मेक्सिकोमा एफबिआइले सबैभन्दा खोजी गरिएका अपराधी अर्थात् मोस्ट वान्टेड’ सूचीमा रहेका एमएस-१३ गिरोहका नेता पक्राउ परेका छन् । अमेरिकामा जरा गाढेका एमएस-१३ गिरोहका नेतालाई अन्तत्वगत्वा समातिएको छ ।
मेक्सिकोका अधिकारीहरूले संघीय अनुसन्धान विभाग (एफबिआई) को १० सर्वाधिक खोजिएका सूचीमा रहेका एमएस-१३ गिरोह नेतामध्ये एक फ्रान्सिस्को जेभियर रोमान-बार्डालेसलाई पक्राउ गरिएको घोषणा गरेका छन्।
रोमान-बार्डालेसलाई भेराक्रुजस्थित टेओसेलो-बक्स्टला राजमार्गमा पक्राउ गरिएको हो। मेक्सिकोको महान्यायाधिवक्ता कार्यालय, राष्ट्रिय रक्षा मन्त्रालय, र राष्ट्रिय सुरक्षाको संयुक्त विज्ञप्तिमा यो जानकारी दिइएको छ।
अब उनलाई मेक्सिको सिटी स्थानान्तरण गरिनेछ। त्यहाँबाट सम्बन्धित अधिकारीसमक्ष बुझाइएपछि अमेरिका प्रत्यार्पण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघीय अनुसन्धान विभाग (एफबिआई)का अनुसार, रोमान-बार्डालेसले अमेरिका, मेक्सिको, र आफ्नो जन्मथलो एल साल्भाडोरमा आपराधिक गतिविधिहरू सञ्चालन गरिरहेको आरोप छ। उनले नागरिक र प्रतिस्पर्धी गिरोह सदस्यहरूविरुद्ध हिंसात्मक आक्रमणको आदेश दिएको, लागू औषध तस्करी तथा फिरौती योजनामा संलग्न रहेको आरोप छ।
उनीमाथि अमेरिकामा “आतंकवादी संगठनलाई सहायता पुर्याउन षड्यन्त्र, लागूपदार्थ आतंकवाद षड्यन्त्र, जबर्जस्ती असुली षड्यन्त्र, र गैरकानुनी आप्रवासी तस्करी षड्यन्त्र” को अभियोग लगाइएको छ।
एफबिआई ले उनको गिरफ्तारीका लागि सूचना दिने व्यक्तिलाई २५०,००० डलर पुरस्कारको घोषणा गरेको थियो।
ट्रम्प प्रशासनले लस एन्जलसबाट सुरु भएको एमएस-१३ गिरोहलाई आतंकवादी संगठनका रूपमा सूचीकृत गरेको छ।
प्रतिक्रिया