वास्तविक जिन्दगीको स्वरूपः उपन्यास “प्रतिरूप”

सदिक्षा अर्याल, थाहा नगरपिलका, मकवानपुर २०८१ चैत ३ गते १०:३१ मा प्रकाशित

पुस्तक समीक्षा

नेपाल सरकारको निजामतीतर्फ शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा प्रवेश गरी सचिव पदमा पुग्न सफल व्यक्तित्व हुन् डा. खगराज बराल । नेपाली साहित्यको विविध विधामा निरन्तर कलम चलाइरहेका डा. खगराज बरालको साहित्य क्षेत्रमा विशेष नाम रहेको छ । उनको शिक्षा तथा साहित्य क्षेत्रमा दुई दर्जन जति पुस्तक र सयौं लेख प्रकाशित भएका छन् ।

लेखक बरालको दोस्रो उपन्यास “प्रतिरूप” पाठक माझ आइसकेको छ । यस अघि उनले पहिलो उपन्यास स्यानी प्रकाशित गरेका हुन् । उपन्यास “प्रतिरूप” एघार भागमा लेखिएको छ । जम्मा २३८ पृष्ठको उपन्यास “प्रतिरूप” साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छ ।

उपन्यासले मुख्य पात्र नवीनमार्फत हरेक मानिसको जीवनसँग मिल्ने भोगाइ सामाजिक सांस्कृतिक परिवेशलाई ऐनाको रूपमा झल्काएको छ । कथाको सुरुवात उदयपुर लेखानी घर भएको नवीन उसको विद्यालय शिक्षा र ओभरसियर पढ्नका लागि पश्चिमाञ्चल क्याम्पस पोखरासम्मको यात्राबाट सुरु हुन्छ । यसबिच नवीनसँग जोडिएका पात्रहरू; नवीनकी आमा जो नवीनलाई पढाउने दृढ इच्छा राखेकी हुन्छिन्, विद्यालयको हेड सर जसले नवीनलाई ओभरसियरको भर्नादेखि जागिरसम्मको यात्रामा पुर्‍याए; बाट पाठकलाई केही न केही सन्देश दिन खोजिएको छ ।

उपन्यासको कथा नवीनको ओभरसियर पढाइ सकाएर भैरहवा मर्चवार इरिगेसन प्रोजेक्टमा जागिरसम्मको यात्रामा भेट हुने पात्र तथा परिवेशमा केन्द्रित छ । भैरहवाको सडकमा भएको रिक्सा दुर्घटनामा उद्धार गरी अस्पताल पुर्‍याएकी महिलाको जब होश आउँछ, त्यसबेला उनले नवीनलाई प्रविन भनेको भाष्यले पाठकलाई अलमल्याउँछ, कता कता कौतुहूलता सिर्जना गराइदिन्छ ।

उपन्यासको कथा निकै कौतुहूलतासहित अगाडि बढ्छ । रिक्सा दुर्घटनामा परेकी महिलाको नाम काली हुन्छ र उनले नवीनले काम गर्ने ठाउँ नजिकै जयकाली भोजनालय सञ्चालन गरेकी हुन्छिन् । नवीनकोकालीसँगको भेटपछि कथामा रोचकता आउनुका साथै एकै बसाइमा कथा सकाउने गरी कथाले पाठकलाई तान्दै लान्छ ।

कालीको नवीनप्रतिको स्नेहभाव र कालीकी छोरी अस्मिताको नवीनप्रतिको सद्भाव र शालिन प्रेमलाई यति अनुपम ढड्गबाट प्रस्तुत गरिएको छ कि पाठकले कथामा आउने नयाँ मोड र अन्त्यको अड्काल काट्नै सक्दैन । उपन्यासको वास्तविक कथा थाहा पाउन पाठकले उपन्यास नै पढ्नै पर्छ ।

नवीनको सहकर्मी परमानन्दको माध्यमबाट तराईको भौगोलिक परिवेश, सामाजिक, सांस्कृतिक अवस्था, मानवीय तथा सांस्कृतिक मूल्य र मान्यतालाई परिष्कृत रूपमा तर सरm भाषामा पस्किएको छ । उपन्यासको कथाले नेपालका पर्वत, स्याङ्जा, कास्की, उदयपुर जस्ता पहाडी जिल्ला, रुपन्देही जस्तो तराई
जिल्लाको कथालाई बोक्दै भारतको गोरखपुर, असम र मेघालयतिर पनि घुमाउँछ । उपन्यासले तिसदेखि पचासको दशकबिचको कथा बोलेको छ ।

पहाडी र तराईको आर्थिक तथा सामाजिक परिवेश र ती परिवेशले सिर्जना गरेको विवशता तथा बाध्यतालाई उजागर गर्ने क्रममा लेखकले मेघालय पुगेर कोइलाखानीमा काम गर्ने नेपाली मजदूरहरूको अवस्थाका साथै मेघालयका खासी समुदायका महिलासँगको प्रेमले नेपालको घरबार बिर्सिएर उतै घरजम गरी बसेको कथालाई चर्चा गरिएको छ । मेघालयको खासी आदिवासीहरूको मातृसतात्मक पारिवारिक व्यवस्थालाई उपन्यासमा वर्णन गरिएको छ ।

