(कथा)
“हैन, सामना बैनी, कता हिँडेकी ? हातमा लोहोटी पनि देख्छु ।”
कामनाले सामनाको शिरदेखि पाउसम्म हेरी । सामनाले सामान्य रातो साडी पहिरिएकी थिई । उसको हातमा पूजाको थाली थियो ।कामना चाहिँ सर्ट पाइन्टमा थिई । उसको पाइन्टमा घुँडामा प्वाल थिए ।
“मन्दिर जाऊँ भनेर दिदी । आज मेरो जन्मदिन, यसो मन्दिर गएर दर्शन गरौँ अनि अष्टचिरञ्जीवीको पूजा गरौँ भनेर नि दिदी !”
“ए भनेपछि तिमी पुरानै जमानाकी रैछौ अझै । मानिसले एआई चलाउन थालिसके, तिमी भने मन्दिरमा फूल, पानी चढाउन हिँडेकी ! बर्थ डे भन्छ्यौ । यसो केकसेक काटेर पार्टी गर्नुपर्दैन घरमा । हुन त गारो होला, पुरेतको घर । अर्काको घर कुरेर पढ्दा कति पो आउँदो होला र ! रूप रङ नै बिग्रेछ तिम्रो त । अलिक मोडर्न हुनुपर्छ क्या अब त । म त पार्लरतिर हिँडेको, एउटै गाउँकी मान्छेसँग किन नबोल्नु भनेर मात्र । नत्र त …!”
कुरा सुन्दासुन्दै सामनालाई नराम्रो लागिसकेको थियो । मन्दिर हिँडेका बेलामा के कुरा गर्नु भनेर उसले केही बोलिन । ऊ “मलाई अलिक हतार छ दिदी” भनेर बाटो लागी ।
उसले एकैछिनमा धेरै कुरा सोची । कामनाको लोग्ने कता परराष्ट्रतिरको कि भन्सारतिरको कर्मचारी रे । सामान्य कर्मचारी भए पनि भिनाजुलाई भनेर ऊ लोग्नेसँगै एकपटक विदेश गएर छ महिना बसेर आई । उसका भिनाजु नयाँ पार्टीका नेता भएकाले कामनाको पनि चुरीफुरी बेग्लै छ अचेल । कपाल जुरेली जस्तो पारेकी छ । लुगा पनि पूरा लाउन छाडी । खै किन मात चढ्दै छ यसलाई ? फूलको तौल कति छ भन्ने कुरा त जोख्ने तराजुलाई थाहा हुन्छ । यसले त आफ्नो तौल आफैँ भन्दै हिँडेकी छ । कुनै दिन फूल ओइलाइहाल्छ अनि हेरौँला, त्यतिबेला के हुन्छ । सोच्दासोच्दै ऊ मन्दिर पुगी । आस्थाअनुसार पूजाआजा गरी र आफ्नै मनसँग भनी, “हे मन ! अबको एक वर्ष म, मेरो परिवार र मेरा आफन्तलाई खुसी राख्न पाऊँ । ममा अरुको कुरा काटेर फाल्ने समय प्राप्त नहोस् । मागेर होइन, काम गरेर अरूलाई दिएर खान पुगोस् । मेरो कुनै कामना छैन, मैले परिवेशसँग सामना गर्न सकूँ ।” उसलाई कसैले तिम्रो सबै कुरा पुग्छ भनेजस्तो लाग्यो ।ऊ खुसी भएर मन्दिरबाट फर्की ।
अलिक पर पुग्दा पुग्दा बाटामा भावनासँग भेट भयो । भावना सामनाकी माइती गाउँकी साथी हो । उसको बिहे खोलापारितिर
भएको छ । व्यापार गरेर बसेका छन् रे । सामनाले नमस्कार भन्नासाथ भावनाले भनी, “मन्दिर गएर आएकी ? ए आज २० गते,
तिम्रो बर्थ डे । मेरो चाहिँ पाँच दिन बाँकी छ । अनि श्रीमान्ले केही किनिदिएनन् बर्थ डेमा ? उपहार पनि दिएनन् कि क्या हो ?
