जन्म गाउँलाई खुसी गाउँ बनाउन कविन्द्रको नारीहरूसँग अमेरिकाबाट प्रार्थना

इनेप्लिज २०८१ फागुन २५ गते १४:४१ मा प्रकाशित

डिसी भर्जिनियामा भएको नारी दिवसको कार्यक्रममा आज मार्च ८,२०२५ सहभागी भएर घर फर्केपछि नारीहरूलाई एक विशेष पत्र लेख्न मन लाग्यो।

नारीहरूबाट आशीर्वाद  पाउनका लागि यो विशेष पत्र

संसारभरिका पूजनीय आमाहरू, आदरणीय नारीहरू, र प्रिय दिदीबहिनीहरूमा श्रद्धायुक्त

नमस्कार एवं हृदयको प्रेम!

गत वर्ष नारी दिवस को अवसरमा https://www.voiceofkabin.com/ मार्फत कविता र शुभकामना पठाएको थिएँ। यो वर्ष, जीवनको नयाँ अध्याय प्रारम्भ गर्दै गर्दा, युगले नयाँ काँचुली फेर्नेछ । म परिवारसहित मेरो जन्म गाउँ फर्कने प्रक्रिया शुभारम्भ गर्दैछु। त्यसैले, हजुरहरूको शुभकामना र आशीर्वाद प्राप्त गर्न यो विशेष पत्र लेख्दैछु।

आजकै शुभ दिन, फाल्गुन २५ (मार्च ८) नारी दिवसमा म जन्मिएको । नेपालको ताप्लेजुङ\ जिल्ला, हाङपाङमा जन्मिएकी आठ वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएर तेह्रथुम, आठराई चुहानडाँडा आएकी मेरी आमाको पवित्र कोखबाट जन्म लिएको म, मनमायाको स्नेह र सान्निध्यमा हुर्किएँ। आज ९५ वसन्त पार गरेकी मनमाया, समयको धारमा अनेकौं पीडा सहेर पनि, सधैँ उज्यालो अनुहार र प्रेममय हृदय लिएर सदा खुसीसित बाँचिरहेकी हुनुहुन्छ। 

अब, नेपाललाई विश्वकै २० खुसी राष्ट्रहरूमध्ये एक बनाउने हाम्रो एक महान् लक्ष्य छ। अहिले\ ९३औँ स्थानमा रहेको हाम्रो देशलाई १० वर्षभित्र शीर्ष २० मा पुर्‍याउने संकल्प गरेका छौं। हामीले आफ्नै गाउँबाट यसको सुरुवात गर्ने अठोट गरेका छौं। यसै क्रममा, मनमायाका श्रीमान हरिचरण सिटौला र चुहानडाँडा आठराईका समाजसेवीहरूको नेतृत्वमा २०१८ विसं मा स्थापना भएको नेपालकै दोस्रो पुरानो कलेज तेह्रथुम बहुमुखी क्याम्पस (कलेज) सँग सहकार्य गर्दै, चुहानडाँडामा अन्तर्राष्ट्रिय पुस्तकालय र अनुसन्धान केन्द्र स्थापना गर्ने लक्ष्य राखेका छौं। यस केन्द्रमार्फत खुसीको खोजी र खुसीको साथसाथै धेरै कुराहरूमा अनुसन्धान गरिनेछ । एक वडा पहिला, एउटा गाउँ, एक जिल्ला हुँदै, समग्र नेपाललाई उज्यालो, सुखमय खुसीदेश कसरी बनाउने? तीन वर्षभित्र वडाको लक्ष कार्यान्वयन  हुनेछ। चुहानडाँडा स्थित शारदा माध्यमिक विद्यालयलाई कम्प्युटरमय बनाउनेछौँ। नेपालीहरूले विश्वास र आशा गरेर स्थापना गरेको सगुन कम्पनीलाई विश्व बजारमा पुर्याउने छौँ ।

यस यात्रासँगै, मैले विश्व ब्रह्माण्डमा प्रेमको खोजी गर्दै मेरो जीवनयात्रालाई पूर्णता दिने प्रयास गरेको छु। म हजुरहरूको आशीर्वाद र शुभेच्छा चाहन्छु। मैले तयार पारेको विशेष भिडियो –  शाश्वत/ विश्व प्रेमको खोजी) “Universal Love Search hhttps://www.voiceofkabin.com/ मा राखिएको छ। कृपया हेर्नुहोला, अनुभूति गर्नुहोला र सहभागी बन्नुहोला। त्यहाँ केही अरु भिडियोहरू र विशेष पत्रहरू पनि छन्, समय निकालेर पढिदिनुहोला।

