कविता : अलविदा हजुर अलविदा !

मदन बस्नेत, टोरोन्टो २०८१ चैत ९ गते १:०७ मा प्रकाशित

तपाईको यात्रामा

अबिर जात्रा

नौलो हैन

पटकपटक धेरैपटक

देखेको हो

आन्दोलनको सफलतामा

चुनावको विजयोल्लासमा

राष्ट्र सेवाको जिम्मेवारीहरुमा

अनुहारभरी अबिर

गलाभरी माला

सेतो धपक्कै बलेको

चम्किलो मुहार

अघिपछि मान्छेका भिड

माया गर्नेहरुको लावालस्कर

हिजो जस्तै आज पनि

शानदार थियो

ठूलो जमघटका बीच

पुष्प वृष्टि र अबिर जात्रा

जयजयकारको नारा थियो

फरक यत्ति हो कि

तपाईको आजको यात्रामा

अबिर जात्रा गर्नेहरुलाई

तपाईंले देख्नु भएन

गलामा माला पहिराउनेहरुलाई

धन्यवाद भन्न सक्नु भएन

गलामा पहिराएको मालाको

सुगन्ध लिन सक्नु भएन

पीताम्बरको नयाँ वस्त्र

खै कति सुहायो

हेर्न पाउनु भएन।

गाडी चढ्ने तपाईको सोख

आज पनि छुटेन

हिजो रातो रंगको गाडीमा

ओहोरदोहोर गर्नुहुन्थ्यो

आज सेतो गाडीमा सवार भएको

तपाईले पत्तै पाउनु भएन

जडौरी मन पर्दैनथ्यो तपाईलाई

त्यसैले बिस्तरा नयाँ बनाईयो

चन्दन र कपुर युक्त शैया

चँदुवा टाँगेर जग्गे सजाईयो

हो कडा बिछ्यौना

मन पर्दैन तपाईंलाई

त्यसैले सुगन्धित पुष्प लहराले

बिस्तरा ढकमक्क शृङ्गारियो

स्नान नगरी दिनचर्या

सुरु नगर्ने बानी तपाईको

त्यसैले आज

बाग्मतीको पवित्र जलले

शरीर पूरै चोखो गराईयो

चिसो पटक्कै

मन नपर्ने तपाईलाई

न्यानो राख्न

तपाईंको चिसिएको शरीर

तातो पार्न

जिम्मा आज

अग्नि देवलाई लगाईयो।

हामीबीच मात्र हुनुहुन्थ्यो

तपाईं हिजो

आजबाट तपाईलाई

प्रकृती तर्फ नै फर्काईएको छ

पृथ्वी जल जमिन आकाश र वायुमा

सदासदाकालागि मिलाईएको छ

हो शरीर छुटेको छ आज तपाईको

त्यसैले भौतिक दुरी बढेको छ

तर मन मुटु र मस्तिष्कमा

हिजो जस्तै आज

अनि आज भन्दा भोलि

सदासर्वदा सम्झना तपाईंको

ताजा रहने छ

अनन्तको यात्रा हजुरको

सुखदायक रहोस्

पितृ मिलन हजुरको

भब्य र दिव्य बनोस्

हामी सन्तानमाथिको आशिर्वाद

सदा झैँ नीरन्तर उत्तिकै रहोस्

अलविदा हजुर अलविदा !

मदन बस्नेत, टोरोन्टो।

फोटो: स्व. माथवरसिंह बस्नेत

प्रतिक्रिया