अमेरिकामा १२ वर्षकी बालिकालाई मुसलमान विद्यार्थीहरूमाथि आक्रमणको आरोपमा घृणापूर्ण अपराधमा दोषी ठहर

इनेप्लिज २०८१ चैत ८ गते ११:२० मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यको वाटरबरीस्थित वालस माध्यमिक बिद्यालयमा दुई मुसलमान (मुस्लिम )विद्यार्थीमाथि भएको हमलामा संलग्न १२ वर्षकी छात्रालाई घृणापूर्ण अपराधमा आरोपी बनाइएको छ।

यो घटना यस महिनाको सुरुमा भएको थियो जहाँ चारजना सातौं कक्षाका विद्यार्थीहरू बीच झगडा भएको एनबिसीन्यूजले जनाएको छ । आक्रमणमा परेका दुई १३ वर्षकी मुसलमान किशोरीहरू नियमित रूपमा हिजाब लगाउने हुँदा उनीहरूलाई धार्मिक पहिचानकै कारण निशाना बनाइएको हुनसक्ने भन्दै परिवारले अनुसन्धानको माग गरेका थिए।

वाटरबरी प्रहरीले शुक्रबार जारी गरेको वक्तब्यमा उक्त झगडाको कारण धर्म र जातीयताको आधारमा प्रेरित रहेको बताएका छन्। ती १२ वर्षकी छात्रामाथि पूर्वाग्रहमा आधारित धम्कीको पहिलो र दोस्रो श्रेणीको आरोप लगाइएको छ। अर्का एकजना छात्रालाई पक्राउ नगरी युवाहरूका लागि वैकल्पिक पुनर्स्थापना कार्यक्रममा पठाइएको छ।

वाटरबरीका नगर प्रमुख*पल पर्नरेव्स्कीले यो घटना “एकल घटना” भएको बताए। विद्यालयका अन्तरिम अधिक्षक (सुपरिन्टेन्डेन्ट) डारेन श्वार्ट्जले घटनाले विद्यालयको ठूलो समस्या जनाउँदैन भनेका छन्। उनले भने, “यो घटनालाई हामीले अवसरको रूपमा लिएर हाम्रा विद्यार्थीहरूलाई सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्न प्रतिबद्ध रहनुपर्छ।”

अमेरिकी-इस्लामिक सम्बन्ध परिषद्का अध्यक्ष फरहान मेमनले यस घटनालाई अस्वीकार्य भन्दै विद्यालयमा जातीय र धार्मिक विभेदविरुद्धको अनिवार्य प्रशिक्षण लागू गर्न माग गरेका छन्।

मुस्लिम विद्यार्थीहरूमाथि यस्तो आक्रमण अस्वीकार्य मात्र होइन, यो विद्यालयहरूमा व्यापक रूपमा भइरहेको विभेद र दुर्व्यवहारको हिस्सा हो, जसलाई तुरुन्त सम्बोधन गर्न आवश्यक छ,” उनले भने।

शिक्षा विभागले यो घटनालाई दुर्व्यवहारको रूपमा लिई आवश्यक कारबाही र विद्यालय सुरक्षा उपायहरूलाई थप सुदृढ गरेको जानकारी दिएको छ।

प्रतिक्रिया