काठमाडौं । बागबजारको पद्मकन्या (पीके) क्याम्पसको स्ववियु निर्वाचनमा प्यानलसहित जितेको सुसियालीमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको बागी समूहले सोमबार काठमाडौंमा विजय जुलुस निकालेको छ ।
जुलुस रत्नपार्क, त्रि–चन्द्र कलेज, कमलादी, पुतलीसडक हुँदै फेरि पीकेमै पुगेको थियो ।
यही चैत ७ गते भएको निर्वाचनबाट नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घका बागी उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
अध्यक्षमा नेविसङ्घबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी भूपेश्वरी ऐर ’भूपि’ विजयी भएकी हुन् ।
उनले नेविसङ्घकी पूर्णिमाया परियारलाई हराएकी थिइन् । भूपीले ७३० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी परियारले ३७९ मत मात्र ल्याइन् ।
यस्तै सचिव र कोषाध्यक्षमा भूपिकै प्यानलका स्वतन्त्र उम्मेदवारहरू सन्ध्या बस्याल र सङ्कल्पिका थापा विजयी भए । यी दुवैले नेविसङ्घका उम्मेदवारलाई नै पछि पारेका हुन् ।
यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी आकृति पाण्डे, निशा कार्की र यानसु कटवाल विजयी भए । यी भूपिकै समूहका बागी उम्मेदवार हुन् ।
सधैँ नेविसङ्घको वर्चश्व रहने यस क्याम्पसमा यो पटक भने यो सङ्गठन रित्तोहात भएको छ ।
नेविसङ्घकै विवादका कारण निर्वाचन दुई दिन पछि सरेको थियो ।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया