साउदी अरबमा अमेरिका -रूस वार्ता: युक्रेन युद्ध शान्ति प्रक्रियाका लागि प्रयास

इनेप्लिज २०८१ चैत ११ गते ०:३४ मा प्रकाशित

साउदी अरबको राजधानी रियाधमा युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रूसबीच वार्ता भइरहेको छ। यी वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सुरु भएका हुन्, जसको उद्देश्य तीन वर्षभन्दा बढी समयदेखि जारी रूस-युक्रेन युद्धमा शान्ति स्थापना गर्नु हो।

वार्तामा युद्धविरामको ढाँचा तयार गर्ने, कालो सागर अन्न सम्झौता पुनः सुरु गर्ने र ऊर्जा तथा नागरिक पूर्वाधारमाथि आक्रमण रोक्ने विषयहरू प्रमुख कार्यसूची मा छन्।

रूसको टोलीको नेतृत्व संघीय सुरक्षा सेवा (एफएसबि ) का अनुभवी अधिकारी सर्गेइ बेसेदा र पूर्व उपविदेशमन्त्री ग्रिगोरी करासिनले गरेका छन्। अमेरिकाको तर्फबाट मध्यपूर्व दूत स्टिभ विट्कफले वार्ताबारे आशावादी प्रतिक्रिया दिँदै “पूर्ण युद्धविरामको सम्भावना” भएको बताएका छन्।

तर क्रेमलिनले भने सावधानीपूर्वक प्रतिक्रिया दिएको छ। उनका प्रवक्ता डिमिट्री पेस्कोभले रूसी संचार माध्यम (टेलिभिजन)सँग भने, “हामी यो प्रक्रियाको सुरुवातमा मात्र छौं। अझै कठिन वार्ताहरू बाँकी छन्।”

अमेरिका -युक्रेन वार्तामा युक्रेनी रक्षा मन्त्री रुस्तेम उमेरोभले सहभागीता जनाएका थिए। उनले वार्तालाई “उपयोगी” बताउँदै ऊर्जा तथा पूर्वाधार सुरक्षामा केन्द्रित छलफल भएको जानकारी दिए। तर युद्धविरामले कुन पूर्वाधारलाई सुरक्षा गर्ने भन्ने विषयमा युक्रेन र रूसबीच मतभेद देखिएको छ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युद्ध रोक्न आदेश दिनुपर्नेमा जोड दिए। वार्ताको पूर्वसन्ध्यामा रूसले किभसहितका युक्रेनी सहरमा आक्रमण गर्दा सात जनाको मृत्यु भएको थियो। त्यसै दिन युक्रेनी रेल सेवा पनि साइबर आक्रमणको शिकार भयो।

प्रतिक्रिया