संघीय अदालतले विदेशी शत्रु ऐन अन्तर्गत आप्रवासीहरूलाई निष्कासन गर्न रोक लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शनिबार यो कानून प्रयोग गरी भेनेजुएलाली आप्रवासीहरूलाई देशनिकाला गरेको घोषणा गरेको छ ।
यो कदम अदालतको आदेश विपरीत भए पनि ह्वाइट हाउसले यो आवश्यक रहेको बताएको छ। निष्कासन गरिएका आप्रवासीहरूमध्ये धेरै ट्रेन दे अरागुवा नामक कुख्यात दक्षिण अमेरिकी आपराधिक गिरोहका सदस्य हुन् भन्दै ट्रम्पले दाबी गरेका छन् ।
अदालतको आदेश र ट्रम्प प्रशासनको कदम :
यसअघि, एक संघीय न्यायाधीशले प्रशासनलाई विदेशी शत्रु ऐन अर्थात् ‘Alien Enemies Act’ प्रयोग गर्न अस्थायी रूपमा रोक लगाएका थिए। न्यायालयको आदेशले प्रशासनलाई पाँच जना आप्रवासीहरूको निष्कासन रोक्न भनेको थियो, तर ट्रम्प प्रशासनले यो कानून अझै पनि लागू गरेको घोषणा गर्यो।
ट्रम्प समर्थकहरूले यो कदमलाई अमेरिका सुरक्षित बनाउन आवश्यक भनेका छन् । तर आलोचकहरूले यसलाई कानुनी शासनको उल्लङ्घन भन्दै ट्रम्प प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
विदेशी शत्रु ऐन अर्थात् ‘Alien Enemies Act’ के हो?
यो ऐतिहासिक कानून सन् १७९८ मा पारित गरिएको थियो, जसले युद्ध वा राष्ट्रिय सुरक्षा संकटका समयमा राष्ट्रपतिलाई शत्रु राष्ट्रका नागरिकहरूलाई नियन्त्रणमा लिन वा देशनिकाला गर्न अनुमति दिन्छ। ट्रम्प प्रशासनले भेनेजुएलाका आप्रवासीहरूलाई लक्षित गर्दै यस ऐनको प्रयोग गरेको बताएको छ।
यो कदमलाई लिएर अमेरिकी राजनीति गर्मिएको छ। डेमोक्र्याट नेताहरूले ट्रम्प प्रशासनमाथि अदालतको आदेशको उल्लङ्घन गरेको आरोप लगाएका छन्। अर्कोतर्फ रिपब्लिकन समर्थकहरूले यसलाई आपराधिक गिरोहहरू विरुद्ध कडा कदम भन्दै समर्थन गरेका छन्।
यस घटनाले ट्रम्प प्रशासन र न्यायपालिकाबीच द्वन्दलाई झन् बढाउने संकेत देखिएको छ।
प्रतिक्रिया