नेपाली चेलीका संघर्ष र सफलताका कथा: न्याय, सपनाहरू र साहसको यात्रा

इनेप्लिज २०८१ फागुन २७ गते २२:४१ मा प्रकाशित

बाबा राजेश्वरी थापा

नेपालमा महिलाहरूको स्थिति समयक्रमसँगै धेरै बदलिएको छ। अघिल्लो पुस्ताका महिलाहरूले घरभित्र मात्र सीमित भूमिका खेल्ने चलन थियो भने आजका महिलाहरू शिक्षा, स्वास्थ्य, राजनीति, व्यवसाय र प्रविधि जस्ता क्षेत्रमा आफ्नो पहिचान बनाउँदै छन्।

नेपाली समाजमा महिलाहरूले पारिवारिक र सामाजिक दबाबको सामना गर्नु पर्दछ। धेरै परिवारहरूमा महिलाहरूलाई शिक्षा र करियरभन्दा विवाह र घरधन्दामा प्राथमिकता दिइन्छ। यसले उनीहरूको व्यक्तिगत विकासलाई बाधा पुर्याउँछ। त्यसैगरी, महिलाहरूले घरेलु हिंसा, लैङ्गिक भेदभाव र सामाजिक अन्यायको सामना गर्नु पर्दछ। यद्यपि, महिलाहरूको शिक्षा र रोजगारीमा उल्लेखनीय प्रगति भएको छ। आज धेरै महिलाहरूले उच्च शिक्षा हासिल गरेका छन् र विभिन्न पेशामा आफ्नो क्षमता प्रमाणित गरेका छन्। तर, शिक्षा र रोजगारीमा पुरुष र महिलाको असमानता अझै पनि कायम छ। महिलाहरूले समान कामको लागि पुरुषभन्दा कम तलब पाउने र कार्यस्थलमा यौन उत्पीडनको सामना गर्ने समस्या व्यापक छ। विदेशमा काम गर्न जाने नेपाली महिलाहरूको जीवनयात्रा संघर्ष र साहसको प्रतीक हो। मध्यपूर्वका देशहरूमा काम गर्न जाने महिलाहरूले अत्यधिक श्रम, शोषण, असुरक्षा र कानुनी अन्यायको सामना गर्छन्। उनीहरू विदेश जानुअघि परिवारलाई राम्रो जीवन दिने आशा बोकेर जान्छन्, तर त्यहाँ पुगेपछि उनीहरूको जीवन कठिनाइ र अपमानको शिकार बन्छ। यसले उनीहरूको शारीरिक, मानसिक र आर्थिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ।

यद्यपि, संघर्षका बाबजुद धेरै नेपाली महिलाहरूले आफ्नो जीवनमा उल्लेखनीय सफलता हासिल गरेका छन्। अफ्रिका र अमेरिकाका विभिन्न देशहरूमा नेपाली महिलाहरूले उच्च शिक्षा र व्यवसायमा आफ्नो क्षमता प्रमाणित गरेका छन्। उनीहरूको संघर्ष र सफलताका कथाहरूले अरू महिलाहरूलाई प्रेरणा दिन्छन्। प्रत्येक नेपाली महिलाको संघर्ष र सफलता हाम्रो समाजको उज्ज्वल भविष्यको संकेत हो। त्यसैले आज हामी यिनै महिलाहरुको सफलता र संघर्ष का कथा यहाहरु माझ पस्किने जमर्को गरेका छौ।

दबिएका आवाजहरूको न्यायको यात्रा
सच्ची मैनाली, संचारकर्मी, अमेरिका

समाजमा अन्याय भोग्ने धेरै छन्, तर सबैको आवाज सुनिँदैन। गमला गेलाल पनि त्यस्तै एक पात्र हुन्। बच्चा जन्माउन गएकी स्वस्थ महिला अस्पतालको लापरवाहीले जीवनभरका लागि रोगी बनिन्। पाँच वर्ष बितिसक्दा पनि न त अस्पतालले न्याय दियो, न त किड्नी प्रत्यारोपणको खर्च नै जुट्यो। अहिले मासिक १०-१२ हजारको औषधि किन्ने पैसा पनि नभएर उनले जीवन र मृत्युको लडाइँ लडिरहेकी छिन्।

