सुप्रसिद्ध लैंगिक अधिकार अधिवक्ता चाँदनी जोशीलाई अमेरिकी सरकारको सम्मान

इनेप्लिज २०८१ चैत १० गते २२:३८ मा प्रकाशित

न्यूयोर्क, मार्च २४, २०२५ – सुप्रसिद्ध लैंगिक अधिकार अधिवक्ता चाँदनी जोशीलाई आइतबार न्यूयोर्कमा आयोजित “एशियन अमेरिकन वुमनस् एम्पावरमेन्ट सेलिब्रेसन” कार्यक्रममा अमेरिकी संघीय तथा राज्य अधिकारीहरूद्वारा सम्मान गरिएको छ।

पाँच दशकभन्दा लामो आफ्नो करियरलाई नेपाल तथा दक्षिण एसियामा लैंगिक समानता तथा नीतिगत सुधारका लागि समर्पित गर्दै, जोशीले संयुक्त राष्ट्रसंघ महिला विकास कोष (UNIFEM) को दक्षिण एसिया क्षेत्रीय कार्यालयका पूर्व निर्देशकका रूपमा काम गरेकी थिइन्। पाकिस्तान र भारतमा पहिलो UNIFEM दक्षिण एसिया कार्यालय स्थापना गर्न निर्णायक भूमिका खेलेकी जोशीको महिला सशक्तिकरणका क्षेत्रमा पुर्‍याएको योगदानलाई कार्यक्रममा उच्च सम्मानका साथ कदर गरियो।

लैंगिक समानता, घरमा आधारित श्रमिक अधिकार र महिला सशक्तिकरणमा उनको आजीवन समर्पणलाई सम्मान गर्दै अमेरिकी सिनेटका अल्पसंख्यक नेता सिनेटर चक ई. शुमर र न्यूयोर्क राज्य सभासद जेनिफर राजकुमारले आधिकारिक घोषणापत्र (Proclamation) प्रदान गरे। साथै, न्यूयोर्क राज्य सभासद स्टेभन रागाले जोशीलाई राज्य प्रशस्ति पत्र प्रदान गर्दै उनको अद्वितीय कार्यको प्रशंसा गरे।

जोशीले आफ्नो सम्बोधनमा आफ्नो काम र हालै प्रकाशित पुस्तक “Weaving My South Asian Tapestry” को चर्चा गर्दै लैंगिक अधिकार, घरमा आधारित श्रमिक संरक्षण र नयाँ पुस्तालाई सामाजिक परिवर्तनको अभियानमा संलग्न गराउने विषयमा जोड दिइन्। उनले Apan Foundation को नेतृत्व र यस भव्य तथा महत्त्वपूर्ण कार्यक्रममा सहयोगी निकायहरूको भूमिकाप्रति गहिरो आभार व्यक्त गरिन्। “यो क्षण मेरो लागि अत्यन्त भावनात्मक छ,” उनले दर्शकमाझ भनिन्। “मेरो मातृभूमिमा पनि मेरो योगदानलाई यति उच्च स्तरमा सम्मान गरिएको थिएन, तर आज अमेरिकामा संघीय र राज्य दुवै तहबाट यो सम्मान पाउँदा यो सम्मान केवल मेरो लागि मात्र होइन, ती सबै महिलाहरू र घरमा आधारित श्रमिकहरूका लागि हो, जसका लागि म आजीवन संघर्षरत छु।”

महिला इतिहास महिना २०२५ को अवसर पारेर आयोजित यस एशियन अमेरिकन वुमनस् एम्पावरमेन्ट सेलिब्रेसन कार्यक्रममा प्रतिष्ठित नेताहरू, अधिवक्ताहरू तथा समुदायका सदस्यहरू भेला भएका थिए। कार्यक्रममा सात विशिष्ट एशियन अमेरिकी महिलाहरूलाई महिला सशक्तिकरणको क्षेत्रमा पुर्‍याएको योगदानका लागि “वुमन एम्पावरमेन्ट अनरिज” को रूपमा सम्मानित गरियो।

२०२५ का वुमन एम्पावरमेन्ट अनरिज सम्मानित महिला व्यक्तित्वहरू: डा. प्रिया रिमाल, डा. पुष्पा आचार्य काफ्ले, डोल्मा लामा, शिवांगी सिंह, सुमी सरकार, तन्दीप कौर साहनी र छिरिङ डिकी। सम्मानित महिला व्यक्तित्वहरूले आयोजकहरूलाई आभार व्यक्त गर्दै चाँदनी जोशी जस्तो महान हस्तीबाट सम्मान प्राप्त गर्नु प्रेरणादायी रहेको बताए। “यो सम्मानले हाम्रो समुदाय सेवा, युवा मार्गदर्शन र महिला सशक्तिकरणका लागि थप प्रेरणा दिएको छ,” सम्मानित व्यक्तित्वले भने।

कार्यक्रमको शुभारम्भ Apan Foundation तथा मिथिला सेन्टर यूएसएका संस्थापक एवं कार्यकारी निर्देशक अमित प्रताप शाहको स्वागत मन्तव्यबाट भयो। शाहले एशियन अमेरिकी महिला नेतृत्व तथा सशक्तिकरणको महत्त्व झल्काउँदै, Mithila Center USA को प्रमुख परियोजना “Art for SDGs: The Mithila Heritage Exhibition” को बारेमा चर्चा गरे, जुन २०१९ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा सुरू भएर अब विश्वव्यापी अभियानको रूपमा अगाडि बढ्दैछ। Nepali Women’s Global Network (NWGN) का सल्लाहकार डा. विद्या मानन्धरले NWGN को प्रभावकारी कार्यक्रमबारे चर्चा गर्दै चाँदनी जोशीको जीवनभरि गरेका रूपान्तरणात्मक कार्यहरूको झलक प्रस्तुत गरे।

कार्यक्रम Apan Foundation का युवा/विद्यार्थी कल्याण समिति अध्यक्ष प्रज्ञा पन्थीद्वारा समन्वय र सञ्चालन गरिएको थियो। १८ वर्षीया प्रज्ञा, Apan Creation की नेतृत्वकर्ता हुन्। उनको प्रभावशाली तथा आत्मविश्वासी प्रस्तुति कार्यक्रममा युवा पुस्तालाई उत्प्रेरित गर्ने उद्देश्यप्रति प्रतिबद्धता दर्शाउँथ्यो।

Apan Foundation को आयोजनामा सम्पन्न यो समुदाय-केन्द्रित कार्यक्रम, एशियन अमेरिकी गैर-नाफामूलक संस्थाहरू Nepali Women’s Global Network (NWGN), Mithila Center USA, Chhaya CDC, Make Us Visible NY, GPK Foundation America, New York Tibetan Service Center, तथा Bengali Interfaith Youth Empowerment Inc. को सहकार्यमा सम्पन्न भएको थियो। यस कार्यक्रमले महिला अधिकार तथा सामाजिक न्याय प्रवर्द्धन गर्ने लक्ष्यलाई थप सशक्त बनाएको छ।

(फोटो श्रेय: राजन काफ्ले)

प्रतिक्रिया