शीर्षक:-पर्खाल

इनेप्लिज २०८१ चैत ३ गते १:२७ मा प्रकाशित

युगले स्वीकार गर्नै नसक्ने
अविवेकी र अवमूल्यनका
तिम्रा ती मान्यताहरु
मैमाथि लगाइएका हुन ती पर्खालहरु

फसाउन खोज्दै छन्
श्रष्टा र मेरो कलमलाई
चक्रब्युहमा शकुनी चालहरु
मलाई पछ्याउँदै आएका छन्
अदृश्य पापका छालहरु !

मेरो कलमलाई
वेपत्ता पार्न खोज्ने
तिम्रा नियोजित षड्यन्त्रहरु
सत्यलाई केही गर्न नसकेपछि
साहित्यको बजारमा
मैमाथि बुनिएका हुन् असत्यका खाडलहरु !
केवल
केही मन र मस्तिष्कहरुलाई मात्र थाहा होला !

विकल्प खोजिरहेका छन्
अब यी आँखाहरु
दुनियाँको आँखाको नानीभित्रबाट
एकदिन
सत्य थाहा पाउने बनाउनु छ !
साँच्चै
मसँग लड्ने
मेरा दृढ अठोटहरुलाई अझ बलियो बनाउनु छ

अनि
नियोजित षड्यन्त्रलाई
मेरा आवाजहरुले एकदिन जिताउनु
र सत्यलाई चिनाउनु छ
होशियार!
असत्य र पापको दृष्टिले
साहित्यको खोल ओढ्नेहरुलाई
असली साहित्य के हो भनी चिनाउनु छ ।

कमला प्रसाईं, अमेरिका

प्रतिक्रिया