जीवन विज्ञानका पाँच तहका साधना नेपालबाहिर पहिलोपटक अमेरिकामा सञ्चालन हुने भएका छन् । जीवन विज्ञान अमेरिकाले जानकारी गराएअनुसार ती साधनाहरु आगामी जुन २४ अगस्ट १ सम्म देखि अगस्टसम्म अमेरिकाको क्यालिफोर्निया र भर्जिनियामा सञ्चालन हुनेछन् । प्राप्त जानकारीअनुसार जुन २४ देखि ३० सम्म क्यालिफोर्नियाको लस एन्जल्समा ऐश्वर्य विज्ञान सञ्चालन हुनेछ भने जुलाई ३ देखि अगस्ट १ सम्म भर्जिनियामा चक्र विज्ञान, बोध विज्ञान, लय विज्ञान र प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछन् । क्यालिफोर्नियामा हुने ऐश्वर्य विज्ञान कार्यक्रम पशुपतिनाथ फाउन्डेसन लस एन्जल्सले जीवन विज्ञान अमेरिकासँगको सहकार्ययमा आयोजना गर्दैछ, जुन सातदिनसम्म सञ्चालन हुनेछ ।
यसै गरी भर्जिनियाको फेयरफ्याक्समा अवस्थित लोटस टेम्पलमा आयोजना गरिने चक्र विज्ञानदेखि प्रशिक्षक प्रशिक्षण कार्यक्रमसम्मको समयतालिका जीवन जीवन विज्ञान अमेरिकाले सार्वजनिक गरेको छ । यसअनुसार चक्रविज्ञान जुलाई ३ देखि ९ सम्म, बोध विज्ञान जुलाई ११ देखि १७ सम्म, लय विज्ञान जुलाई १८ देखि २४ सम्म र प्रशिक्षक प्रशिक्षण कार्यक्रम जुलाई २६ देखि अगस्ट १ सम्म सञ्चालन हुनेछन् । यी चार तहका सप्ताहव्यापी साधना गराउन जीवन विज्ञानका संस्थापकद्वय गुरु रमेश नेपाल तथा गुरु एल पि भानु शर्मा यही जुन २२ मा अमेरिका आउनुहुनेछ । भर्जिनियामा हुन लागेका यी चार तहका कार्यक्रम अमेरिकामै पहिलोपटक एकै स्थानमा आयोजना गर्न लागिएकाले अमेरिका र क्यानडामा रहेका नेपालीभाषी समुदायबाट व्यापक सहभागिता हुने अपेक्षा गरी आयोजक संस्था जीवन विज्ञानले तयारी शुरु गरिसकेको जनाएको छ ।
जीवन विज्ञान अमेरिकाले सहभागीहरुका लागि नाम दर्ता गराउन आफ्नो वेभसाइटमा दर्ता फाराम खुला गरिसकेको छ भने कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न आवश्यक पर्ने स्वयंसेवकको आह्वान गरी वेभसाइटमा स्वयंसेवकका निमित्त फाराम खुला गरेको छ । अमेरिकाका विद्यालय र कलेजहरुमा गर्मीको छुट्टी हुने भएकाले उक्त समयको सदुपयोग गरी कार्यक्रममा स्वयंसेवा गर्न इच्छुक स्वयंसेवकका विद्यार्थी वा अरु कसैलाई स्वयंसेवामा संलग्न भएको समयको गणना गरी प्रमाणपत्र प्रदान गरिने कुरा आयोजक संस्था जीवन विज्ञान अमेरिकाले जानकारी गराएको छ । सहभागी हुन चाहने व्यक्तिले आफूले भाग लिन चाहेको एक वा एकभन्दा बढी कार्यक्रममा भाग लिन जीवन विज्ञान अमेरिकाको वेभसाइट मा गएर कार्यक्रममा सहभागी हुन योगदान दिने रकम चुक्ता गरी तोकिएको फाराम भर्नुपर्नेछ । सहभागीले कार्यक्रमका योगदान गरेको रकमबाट विहानको खाजा तथा दिउँसोको खान तथा चियासमेत प्राप्त गर्नेछन् ।
कार्यक्रममा सहभागी हुने व्यक्तिले जीवन विज्ञान अमेरिकाको वेभसाइट www.jvusa.org/events मा गएर आफूले चाहेका कार्यक्रमका लागि फाराम भर्न सक्नेछन् । कुनै पनि तहको कार्यक्रममा यसपटक ४०० भन्दा बढी सहभागी राख्न स्थानको अभाव भएकाले समयमै आफ्नो स्थान सुरक्षित गर्न पनि जीवन विज्ञान अमेरिकाले इच्छुक सहभागीहरुलाई आह्वान गरेको छ ।
