लण्डन, यूके – नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (NNIPA) ले नेपाली राष्ट्रिय खेलाडी फरम बहादुर महत लाई हाई वाइकम, लण्डन मा आयोजित विशेष समारोहमा सम्मान गरेको छ। कार्यक्रममा महतको खेलकुद क्षेत्रमा योगदान तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको सहभागितालाई कदर गरिएको थियो।
सो अवसरमा नेपाल बाट विश्व कीर्तिमानी क्योकुशिन च्याम्पियन सुरज कार्की र NNIPA अध्यक्ष सिद्धार्थ क्षेत्री ले महतलाई औपचारिक रूपमा स्वागत गरे। हाल लण्डनमा रहेका महत आईटीएफ तेक्वान्दो लण्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन आएका हुन्। साथै, उनी आगामी अक्टोबरमा इटालीमा हुने विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेका छन्।
गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो नेपालका प्रमुख प्रशिक्षक तथा राष्ट्रिय प्रदर्शन संयोजक महतले नेपालको तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। NNIPA अध्यक्ष सिद्धार्थ क्षेत्रीले महतलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गर्दै उनको आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरे।
त्यस्तै, NNIPA उपाध्यक्ष तथा कीर्तिमानि खेलाडी सुरज कार्कीले महतको समर्पणको प्रशंसा गर्दै खेलमार्फत नेपाली युवालाई प्रेरित र समर्थन गर्ने उनको योगदान महत्वपूर्ण रहेको बताए।
महतले कार्यक्रमका सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी राजेश कार्की लागायत यूकेमा रहेका सफल व्यवसायी, पत्रकार तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया