न्यूयोर्कस्थित इरानी पत्रकार र सरकारविरोधी कार्यकर्ता मासिह अलीनेजादलाई मार्ने षड्यन्त्रमा संलग्न दुई व्यक्तिलाई अमेरिकी न्यायालयले दोषी ठहर गरेको छ।
रुसको अपराध संगठनसँग कथित रूपमा सम्बन्ध भएका रफत अमिरोभ र पोलाद ओमारोयलाई हत्या गर्ने षड्यन्त्र, अवैध हतियार राख्ने लगायत आरोपमा दोषी पाइयो। उनीहरूलाई सेप्टेम्बरमा सजाय सुनाइनेछ । उनीहरूले दशकौं कारागार सजाय भोग्नु पर्ने सिबिएसन्यूजले जनाएको छ ।
अलीनेजादले अदालतबाहिर भनिन् , “तीन वर्षपछि मलाई मार्न षड्यन्त्र गर्नेहरूलाई दोषी ठहर गरिएकोमा म राहत महसुस गरिरहेको छु। तर मुख्य दोषीहरू – अली खमेनी र इरानी क्रान्तिकारी रक्षक अझै सत्तामा छन्। म तिनीहरूलाई न्यायको कठघरामा उभ्याउने दिनको प्रतीक्षा गर्दैछु।”
भावुक हुँदै उनले थपिन्, “आज म मात्र जीवित रहनुको विषय होइन; यो एक सत्ता माथिको हार हो जसले आलोचकहरूलाई गोलीले चुप लगाउन सक्छ भन्ने भ्रम पालेको छ। तर उनीहरू असफल भए। म यहाँ छु र लडिरहनेछु।”
सरकारी वकिलले अदालतलाई इरानले अलीनेजादको टाउकोको मोल ५००,००० लाख डलर इनाम राखेको बताउँदै यो घटनामा इरानी सरकारको संलग्नता भएको दाबी गरे।
अलीनेजाद, जो सन् २००९ मा इरानबाट अमेरिका आएर पत्रकारिता गर्न थालेकी थिइन्, महिला अधिकार र सरकार विरोधी अभियानहरू चलाउँदै आएकी छन्। उनका सामाजिक सञ्जाल मन्चहरू इरानी महिलाहरूले हिजाब हटाएको श्रब्यदृश्य (भिडियो)हरू प्रकाशन गर्नका लागि सशक्त माध्यम बनेका छन्।
सन् २०२२ मा पनि उनलाई मार्ने अर्को षड्यन्त्र असफल भएको थियो। अदालतमा उनले भनिन्, “मेरो सामाजिक सञ्जाल नै मेरो हतियार हो।”
प्रतिक्रिया