नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.सुनिल कुमार शर्माले सरकार नागरिकको स्वास्थ्यप्रति गैरजिम्मेवार रहेको टिप्पणी गरेका छन् । आज (बुधबार) स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोषलगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित प्रतिनिधि सभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउँदै सांसद शर्माले ८÷१० वर्षदेखिको कुनै पनि सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार हुन नसकेको बताएका हुन् ।
‘हुम्लाको विरामीले या कर्णालीको एउटा विरामीले आफूले पायक पर्ने ठाउँमा मुटुको भल्व फेर्न जान पाउनु पर्छ कि पर्दैन ? काठमाडौं आइपुग्दा उसको कति खर्च हुन्छ ? बस्दा कति खर्च हुन्छ ? आजको सरकार कति जिम्मेवार छ नागरिकप्रति ? हिजो पनि यस्तै थियो । म यो भन्दिनँ कि आजको मात्रै गैरजिम्मेवार छ । यो विशेषतः ८÷१० वर्षदेखिको कुनै पनि सरकार नागरिकप्रति जिम्मेवार भएको हामीले पाएनौं । फेरि यसो भनिरहँदा सबै खराब हो ? होईन । धेरै राम्रा कामहरु पनि भए होलान् । तर, विशेषतः स्वास्थ्य क्षेत्रमा एउटा राम्रो कार्यक्रम गगनजीहरुले ल्याएको कार्यक्रमलाई निमोठोर फाल्ने जुन प्रपञ्च रचिँदै छ, राज्यले जुन व्यवहार गरिरहेको छ, त्यसको म घोर भर्त्सना गर्न चाहन्छु,’– डा. शर्माले भने ।
सांसद डा. शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव’ शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावको उद्देश्य नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गर्नु रहेको छ । यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने उनको भनाइ छ ।
राष्ट्रिय स्वास्थ्य बीमा योजना स्थापना गर्नुपर्ने, कम आन्दानी भएका परिवार र असुरक्षित समूहका लागि स्वास्थ्य बीमा प्रिमियममा सहुलित प्रदान गर्नुपर्ने, निजी स्वास्थ्य सेवा प्रदायकहरूसँग साझेदारी गर्नुपर्ने, स्वास्थ्य बीमा सेवा प्रदायकको निगरानी र अडिट गरी पारदर्शी र जवाफदेही बनाउनुपर्ने, स्वास्थ्य बीमारबारे जनचेतना अभियान चलाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।
प्रतिक्रिया