अमेरिकाको न्यू मेक्सिको राज्यको लस क्रुसेसका अधिकारीहरूले न्यू मेक्सिकोको यङ पार्क(मनोरंजन उद्यान)मा शुक्रबार राति भएको सामूहिक गोलीकाण्डमा तेस्रो संदिग्धलाई आइतवार बिहान गिरफ्तार गरेका छन्।
नाम नखुलाइएको १७ वर्षीय किशोरलाई शनिबार पक्राउ परेका दुई व्यक्तिहरूसँगै हिरासतमा राखिएको छ। उक्त घटनामा तीनजनाको मृत्यु र १५ जना घाइते भएका थिए।
प्रत्येक संदिग्धमाथि तीनवटा हत्या अभियोग लगाइएको छ। लस क्रुसेस प्रहरीले सामाजिक संजाल फेसबुकमार्फत् दिएको जानकारीअनुसार शनिबार साँझ पक्राउ परेका अन्य दुईमध्ये २० वर्षीय टोमस रिभास र अर्को १७ वर्षीय किशोर पनि घटनामा संलग्न छन्।
शुक्रबार राति यङ पार्कमा गोली लागेर ज्यान गुमाउनेहरूमा १६ वर्षीय एन्ड्र्यु म्याड्रिड, १८ वर्षीय जेसन गोमेज र १९ वर्षीय डोमिनिक एस्ट्राडा रहेका छन्।
प्रहरीका अनुसार म्याड्रिड र गोमेजको घटनास्थलमै मृत्यु भएको थियो एस्ट्राडाको अस्पताल लैजाँदै गर्दा ज्यान गएको थियो ।
गोलीकाण्डमा घाइते भएका १५ जनाको उमेर १६ देखि ३६ वर्षसम्मको रहेको छ। प्रहरीका अनुसार घाइतेहरूमा ९ पुरुष र ६ महिला छन्। उनीहरूको गोपनीयता जोगाउन नाम सार्वजनिक नगरिने जनाइएको छ। जीवित बचेका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिइएको छैन।
यो गोलीकाण्ड राति १० बजे एउटा गैर-अनुमोदित कार प्रदर्शन (शो)का क्रममा भएको थियो।
लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले पत्रकारहरूलाई जानकारी दिँदै भने, ” अनुसन्धानका अनुसार दुई समूहबीच झगडा भएको थियो, र त्यस झगडाले दुवैतर्फबाट गोली हानाहानको रूप लियो।”
रिभासलाई बिना धरौटी डोना आना काउन्टी थुनुवा केन्द्रमा राखिएको छ। किशोर संदिग्धलाई किशोर हिरासत केन्द्रमा लगिएको छ। दुवैजनामाथि थप आरोपहरू लगाइने तयारी भइरहेको प्रहरीले बताएको छ।
लस क्रुसेस प्रहरीले संघीय र राज्य निकायहरूबाट अनुसन्धानमा सहयोग लिइरहेको जनाएको छ।
प्रतिक्रिया