मैले “सच्चीको साथमा” मार्फत गमलाको आवाज बुलन्द बनाउने प्रयास गरें। फेसबुकमा उनको कथा सेयर गरेपछि सहयोगका लागि हातहरू अगाडि बढे। जब न्याय दिनुपर्ने निकायहरू मौन रहन्छन्, तब हामीजस्ता आम मानिसले बोल्नुपर्छ। यो कुनै एक दिनको संघर्ष होइन। मैले पत्रकारिता र सामाजिक अभियानमार्फत अन्यायमा परेका नेपालीहरूको पक्षमा उभिने संकल्प लिएको छु। यस यात्रामा, मैले श्रीमानले हत्या गरी बेपत्ता परिएकी नेपाली नर्स ममता काफ्ले भट्टको न्यायको कथा उजागर गरें। अदालतले मलाई औपचारिक रूपमा उपस्थित हुन आदेश (Subpoena) दिएको छ। “सच्चीको साथमा” मार्फत विभिन्न पीडित परिवारहरूसँग कुराकानी गर्दै, मैले तिनीहरूको कथा विश्वभर पुर्याउने प्रयास गरें। ममता भट्टको आमादेखि मुकुन्द भट्टसम्मका कुराकानीहरू सार्वजनिक गर्दा, धेरैले स्वेच्छिक रूपमा अंग्रेजी अनुवाद गरी सहयोग पुर्याए। यी अभियानहरू साना देखिन सक्छन्, तर यहीँबाट परिवर्तनको यात्रा सुरु हुन्छ।

मेरो संघर्षको कदर गर्दै २०२३ मा मलाई “Nepalism Changemaker” को रूपमा सम्मानित गरियो। यो वर्ष अर्को खुसीको खबर आयो—“सच्चीको साथमा” (With Sachchi) लाई Nepalism Changemakers 2024 द्वारा सम्मानित गरियो। यो सम्मान मेरो मात्र होइन, न्यायका लागि आवाज उठाउने सम्पूर्ण नेपालीहरूको हो।

म सक्दो सहयोग गर्दै आएको छु, गर्दैछु। तर, सबैका लागि सबैथोक गर्न सक्ने सामर्थ्य मसँग पनि छैन। विशेष गरी, कसैको हराएको पैसा उठाइदिने,सापटी दिने, अभियान चलाइदिने जस्ता अनुरोध गर्नुभन्दा पहिला, आफूले पनि अरूलाई सहयोग गरेको छु कि छैन भनेर सोच्नुहोस।कसैलाई सहयोग गर्न सके खुसी लाग्छ, तर नसकेमा गाली गर्ने संस्कार दुखद छ।

सञ्चारमाध्यम र सामाजिक अभियानमार्फत मैले दबिएका आवाजहरू उठाउने प्रयास गरिरहेको छु। यो संघर्ष व्यक्तिगत होइन, न्यायका लागि हो। जबसम्म अन्याय भोग्ने नेपाली चेलीहरू छन्, मेरो लडाइँ जारी रहनेछ। “यदि तपाईँ अन्याय देखेर मौन बस्नुहुन्छ भने, तपाईँ पनि त्यस अन्यायको हिस्सेदार हुनुहुन्छ।”

नेपालदेखि अमेरिका : संघर्ष र सफलताको उडान
अनिशा खत्री क्षत्री, एसोसिएट डाइरेक्टर, एचईआई होटल्स अमेरिका

नेपालको सानो आँगनबाट अमेरिकाको विशाल आकाशसम्मको यात्रा, यो केवल मेरो कथा मात्र होइन, सपनाको पासपोर्ट बोकेर उडेकी हरेक नेपाली छोरीको प्रतिनिधित्व हो। एस इन्स्टिच्युटमा व्यवसाय प्रशासनको जग बसालेपछि, मलाई थाहा थियो, मेरो गन्तव्य अझ विशाल छ। अस्ट्रेलियाको म्याक्वेरी विश्वविद्यालयमा लेखाको शिखर चढ्दा, मैले केवल डिग्री मात्र हासिल गरिनँ, सपनालाई उडान दिने पखेटा पनि पाएँ।