मेघालयको कोइलाखानीमा भएको दुर्घटनामा श्रीमान्को मृत्युपश्चात कालीको जीवनमा छाएको कालो बादल एकल महिलाको पीडा र अपहेलनालाई उपन्यासमा मिहिन रूपमा उजागर गरिएको छ । एकल महिलाले समाजमा भोग्ने अनेकौ चुनौती र आफूमा शिक्षाको कमीले आफ्नो छोरी अस्मितालाई शिक्षा प्रदान गर्न गरेका कालीको सङ्‍घर्षले जोड्दै र भत्किदै अघि बढिरहेको कालीको जीवनको भोगाइले पाठकलाई भावुकबनाउँछ ।

लेखक साहित्यमा सिद्धहस्त भएर होला उपन्यासको प्रस्ततिमा नै पाठक अन्तरघुलित हुन पुग्छन् । पाठकको आँखामा यी सबै कथाहरू आफैँले देखेजस्तो र भोगेजस्तो भएर रोचक चित्र झै नाच्न पुग्छन् ।उपन्यासका पात्रको यात्रा र भोगाइमा लेखकसँगै पाठक पनि कुदिरहन्छौं ।

उपन्यासका सबै घटना र ती घटनाहरूले पात्रहरूमा पारेको प्रभाव महसुस गर्न धैर्य गरेर पढ्नुपर्ने हुन्छ । उपन्यासमा मध्यान्तरभन्दा पहिलाका घटना र कथाका आधारमै उपन्याससम्बन्धी निष्कर्ष निकाल्ने गल्ती गर्नु हुँदैन, यो उपन्यासमा कतिपय विषयको रहस्योद्घाटन मध्यान्तरपछिका कथाले दिँदै गएको छ । उपन्यास पठनको अन्त्यमा पाठकले लामो सास फेर्ने र आफूले उपन्यासको मध्यान्तरपूर्व उपन्यासका सम्बन्धमा बनाएको धारणाप्रति पछुतो पनि आएको महसुस गर्न सक्छ ।

अस्मिताको जीवनमा नागरिकता नपाएर शिक्षाको बञ्चितीकरण र त्यसपछिको भोगाइले संविधानमा चिसो अक्षरले लेखिएको मौलिक हक र शिक्षाको हक पढ्नलाई मात्र नभई व्यावहारिक कार्यान्वयन गर्नमा राज्यको प्रमुख भूमिका र नारीलाई शिक्षा प्रदान गर्नमा परिवार र समाजको कर्तव्य रहेको भन्ने निष्कर्षमा पाठक पुग्दछ ।

लेखकले भाग ११ सम्म विभाजित गरी जीवनका भोगाइहरू परिस्थिति र परिवेश अनुसारको फरक फरक भोगाइलाई चित्रण गरेका छन् । उपन्यासको कथा पढिरहँदा चलचित्र हेर्दाको चरमोत्कर्ष (Climax), मध्यान्तर (Interval), अपेक्षा विपरीत अप्रत्यासित घटनासहित कथाको अन्त्य (Expectation ofEnding in Contrast Unexpected Happening) हुन्छ ।

उपन्यास पढ्दा यात्रा, यात्राको भोगाइ, चक्काजाम, खाजा घर, क्याम्पसको तालाबन्दी, पहाडी तथा तराईको स्थानीय ठाँउहरूको पर्याप्त चर्चाबाट सुरु भए पनि कथामा आउने रमाइलो किस्साहरूले अन्तिमसम्म पुग्न पाठकलाई उत्सुक बनाइरहन्छ । उपन्यासमा साना साना तथा मसिना घटना उल्लेख गरिएका छन्, वास्तवमा यी घटनाहरू झिनामसिना लागे पनि उपन्यास पढिसकेपछि यस्ता घटनाले भविष्यमा हुने घटनाका लागि साङ्केतिक अर्थ बोकेका रहेछन् भन्ने कुरा उपन्यासको अन्त्यमा आएर चाल पाइन्छ । सरल भाषाको प्रयोग गरिएको ससाना घटनाहरू र घटनाभित्र लुकेका सन्देशलाई प्रवाह गरिएका “प्रतिरूप” साहित्य प्रेमीहरू लागि एकपटक पढ्नैपर्ने पुस्तक बनेको छ उपन्यास “प्रतिरूप” का लागि लेखकलाई धन्यवाद र आगामी दिनमा यस्तै उपन्यासहरूको अपेक्षा गरिएको छ ।

कृति – “प्रतिरूप”
विधा – उपन्यास
लेखक – खगराज बराल
प्रकाशक – साङ्ग्रिला बुक्स
संस्करण – पहिलो
पृष्ठ – २३८
मूल्य – ४९५

प्रतिक्रिया