराजमार्फत् महारानीसमक्ष पुर्‍याउने र उक्त आदेश रानीले मन्त्रिमण्डलमा पु¥याउने नियम बनाए।

यो नियम त बन्यो तर यसको प्रयोग चाहिँ राम्रो भएन । आफू प्रधानमन्त्री हुँदाहुँदै गगनसिंह शक्तिशाली भएको फत्तेजङलाई पनि मन परेन । उता रानी चाहिँ राजाको आदेश सुनाउने निहुँमा गगनसिंहसँग नजिकिन लागिन् । उनीहरूएउटै कक्षमा बसेर घन्टौँ छलफल गर्थे र शासन सञ्चालनसम्बन्धी नीति नियम बनाउँथे । गगनसिंह हेर्दै खाइलाग्दा थिए । छलफल र कुराकानी बढ्दै जाँदा रानी र गगनसिंहबिच हिमचिम बढ्यो । यो कुरा राजाका लागि सह्य भएन । उनी भित्रभित्रै मुर्मुरिन थाले ।

राजा राजेन्द्र कमजोर चरित्रका थिए ।उनी कुन ठिक र कुन बेठिक भन्ने छुट्याउन सक्दैनथे । दरबारमा राजा, रानी, चौतरिया र भारदार गुटबन्दीमा लागेका थिए । दरबारमा सौतेनी झगडा बढेको थियो । राजा जेठी महारानी र रणजङ पाण्डेको भनाइ मान्ने गर्थे । कान्छी रानी बढी जिद्दी थिइन् । उनकै जिद्दीका कारण राजाले कान्छी रानीलाई बढी अधिकार दिएका थिए । माथवरसिंहको हत्यापछि योग्य भारदार पनि पाखा लागेका थिए । थापा, पाण्डे, चौतरिया र ब्राह्मणका गुट दरबारमा सक्रिय थिए ।

एकदिन बिहान राजा दरबारको बार्दलीमा बसेर चिया पिउँदै थिए । रानी लक्ष्मीदेवी चिटिक्क परेर आँगनमा परेवालाई चारो दिन लागिन् । त्यही बेलामा गगनसिंह दरबार छिरे । रानीले उनलाई हेरिन् र लजाएर शिर निहुराइन् । यो हेरिरहेका राजाले चिया पिउन सकेनन् । उनको मन पोल्यो र हात लरबरियो । चियाको कप पनि भुइँमा खस्यो । रानीले यो देखिन् र उनी पनि झसङ्ग भइन् । उनी हतारहतार भित्र पसिन् । युवराज सुरेन्द्र र उपेन्द्र मुखारी गरेर आउँदै थिए । राजाले उनीहरूलाई। नजिकै बोलाए र भने, “युवराराज ! हाम्री रानीको चाल निको छैन। यी त गगनतिर ढल्केजस्तो छ । यो गगनेलाई केही नगरी भएन । के छ सोच ?” दुवैले कुरा सुने तर केही बोलेनन् ।

गगनसिंह चाहिँ जस्तो परिस्थिति भए पनि बिहान बेलुका कुलदेवताको पूजा नगरी मुखमा अन्न हाल्दैनथे । उनी हात गोडा धोई वस्त्र फेरेर पूजाकोठामा पसे । रातको झन्डै १० बजिसकेको थियो । गगन सिंह आँखा चिम्लेर पूजा गर्दै थिए । एक्कासी कतै बन्दुक पड्कियो र दुई तीन गोली गगनसिंहको कञ्चटमा लागे। उनी पूजा कोठामा नै ढले ।

फत्तेजङ्ग प्रधानमन्त्री भए पनि शासन सञ्चालनमा उनको खास प्रभाव थिएन । राजाको पनि त्यति ठुलो प्रभाव थिएन । जनरल गगनसिंह खवास र कान्छी रानी एउटै कोठामा बसेर घन्टौँ छलफल गर्थे शासन सञ्चालनसम्बन्धी नीतिनयिम बनाउँथे । गगनसिंह सर्वेसर्वा भएको राजालाई मन परेको थिएन । फत्तेजङ र जङ्गबहादुरलाई समेत मन परेको थिएन ।