हे सृष्टिका शक्तिहरू, अपार ऊर्जाहरू!
हामी यहाँ मात्र रोकिँदैनौँ, रोकिनु हुँदैन।
सबै नारीहरूसँग अनुरोध छ-
जीवनका चिन्ताहरूलाई पर धकेल्दै, 
आत्मबोधको प्रकाश बलियो पार्दै, 

नयाँ युगको मिरमिरे उज्यालो बिहानीलाई आत्मसात् गरौं।हाम्रो यात्रा सुरु भइसकेको छ। हामी नयाँ परिवर्तनको संघारमा छौं। हामीले पहिला
आफैंभित्रको उज्यालोलाई चिन्नुपर्छ। हामीलाई प्रेमले यो विश्व बदल्नु छ, तर पहिले आफूलाई बदल्नुपर्छ।

मनमायाको प्रेम, संघर्ष र पुनर्जन्मको कथा अत्यन्तै छोटकरीमा म यहाँहरूलाई बताउन चाहन्छु- विस्तृतरूपमा उहाँले लेखेको पुस्तक ” मैले बिताएको युग” मा पढ्न सकिन्छ;

जीवनका पहिला अनुभवहरू विशेष हुन्छन्—

पहिलो प्रेम, पहिलो विद्यालय, पहिलो जागिर, पहिलो सफलता, पहिलो साथी । मनमायाका लागि पनि त्यस्तै थियो—उनको पहिलो सन्तान। तर कल्पना गर्नुहोस्, विलक्षण प्रतिभाको १४ वर्षको नाबालक छोरो, सुतेकै,  ठाउँबाट,मुमा, मलाई टाउको दुख्यो भन्दै बोलाउँछ, मनमायाले पख, पानी खाऊ भन्दै गिलास थमाउने बित्तिकै, छोरो अचानक संसारबाट विदा हुन्छ। कुन आमाले यस्तो यथार्थ सहजै स्वीकार गर्न सक्छिन्? सन्तान गुमाउनु, जन्म मृत्युको सबैभन्दा कठोर पीडा हो।  यस्तो स्थितिमा जन्म मृत्युको सत्यचक्रलाई स्वीकार गर्न कुनै पनि हालतमा आमाहरू तयार हुँदै हुँदैनन् ।

मनमाया १८ महिनासम्म भारतका तीर्थस्थलहरूदेखि पाथीभरा देवीसम्म प्रार्थना गर्दै पुग्नुभयो, आफ्ना आँसुहरू देवताका चरणमा अर्पण गर्नुभयो । आफ्नी आमालाई आफ्नो छोरो फिर्ता गर्न अनुरोध गरिदिनुहुन भन्दै विलाप गर्न पुग्नुभयो।

तर नियतिको चक्र विचित्र हुन्छ—त्यही हराएको छोरोको अभाव पूर्ति गर्न, कुनै अदृश्य शक्तिले मलाई मनमायाको जीवनमा खुसीको उपहार बोकेर पठाइदियो। उनको रित्तिएको काख फेरि भरियो। उनका आँसुहरू हाँसोमा बदलिए। उनलाई मनपर्ने संगिनी र पूर्वीली लोकगीतहरु फेरि चुहानडाँडामा घन्किन थाले ! 

आज  उहाँ ९५ वर्षकी हुनुभयो आजसम्म संगीतमय भएको छ, संगिनी र लोकगीतहरूमा उहाँ डुबी रहनु हुन्छ, झुमी रहनुहुन्छ ।

 तर समय निष्ठुरी पक्कै हुँदैन होला ? अब,  उहाँले मलाई बिर्सन  थाल्नु भएको छ। ब्रह्माण्डले दिएको उहाँको अमूल्य प्रेमको उपहारलाई उहाँले कसरी भुल्न सक्नु हुन्छ होला ? तर, आठराईका लोकगीतका प्रत्येक हरफ उहाँ  अझै सम्झिनु हुन्छ, त्यसैमा रम्नुहुन्छ । म जन्मिएर हुर्किएको त्यो सुन्दर तेह्रथुम, आठराई चुहानडाँडाबाट भर्खरै फर्किंदा, मनमायाका छिमेकीहररूबाट उहाँका लागि भिडियो सन्देश ल्याएँ। जब उहाँलाई त्यो सन्देश सुनाइयो,  उहाँ धुरुधुरु रुनुभयो । मलाई लाग्यो—  उहाँले आफ्नो पहिलो दुलही वनेर भित्रेको घर र त्यो ठाउँको प्रेम, सायद त्यही  सम्झनाको पीडाले  उहाँलाई यसरी रुवाएको थियो।

त्यही क्षण, मैले मनमा एक प्रण र प्रश्न जन्मियो—

जसरी उहाँले मलाई १० वर्षसम्म जीवनको सबैभन्दा धेरै र अमूल्य खुसी र निस्वार्थ प्रेम दिएर राख्नुभयो, अब म उहाँका जीवनका अन्तिम १० वर्ष  उहाँलाई त्यही ठाउँ  चुहानडाँडामा लगेर त्यस्तै खुसी र प्रेम दिएर राख्न सक्छु ? के यो सम्भव छ ?

