ट्रम्पद्वारा केनेडी हत्याका सम्पूर्ण गोप्य दस्तावेज सार्वजनिक गर्ने घोषणा , ८०,००० पृष्ठको दस्तावेज सार्वजनिक गरिने

इनेप्लिज २०८१ चैत ४ गते ०:१४ मा प्रकाशित

पूर्व राष्ट्रपति जोन एफ. केनेडीको हत्यासम्बन्धी सम्पूर्ण गोप्य दस्तावेज मंगलबार सार्वजनिक गरिने राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्। सोमबार केनेडी सेन्टरको भ्रमणका क्रममा उनले यो जानकारी दिएका हुन्।

“हामी यहाँ छौं, त्यसैले म यो घोषणा गर्न चाहन्छु। भोलि हामी केनेडी हत्याका सबै फाइलहरू सार्वजनिक गर्दैछौं,” ट्रम्पले आफ्नो पहिलो केनेडी केन्द्रको समिति बैठकपछि पत्रकारहरूलाई भने।

उनका अनुसार ८०,००० पृष्ठको दस्तावेज सार्वजनिक गरिनेछ, जसमा कुनै कार्यकारी संक्षेप समावेश हुने छैन।

“हामीसँग अपार कागजातहरू छन्। तपाईहरूले धेरै पढ्नुपर्नेछ,” उनले थपे। ट्रम्पले यो कार्य आफ्नो राष्ट्रिय गुप्तचर प्रमुख तुलसी गबार्डको नेतृत्वमा भइरहेको जनाए। उनले कुनै पनि सामग्री सम्पादन नगरिने दाबी गरे।

केही सम्पादन गर्नु हुँदैन। तपाईहरू सम्पादन गर्न सक्नु हुन्न, ट्रम्पले बताए। उनले यो आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्ने प्रयास भएको उल्लेख गरे।

प्रतिक्रिया