दरबारमा गगनसिंहको हत्याको योजना बन्यो । विक्रम संवत् १९०३ भदौ १३ गते गगनसिंह दरबारको काम सकी अलि ढिलो घर फर्के । उनकी पत्नी खाना बनाएर बसेकी थिइन् । घरमा पस्नेबित्तिकै उनले भनिन्, “आज किन ढिला भयो? एक प्रहर रात बित्न लाग्यो । कति भोक लाग्यो होला ? ल लुगासुगा फेरेर आइहाल्नुहोस् । पत्नी भान्सातिर पसिन् । गगनसिंह चाहिँ जस्तो परिस्थिति भए पनि बिहान बेलुका कुलदेवताको पूजा नगरी मुखमा अन्न हाल्दैनथे । उनी हात गोडा धोई वस्त्र फेरेर पूजाकोठामा पसे । रातको झन्डै १० बजिसकेको थियो । गगन सिंह आँखा चिम्लेर पूजा गर्दै थिए । एक्कासी कतै बन्दुक पड्कियो र दुई तीन गोली गगनसिंहको कञ्चटमा लागे। उनी पूजा कोठामा नै ढले । कञ्चटबाट भलभल रगत बग्यो । एकैछिनमा उनी निष्प्राण बने ।

गगनसिंहको हत्या भएपछि उनका छोरा बजिर सिंह रानी लक्ष्मीदेवी कहाँ गए र आत्तिँदै र रुँदै भन्न थाले, रानीज्यू ! बुबालाई कसैले … उनी रोकिए । गगनलाई केही भएछ भन्ने सोची रानी केही सुसारे साथमा लिई गगनको घर ढोकाटोल पुगिन् । उनले चुल्ठो खोलिन् र भनिन्,“गङ्गाजल ल्याओ ।” एक सुसारेले गङ्गाजल ल्याइदिइन् । रानीले गङ्गाजल मुखमा हालिदिँदै भनिन्, “वैकुण्ठ बास होस् । उनी एकछिन भक्कानिइन् र आँसु पुछ्दै भनिन्, “गनन, जे भयो भैगयो । म हत्यारा पत्ता लगाइछाड्छु ।” उनले गगनको शिर र छातीमा हात राखिन् र एकछिनपछि शवतिरै फर्केर हात जोड्दै भनिन् “मोक्ष प्राप्ति होस् ।” उनले भेला भएका सबैलाई सरसरती हेरिन् र बजिरतिर फर्केर भनिन्, “बजिर ! राजकीय सम्मानसाथ शवको संस्कार गर्नू । किरिया खर्च बापत म राज्य कोषबाट एक लाख दिउँला ।” उनले गगनसिंहका दुई पत्नीतिर फर्किन् र केही नम्र स्वरमा भनिन्, “तिमीहरू पनि सती नजानू ।

जनरल गगनसिंहको हत्याको खबर एकैछिनमा सबैतिर फैलियो । कसैले जङ्गबहादुरले महिलाको भेषमा आएर गगनसिंहलाई मारे रे भन्दै साउती गरे । कसैले चाहिँ जङ्गबहादुरले होइन, उनका भाइ बमबहादुरले चाहिँ गोली हानेका हुन् र उनको निसाना चुक्दैन रे भन्दै कोखुसी गरे । केही बुढापाकाले फत्तेजङ र उनका भारदारले जङ्गबहादुरलाई अघि सारेर गगनसिंहलाई मारेका हुन् भन्ने शङ्का गरे। युवाहरुले चाहिँ राजा र फत्तेजङले सल्लाह गरेर गगनसिंहकै घर छेउमा बस्ने लाल झालाई मार्न लगाएको रे भन्ने कुरा गरे । गगनसिंहको हत्यागरे बापत लालले पाँच हजार बक्सिस पायो रे भन्ने हल्ला टोलभरि फैलियो ।

डा. गणेशप्रसाद भट्टराई

प्रतिक्रिया