ट्रम्प प्रशासनद्वारा आप्रवासी बालबालिकालाई कानुनी सहयोग प्रदान गर्ने कार्यक्रमको वित्तीय सहायता कटौती

इनेप्लिज २०८१ चैत ८ गते १:१२ मा प्रकाशित

ट्रम्प प्रशासनले हजारौ हजार बिना अभिभावकका आप्रवासी बालबालिकालाई कानुनी प्रतिनिधित्व प्रदान गर्ने कार्यक्रमको वित्तीय सहायता रोक्ने निर्णय गरेको छ। यो निर्णय अमेरिकी आन्तरिक बिभागबाट शुक्रबार जारी भएको एक ज्ञापनमा उल्लेख गरिएको छ ।

यो निर्णयसँगै करिब २०० मिलियन डलरको संघीय अनुदान प्राप्त गर्ने विभिन्न संस्थाहरूलाई उक्त सम्झौतामा आंशिक रूपमा कटौती गरिएको जानकारी दिइएको छ।

हाल बाँकी रहेको रकम भने केवल तपाईको अधिकार जान्नुहोस्” अर्थात् (Know Your Rights) शीर्षकका सूचनामूलक प्रस्तुति सञ्चालनका लागि मात्र प्रयोग गर्न पाइनेछ ।

ट्रम्प प्रशासनको यो कदमले कस्ता प्रभाव पार्न सक्छ?

यस निर्णयले कानुनी सहयोगबाट वञ्चित भएका हजारौं बिना अभिभावकका आप्रवासी बालबालिकाको अवस्था थप जटिल बनाउने संभावना छ। यो कार्यक्रम अन्तर्गत बालबालिकालाई वकिलद्वारा कानुनी सल्लाह, शरणका लागि निवेदन, र उनीहरूका हक अधिकारबारे जानकारी प्रदान गरिन्थ्यो। कानुनी सहयोगको अभावले यी बालबालिकालाई देश निकाला सम्बन्धी मुद्दामा आफ्नो पक्ष राख्न कठिनाइ हुनेछ।

आफ्नो अधिकार जान्नुहोस् ‘Know Your Rights’ कार्यक्रम मात्र बाँकी:

सम्झौताको बाँकी रहेको भागले केवल हिरासत केन्द्रमा रहेका बालबालिकालाई उनीहरूको अधिकारका विषयमा आधारभूत जानकारी दिने प्रस्तुति सञ्चालन गर्न अनुमति दिन्छ। तर, कानुनी परामर्श र अदालतमा प्रतिनिधित्व जस्ता महत्त्वपूर्ण सेवाहरू कटौती गरिएका छन्।

कानुनी विशेषज्ञ र मानवअधिकार समूहहरूको प्रतिक्रिया:

कानुनी सहायता कटौतीको कदमप्रति आप्रवासी अधिकारवादी समूह र मानवअधिकार वकालतकर्ताहरूले विरोध जनाएका छन्। उनीहरूको भनाईमा, कानुनी सहयोगबिना बालबालिकाले निष्पक्ष सुनुवाइ पाउन सक्दैनन्, जसले गर्दा उनीहरू अझ जोखिममा पर्नेछन्।

यो निर्णय ट्रम्प प्रशासनको आप्रवासी नीतिहरूमा कडाइ ल्याउने रणनीतिको एउटा भाग हो। ट्रम्प प्रशासनले यसअघि पनि मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरूलाई रोक्ने उद्देश्यले विभिन्न कठोर नीतिहरू लागू गरेको थियो।

प्रतिक्रिया