स्पोटलेस ग्रुपमा क्लेम्स टिम लिडर बन्दा, हरेक जटिल वित्तीय दाबी मेरो लागि पजल हल गर्ने अवसर थियो। कोभिडको अँध्यारो समयमा, मैले टिमलाई मात्र सम्हालिनँ, संकटलाई अवसरमा बदल्ने कला पनि सिकेँ। तर, मेरो मनले अझै फरक स्वाद चाहन्थ्यो, त्यसैले म अमेरिकाको हस्पिटालिटी संसारमा पाइला टेकेँ। एचईआई होटल्समा स्टाफ अकाउन्टेन्टबाट एसोसिएट डाइरेक्टरसम्मको यात्रा, यो केवल पदोन्नति मात्र होइन, आफैलाई प्रमाणित गर्ने चुनौती थियो। वेस्टिन र शेराटन जस्ता ठूला होटलको लेखा व्यवस्थापन गर्दा, मैले हरेक दिन नयाँ कुरा सिकेँ, नयाँ चुनौतीको सामना गरेँ। दुई वर्षमा दुई पटक ‘Employee of the Month’ को ताज पहिरिँदा, मैले केवल पुरस्कार मात्र पाइनँ, आफ्नो मेहनतको प्रतिफल पनि पाएँ।

नेपालदेखि अमेरिका सम्मको यो यात्रा, केवल भौगोलिक परिवर्तन मात्र थिएन, आत्म-विश्वासको उडान थियो। महिला, आप्रवासी, र नयाँ क्षेत्रमा संघर्षरत व्यक्ति भएर पनि, मैले हरेक अवरोधलाई अवसरमा बदलेँ। आज, म गर्वका साथ भन्न सक्छु, सपनाको पासपोर्ट बोकेर उड्ने हरेक नेपाली छोरीले आकाश छुन सक्छिन्। यो मेरो यात्राको सुरुवात मात्र हो। म अझै नयाँ उचाइहरू छुनेछु, अरूलाई प्रेरित गर्नेछु, र देखाउनेछु, परिश्रम, समर्पण, र आत्मविश्वासले कुनै पनि सपना पूरा गर्न सकिन्छ।”

आमा अनि डाक्टरको भोगाइ र सपना
सेनानी डा भूमिका जी सी

“आमा हुनु र कामकाजी महिला हुनु, दुईवटा डुङ्गामा खुट्टा राखेर यात्रा गर्नुजस्तै हो। म बालरोग विशेषज्ञको तालिममा हुँदा, मेरो सानो छोरी १० महिनाकी थिई। अस्पतालको व्यस्त तालिका, बिरामी बच्चाहरूको हेरचाह, अनि घरमा छोरीको मायाले भरिएको आँखा। कति गाह्रो हुन्थ्यो होला, सानो छोरीलाई छोडेर अरू बच्चाको उपचार गर्न जानु!

मनमा एउटा डर सधैं खेलिरहन्थ्यो, ‘के म छोरीलाई पर्याप्त समय दिन सकिरहेकी छु? के मेरो करियरमा पछि पर्ने हो कि?’ वरिपरिका मान्छेहरु पनि आफ्नै सल्लाह दिन्थे, ‘यस्तो गाह्रो काम किन गर्नुपर्‍यो?’ तर मेरो मनले भन्थ्यो, ‘म दुवै गर्न सक्छु।’

आज म सेनामा बालरोग विशेषज्ञको रूपमा काम गर्दैछु। संघर्ष अझै जारी छ, तर हिम्मत हारेकी छैन। मलाई आशा छ, मेरी छोरीले यस्तो कठिन परिस्थिति भोग्नु नपरोस्। समाजले कामकाजी आमाहरूलाई बुझोस्। छोरी र करियर दुवैलाई सँगै लैजान सक्ने वातावरण बनोस्। यही मेरो सपना हो।”

अफ्रिकामा नेपाली महिलाहरू : संघर्ष, सफलता र सम्भावना
मन थापा, लेगोस, नाइजेरिया

अफ्रिका महादेशमा नेपाली समुदाय थोरै मात्रामा भए पनि यहाँ नेपाली महिलाहरूले उल्लेखनीय सफलता हासिल गरिरहेका छन्। संयुक्त राष्ट्र संघीय कार्यालयहरूमा कार्यरत महिलाहरूदेखि आफ्नै व्यवसाय तथा पेशामा जमेका केही महिलासम्म, उनीहरू विभिन्न क्षेत्रमा योगदान दिइरहेका छन्।

दक्षिण अफ्रिकामा डा. सरिता पाण्डे र डा. कुसुम खरेल चिकित्सकको रूपमा सफल छन्, साथै नेपाली डायस्पोरामा समाजसेवाका कारण पनि सम्मानित छन्। युगान्डामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएकी रमा अर्याल एनआरएनए युगान्डाकी अध्यक्ष हुन्। रवान्डामा कार्यरत चन्द्रा आचार्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरकी महासचिवका रूपमा साहित्यिक अभियान समेत अघि बढाइरहेकी छिन्।नेपालकी पहिलो नेपाली महिला हेलिकप्टर पाइलटमध्ये एक अनुषा उदास एक दशकअघि नाइजेरियाको आकाशमा चर्चित थिइन्। एनआरएनए बोत्स्वानाकी अध्यक्ष शान्ति भण्डारी सफल व्यवसायीका रूपमा दक्षिण अफ्रिका र बोत्स्वानामा सपिङ मल सञ्चालन गर्दै दर्जनौं नेपालीलाई रोजगारको अवसर दिइरहेकी छिन्।

तर, अफ्रिकामा नेपाली महिलाहरूको जीवन सधैं सहज भने छैन। नाइजेरिया, इजिप्ट, केन्या, युगान्डा लगायतका देशहरूमा गृह सहयोगी (हाउस हेल्पर) र कुक का रूपमा आउने धेरै नेपाली महिलाहरू न्यून तलब, श्रम शोषण र अपमानजनक परिस्थितिमा परिरहेका छन्। सबैभन्दा गम्भीर समस्या केन्या, युगान्डा, तथा पूर्वी अफ्रिकी देशहरूमा डान्स बारहरूमा जबरजस्ती काम गर्न बाध्य पारिएका नेपाली चेलीहरू हुन्। उनीहरूलाई आकर्षक कामको प्रलोभनमा ल्याइन्छ, तर यहाँ आएपछि शोषण, प्रहरी कारबाही र अवैध बसाइका समस्याहरू झेल्नुपर्छ। त्यस्तै, अमेरिका वा युरोप लैजाने भन्दै मानव तस्करहरूद्वारा ठगिएका नेपाली महिलाहरू अफ्रिकामा अलपत्र पर्ने घटना पनि सुनिन्छ। अवैध रूपमा राखिएका यस्ता महिलाहरू चरम अन्याय र पीडामा छन्।संकटका बाबजुद, अफ्रिकामा केही नेपाली महिलाहरूले सफलता हासिल गर्दै समाजलाई प्रेरित गरिरहेका छन्। उनीहरूको उपलब्धि नेपाली चेलीहरूको उज्ज्वल भविष्यका संकेतहरू हुन्।

स्पेनमा नेपाली पाठशाला : भाषा, संस्कृति र भावनाको सेतु
सरला सापकोटा , गुरुआमा, नेपाली पाठशाला स्पेन

स्पेनमा रहेका नेपाली बालबालिकाहरूलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्ने अभिप्रायले गैर-आवासीय नेपाली सङ्घ, स्पेन को पहलमा सुरु गरिएको पाठशाला आज सकारात्मक सोचको उदाहरण बन्न पुगेको छ।

सुरुवात सहज थिएन। नयाँ ठाउँ, नयाँ समाज, सीमित स्रोतसाधन—तर पनि स्थानीय नेपाली समुदाय र स्पेनिस समाजको मायाले यो अभियानलाई अघि बढ्न थप ऊर्जा प्रदान गर्यो। हरेक नयाँ प्रयासमा चुनौती आउँछन्, केही समय लाग्छ, गाह्रो पनि हुन्छ। तर, जब त्यसले समुदायमा असर पार्न, प्रभाव छोड्न थाल्छ, नेपाली समाजको साथ र सहयोग पनि मिल्छ। पाठशाला कुनै एक व्यक्तिको प्रयास मात्र होइन। यो सयौं नेपाली अभिभावक, शिक्षक, स्वयंसेवक र शुभेच्छुकहरूको मिहिनेत, माया र सद्भावको नतिजा हो। यसको निरन्तरताले नेपाली बालबालिकाहरूलाई आफ्नो भाषा, संस्कृति र मूल्य–मान्यता सिक्न मद्दत गर्दछ।