 यदि मनमायाको जन्म काठमाडौँको कुनै संगीत परिवारमा भएको भए  तारादेवी, मीरा राणा, वा अरुणा लामाहरु उहाँका साथी संगिनी हुन्थे होला।

तर, सपना पूरा गर्न कहिल्यै ढिलो हुँदैन।

यदि  उहाँको भाग्यमा गायिका बन्न लेखिएको छ र यदि मानिसको आयु १२० वर्षसम्म हुन सक्छ भने,  उहाँसँग अझै कम्तीमा पाँच वर्षको गाउन सक्ने, सम्झन सक्ने चोखो समय बाँकी छ।

त्यसैले,  उहाँलाई यो समयमा जीवनको एउटा नयाँ यात्रा दिनु पर्दैन ? के आठराई चुहानडाँडामा ‘आमा संगीत घर’ स्थापना गर्ने परिकल्पना गर्न सकिँदैन ?

मनमायाहरूलाई फर्काउने हाम्रो यात्रा

गाउँमा मनमायाका श्रीमानका धमिराले खाएको घर, मुसा कुदेका मतानहरूलाई, झार उम्रिएका आँगनहरू के फेरि बौरिन सक्छन् ? मनमायाहरू फेरि रायोको साग उमारी, सुन्तला र कागती रोपी, गाई–बस्तु पाल्दै, टाहारबारीमा तोरी र मकै उमारी आफ्नो पहिचान फर्काउन सक्छन् ?

 कविन्द्रहरू गाउँमा केही नयाँ सिर्जना गर्न, मेहनत गरेर गाउँमा पनि अमेरिका जत्तिकै सम्भावना देखाउन अनि आवश्यक भौतिक विकासमा  विज्ञानको पनि सदुपयोग गर्दै र अध्यात्ममा पनि ठूलो शक्ति र चमत्कार हुन्छ भन्ने कुरा के देखाउन सकिँदैन र ?

मनमायाहरूका पलायन भएका छोराछोरीहरूलाई गाउँ फर्काउने प्रेरणा दिन, प्रेमलाई सबैको आधार मानेर मैले सुरुगरेको विश्वप्रेमयात्रा सँगै नेपाललाई खुसी राष्ट्र बनाउने यात्रा हाम्रो १० वर्षे योजनाअघि नै, नेपाल विश्वकै २० खुसी देशहरूमध्ये एक बन्न सक्छ।

मनमायाहरूले त्यो दिन देख्न पाऊन्, गर्वका साथ आफ्नै माटोमा जीवनको अन्तिम यात्रा तय गर्न पाऊन्।

उहाँको आत्मा हरेक गीतमा झल्कन्छ;
बारैलाई हातेनी पटुकी मेरो
हेर हौ बारुले कम्मरलाई
यतिमा राम्रो नि यो मेरो जोबन
हेर हौ त्यही तल तम्मरलाई
 
प्रिय महान् नारीहरू !

तपाईंहरूको प्रेरणा, सहयोग, आशीर्वाद र सुझाव मेरो लागि मार्गदर्शक हुनेछ।

नयाँ युगको स्वागत गर्दै, हामी सबै मिलेर यो सपना साकार पार्नेछौं !

अन्तिममा मेरो कविता नारी सृष्टि र सिर्जनाबाट दुई हरफ यहाँहरूलाई;

नारी आदिशक्ति हुन्
हर सृष्टिका अतीत हुन्
सबै सम्भावनाको पृष्ठभूमि हुन्
नारी वर्तमान र भविष्य हुन् !
 
 नारी हरेक सफलताका सहकर्मी हुन्

राष्ट्र हाँक्ने शक्ति हुन्
विश्वका नायिका हुन्
उनीहरू सद्भावले विश्व जित्ने पराक्रम हुन् ।
 

हार्दिक आभार सहित 
कवीन्द्र सिटौला
भर्जिनिया, अमेरिका

प्रतिक्रिया