अमेरिकाको ७ वटा राज्यमा आएको घुम्रपात ( टोर्नाडो) तथा भीषण मौसमका कारण मृत्यु संख्या ३६ पुग्यो , मिचिगनदेखि जर्जियासम्म करिव ३ लाख घरधुरीमा विद्युत् सेवा अवरुद्ध

इनेप्लिज २०८१ चैत २ गते १९:२१ मा प्रकाशित

अमेरिकाको ७ वटा राज्यमा आएको घुम्रपात ( टोर्नाडो) तथा भीषण मौसमका कारण मृत्यु संख्या ३६ पुगेको छ । अमेरिकाको मिचिगनदेखि जर्जियासम्म करिव ३ लाख घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।

मिजोरी राज्यमा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ। अलाबामाका गभर्नर के आइभीले शनिबार अलाबामामा दुई जनाको ज्यान गएको पुष्टि गरे। “हिजोको भीषण मौसमले अलाबामाका अधिकांश क्षेत्र प्रभावित बनायो,” आइभीले एक विज्ञप्तिमा उल्लेख गरे।

अलाबामाका ६७ मध्ये ५२ काउन्टीमा क्षति पुगेको र मूल्याङ्कन जारी रहेको उनले जनाएका छन्। “हामी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। साथै, उद्धारकर्मी, आपतकालीन व्यवस्थापक, र बिजुली मर्मत गर्ने कामदारहरूलाई धन्यवाद दिन चाहन्छौँ,” आइभीले थपे।

त्यस्तै क्यानससमा ८, मिसिसिपीमा ६, टेक्ससमा ४, अर्कान्ससमा ३, र ओक्लाहोमामा १ जनाको मृत्यु भएको छ।

आइतबार बिहान मिचिगनदेखि जर्जियासम्म २,८९,०५४ घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको थियो। दक्षिणी राज्यहरूमा सबैभन्दा बढी २,३५,६५४ घरमा बिजुली कटौती भएको थियो। उत्तर क्यारोलाइनामा ५४,००० भन्दा बढी, जर्जियामा ५५,५०० भन्दा बढी, टेनेसीमा २७,०००, अलाबामामा २७,०००, मिसिसिपीमा १०,००० भन्दा बढी घरमा बिजुली बिच्छेद भएको जनाइएको छ।

मिजोरीमा ६१,०००, ओहायोमा १४,०००, र मिचिगनमा ४०,००० ग्राहकहरु बिजुलीविहीन भएका छन्।

आइतबार पश्चिम (वेस्ट) भर्जिनिया, ओहायो, र पेन्सिल्भेनियाका केही भागका लागि नयाँ घुम्रपात ( टोर्नाडो) चेतावनी जारी गरिएको छ। साथै, दक्षिणपूर्वी जर्जिया र क्यारोलाइनाका लागि पनि घुम्रपात ( टोर्नाडो) चेतावनी दिइएको छ।

प्रतिक्रिया