हाम्रो लक्ष्य व्यक्तिगत चिनारीभन्दा माथि उठेर पाठशालालाई संस्थागत रूपमा बलियो बनाउनु हो। यस अभियानलाई अझ प्रभावकारी बनाउन, अभिभावक, शिक्षक र समुदायका अगुवासँग प्रत्यक्ष संवाद गर्नु महत्वपूर्ण हुन्छ। कुनै दिन समय निकालेर पाठशालामा आइपुग्नु भयो भने, यहाँका बालबालिका, अभिभावक र शिक्षकहरूसँग बसेर अनुभूति साट्नुभयो भने, यसले दुःख गर्नेहरूप्रति प्रेरणा बढ्नेछ। आजसम्म मैले समुदायको अपार माया पाएको छु। यही नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो। पाठशालालाई अझ सशक्त बनाउने हाम्रो यात्रामा सबैको निरन्तर साथ, सहयोग र सद्भाव आवश्यक छ। यही आशा गर्दै—स्पेनमा नेपाली भाषा, संस्कृति र पहिचानलाई बलियो बनाउन हाम्रो पाठशाला सफल रहोस्!

नेपाली चेलीका सपना र संघर्ष: मेरो लडाइँ अझै जारी छ
यस्मीन बेगम सैयेद, साउदी अरब

विदेशी भूमिमा नेपाली चेलीहरूको कथा सपना, संघर्ष, आँसु र साहसको संगम हो। विशेष गरी मध्यपूर्वमा रोजगारीका लागि जाने महिलाहरूको यात्रा सहज कहिल्यै रहँदैन। घरपरिवारलाई सुखी राख्ने चाहना बोकेर विदेशिने नेपाली महिलाहरू अत्यधिक श्रम, असमान पारिश्रमिक, शोषण, असुरक्षा, र कानुनी अन्यायको दलदलमा फसिरहेका छन्।

यी पीडित चेलीहरूको पीडा मैले छर्लंग देखे र म मौन बस्न सकिन त्यसैले, उनीहरूका अधिकारका लागि लड्ने संकल्प गरें।मेरो पहिचान एक आमा, एक मुस्लिम नेपाली महिला, र एक सामाजिक अभियन्ताको रूपमा मात्र सीमित छैन। म ती सयौं नेपाली चेलीहरूको आवाज हुँ, जसले आफ्नो श्रम दिन्छन्, तर न्याय पाउँदैनन्। गैर-आवासीय नेपाली सङ्घको अभियन्ता बनेर म वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरूको सुरक्षाका लागि निरन्तर लडिरहेकी छु।
यो संघर्ष मात्र मेरो लागि होइन, सम्पूर्ण नेपाली समाजका लागि हो। नेपालबाहिर परिवार हुर्काउनु आफैंमा चुनौतीपूर्ण छ। तर, शोषण र अन्याय सहनुपर्ने कुनै विकल्प हुन सक्दैन।

मेरो संकल्प छ – भोलि कुनै नेपाली चेलीले विदेशी भूमिमा आँसु होइन, आफ्नो सपनाको सम्मानित मूल्य पाओस्।

“मेरो लडाइँ तबसम्म रोकिँदैन, जबसम्म हरेक नेपाली चेली सुरक्षित, सम्मानित, र आत्मनिर्भर हुँदैन।”

“मेरो लडाइँ तबसम्म जारी रहनेछ, जबसम्म कुनै पनि नेपाली चेलीले वैदेशिक रोजगारीका नाममा शोषण सहनु नपरोस्। सुरक्षित वातावरणमा काम गर्ने, सम्मानित जीवन बाँच्ने अवसर सबैले पाउनुपर्छ!”

प्रतिक्रिया