यसअघि २०२२ र २०२४ मा अमेरिकाका चार राज्यमा पाँचवटा चक्र विज्ञान साधना गुरुहरुले गराउनुभएको र अमेरिकाबासी नेपाली भाषी समुदायको विशेष अनुरोधलाई ध्यानमा राखेर एकैस्थानमा चार कार्यक्रम भर्जिनियामा गर्न लागिएको बताइएको छ । विगतमा चक्रविज्ञानभन्दा माथिका गहिरा साधनाहरुका लागि नेपाल जानुपर्दा लामो विदा लिनुपर्ने अनि आर्थिक रुपमा पनि निकै खर्चिलो हुने हुँदा इच्छुक सबैलाई त्यति सहज नभएकामा अध्यात्मिक साधना गर्न इच्छुक सबैलाई यस पटक अमेरिकामा नै यो अवसर आएकाले यसमा प्रशिक्षक प्रशिक्षणसम्मको साधना पूरा गर्ने साधकसमेतको संख्या १ हजारभन्दा बढी हुने अनुमानका साथ तयारी भइरहेको जनाइएको छ । यसअघिका पाँचवटा चक्र विज्ञानमा लगभग ९ सय साधकले भाग लिइसकेका छन् । यसपटक अमेरिकामा दुवै गुरु आउनुभएर सञ्चालन हुने बोध विज्ञान लय विज्ञान र प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट विगतमा चक्रविज्ञान पूरा गरेका व्यक्तिहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
क्यालिफोर्नियामा हुन लागेको ऐश्वर्य विज्ञान साधनामा युवा तथा उद्यमीहरुको विशेष सहभागिता रहने अपेक्षा गरिएको छ । युवा तथा उद्यमीहरुका लागि विशेष कार्यव्रmमका रुपमा जीवन विज्ञानले ऐश्वर्य विज्ञान कार्यक्रम स्थापना कालदेखि नै काठमाडौँमा सञ्चालन गर्दै आएको हो । शुरुमा ३ दिवसीय यो कार्यक्रम केही वर्षयता निकै आकर्षक कार्यक्रल हुनुका साथै हालसात दिवसीय कार्यक्रमका रुपमा सञ्चालन हुने गरेको छ । जीवन विज्ञानबाट दिइने उल्लिखित पाँचैवटा कार्यक्रमको पूरै कार्यक्रम जीवन विज्ञानका संस्थापक गुरुद्वय स्वयं उपस्थित भएर सञ्चालन गर्नुहुनेछ । सात दिनसम्म सञ्चालन हुने हरेक कार्यक्रम दैनिक बिहान साढे सात बजे शुरु भई अपराह्न ५ बजे सकिनेछन् ।
कोभिडको महामारीले विश्वलाई आक्रान्त बनाइरहेको परिवेशमा सन् २०२० को सेप्टेम्बरमा जुमबाट स्वसंवाद गराउँदै जीवन विज्ञानका कार्यक्रमलाई विश्वव्यापी बनाउनुभएका संस्थापकद्वय श्रद्धेय भानु गुरु तथा रमेश गुरुले जीवन विज्ञानका कार्यक्रम अमेरिकामा प्रवेश गराउनुभएको हो । सोही वर्ष सेप्टेम्बर २२ मा जीवन विज्ञान नेपालको पहिलो शाखाका रुपमा भर्जिनियामा जीवन विज्ञान अमेरिका दर्ता भएको हो ।
हाल जीवन विज्ञान अमेरिकाले हरेक दिन बिहान पूर्वी समयअनसार ५ बजेबाट निःशुल्क रुपमा जुमबाट साढे १ घन्टाको योगाभ्यास, प्राणायाम र ध्यानका ११ वटा कक्षाहरु अमेरिका र क्यानडाका विभिन्न समयक्षेत्रबाट सञ्चालन गरिरहेको छ ।
यसका अतिरिक्त भौतिक रुपमा पनि बिहानका कक्षा मेरिल्यान्ड, भर्जिनिया, टेक्सास, केन्टकी तथा क्यालिफोर्नियाबाट सञ्चालन भइरहेका छन् । जुम र स्थानीय रुपमा जीवन विज्ञानका विभिन्न तहका साधना पूरा गरिसकेका साधकको संख्या अमेरिका र क्यानडामा मात्रै २० हजार नाघिसकेको जीवन विज्ञान अमेरिकाले जनाएको छ । अमेरिका र क्यानडबाट हालसम्म १०५ व्यक्तिले जीवन विज्ञानको प्रशिक्षक प्रशिक्षण तह पूरा गरिसकेका छन् ।
प्रतिक्रिया