कस्तो रहेछ तिम्रो लोग्ने ! आफ्नी पत्नीलाई बर्थ डेमा राम्रा लुगा किनिदिन नसक्ने, एउटा उपहार दिन नसक्नेले के बिहे गर्नु ! हामी त पसलमा काम गर्नेलाई पनि बर्थ डेमा उपहार दिन्छौँ । मैले त हाम्रो पसलमा काम गर्ने केटालाई बर्थ डेमा सुट नै हालिदिएकी थिएँ । हुन त तिम्रा लोग्ने पुरेत हुन् क्यारे, धन्न यति त हालिदिएछन् ।”
आजसम्म कसैको केही बिगारेको छैन । खुसीले दिएको दानदक्षिणा लिने त हो नि ! दाम्पत्यको कुरा गर्ने हो भने सामनालाई उसको लोग्नेले कुनै कुरामा गाली गरेको छैन । उसले हरेक काममा लोग्नेको साथ पाएकी छ । गाउँले समेत यी त चखेवाका जोडी नै हुन् भन्ने गर्छन् ।
सामनालाई फेरि सहिनसक्नुभयो । उसलाई थाहा थियो, खानेकुरामा मिसावट गरेको कारण उसको लोग्नेले पोहोर साल ठुलै जरिवाना तिर्नुपरेको थियो । गाउँमा म्याद गुज्रेका सामान बेचेको आरोपमा गाउँपालिकाले कारबाही गरेपछि उनीहरू अर्कै ठाउँमा गएर पसल गर्न थालेका थिए । यो कुरा सामनालाई थाहा भएर पनि उसले केही भन्न चाहिन । उसले यति भनी, “उहाँले राम्रा कपडा र गहना त किनिदिनुभएको छ तर पूजा गर्न आउँदा रङ लाग्ला भनेर नलगाएको नि ।” भावना अरु केही भन्न खोज्दै थिई, ऊ बाबुलाई स्कुल पठाउनु छ भनेर उम्की ।
ऊ के के सोच्दै सरासर जाँदै थिई, मासु पसलका छेउमा भागवत् काका भेटिए । उनले भने, “कताबाट आयौ नानी ? ए, मन्दिरबाट जस्तो छ । खै कति मन्दिर धाएर पनि तिम्रो लोग्नेलाई अरुका घर धाउनै परेको छ । हाम्रो जस्तो मासुभात खाने साइत जुरेन त ! हुन त पुरेतका घरमा मासु खाने पैसा कहाँबाट आओस् ? ए साँच्ची पुरेतले त मासु खाने होइन, अर्काको घरमा पकाउँदा बास्ना लिने मात्र होला । तिमी पनि बानी परेकै हौली । हैन ?” यिनका कुराले झन् सामनाको कन्पारो तात्यो । भागवत् काकाले विदेशमा गएर पैसा कमाएर फर्केपछि आमाबालाई वृद्धाश्रममा पठाएर घरमा मस्तीसँग बसेका छन् । आज पूजा गर्न जाँदा सामनाले काकाकी आमालाईमन्दिरमा माग्न बसेको भेटेर प्रसाद दिएर फर्केकी थिइन् । सामनालाई भन्न त मन लागेको थियो तर मनले नभन् भन्यो । उसले यति चाहिँ भनी, “साकाहारीलाई मासुको के काम काका ! हामी त सागपातमा रमाउँछौँ ।”
सामना हतार हतार गर्दै घरतिर लागी । बाटामा उसले धेरै कुरा सोची । उसका लोग्नेले अरुले जस्तो जागिर खाएको थिएन । व्यापार व्यवसाय पनि गरेको थिएन । कुनै कुलत पनि सिकेको थिएन । पुरेत्याइँ उसको पुर्ख्यौली पेसा हो । तीन पुस्तादेखि पण्डित बाजेका सन्तान भनेर वरिपरिका तीन गाउँलेले उसकै परिवारलाई पुरेत लगाएको थियो । फेरि आफूले मानेको धर्म संस्कृतिअनुसार पुरेत्याइँ गर्नु नराम्रो पनि त हैन । आजसम्म कसैको केही बिगारेको छैन । खुसीले दिएको दानदक्षिणा लिने त हो नि ! दाम्पत्यको कुरा गर्ने हो भने सामनालाई उसको लोग्नेले कुनै कुरामा गाली गरेको छैन । उसले हरेक काममा लोग्नेको साथ पाएकी छ । गाउँले समेत यी त चखेवाका जोडी नै हुन् भन्ने गर्छन् । सामनाका हरेक खुसीमा लोग्ने खुसी हुन्छ अनि किन यी मान्छेले छिचिमिराका पखेँटा फटफटाएका होलान् ? किन मेरो लोग्नेको पेसालाई हियाएको होला ?
ऊ सोच्दासोच्दै घर पुगी । घरमा उसको लोग्ने तुलसाको मोठछेउमा बसेर गीता पाठ गर्दै थियो । बिहानको नित्यकर्म भने सकिएको थियो । सामनालाई देख्नेबित्तिकै उसले भन्यो, “ए आइपुगिछौ । आज त हामी दुवैलाई गाउँलेले लुङ्गेलीटारमा बोलाएका छन् नि, थाहा छ है तिमीलाई ? आज तिम्रो जन्मदिन, शुभआशीर्वाद छ । मैले अष्टचिरञ्जीवीको पूजा गरिसकेँ । अब तिमी यी यहाँ पूजा गर । मैले फलाहार पनि तयार गरेको छु । केही खाऊँ अनि जाऔँ है ।” लोग्नेले कलश पूजा गरेको छेउमा राख्दै भन्यो ।
“अनि तपाईँलाई त पढ्न बोलाए होलान्, मलाई चाहिँ किन बोलाएछन् गाउँलेले ?” सामनाले सोधी ।
“खै किन हो भनेनन् तर अनिवार्य आउनू भनेका छन् । जान चाहिँ जानै पर्छ ।”
सामनाले पनि पूजा गरी । दुवै समयमै लुङ्गेलीटार पुगे । त्यहाँ भव्य मेलाको आयोजना थियो । दुईतीन गाउँका गन्यमान्य मानिस
भेला भएका थिए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको पनि उपस्थिति थियो । आज सरस्वती पूजा परेकाले नजिकको विद्यालयका विद्यार्थी पनि भेला भएका थिए । सामनाका लोग्नेस्वास्नी पुग्नासाथ सरस्वतीको पूजा सुरु भयो । सामनाका लोग्नेले नै पूजा गराए । पूजापछि सामना र उसको लोग्नेलाई सम्मान गर्ने कार्यक्रम रहेछ । उक्त कार्यक्रममा बोल्दै अध्यक्षले भने, “हामी जेजस्तो भ्रए पनि संस्कार बिर्सन सक्दैनौ । हाम्रो संस्कारअनुसार हाम्रा पुरेतले यहाँ उपस्थित धेरै विद्यार्थीको न्वारन गरिदिनुभएको छ । हाम्रा सामाजिक कार्य गाउँकै पुरेतले गराइदिनुभएको हो । यसैले उहाँ हामी सबैका गुरु हुनुहुन्छ । हामीले उहाँहरूको योगदानलाई भुल्नु हुँदैन । आज सरस्वती पूजा हो । आजकै दिन हाम्रा पुरेतकी पत्नीको जन्मदिन पनि हो । उहाँ पनि कसैलाई वचन नलगाउने गाउँकी गुरुमा हुनुहुन्छ । आज हामी सरस्वतीपूजा र उहाँको जन्मदिन दुवै मनाउन भेला भएका हौँ । समस्यालाई सामना गर्ने स्वच्छ मनकी सामनाको जन्मदिनमा हामीले लोभीपापी, जालीफटाहा र बेइमानलाई यहाँ निम्ता गरेनौँ । हामी जति भेला भएका छौँ सबैले उहाँलाई माला र टीका लगाइदिएर उहाँको सुस्वास्थ्य र दीर्घजीवनको कामना गरौँ ।
सबैले अध्यक्षले भनेअनुसार नै दुवैलाई सम्मान गरे । टीका र माला लगाइदिँदा सामनाको मन ढक्क भयो । उसले भरिएका आँखा सप्काले पुछ्दै आफ्नो लोग्नेलाई, अध्यक्षलाई र भेला भएका मानिसलाई हेरी । त्यहाँ कामना, भावना र भागवत् कोही थिएनन् ।
डा. गणेशप्रसाद भट्टराई
प्रतिक्रिया