आइसिइद्वारा थुनामा रहेका महम्मद खलिलले आवासीय स्थायी पत्र (ग्रिन कार्ड )आवेदनमा गलत जानकारी दिएको ट्रम्प प्रशासनको आरोप र दाबी

इनेप्लिज २०८१ चैत ११ गते १:०३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्यालेस्टानी कार्यकर्ता महम्मद खलिलले आफ्नो आवासीय स्थायी पत्र (ग्रिन कार्ड) आवेदनमा गलत जानकारी दिएको आरोप लगाएको छ। यस कारणले खलिललाई अमेरिका प्रवेशयोग्य नरहेको ठहर गरिएको छ।

सरकारी कागजातअनुसार, खलिलले आफ्नो आवेदनमा बेलायती दूतावासको बेरूतस्थित सिरिया कार्यालयमा गरिएको जागिरको अवधि वास्तविकता भन्दा छोटो उल्लेख गरेका थिए। साथै, उनले २०२३ को जून देखि नोभेम्बरसम्म संयुक्त राष्ट्र संघीय राहत तथा निकाय (युएनआरडब्लुए)मा राजनीतिक मामिला अधिकृतको रूपमा काम गरेको तथ्य लुकाएको आरोप लगाइएको छ।

“खलिलले आवासीय स्थायी पत्रको लागि आवेदन गर्दा धोखाधडी र गलत सूचना दिँदै आप्रवासन लाभ प्राप्त गर्न खोजेका हुन्,” सरकारी वकिलहरूले अदालतमा दायर कागजातमा भनेका छन्।

प्रशासनले खलिललाई कोलम्बिया विश्वविद्यालयको ‘अपार्टहाइड डिभेस्ट समूह ’मा सदस्यता लुकाएको आरोप पनि लगाएको छ। मार्च ८ मा खलिललाई “अमेरिकाको विदेश नीतिमा प्रतिकूल असर पर्न सक्ने” आप्रवासीको रूपमा पक्राउ गरिएको थियो।

खलिलको वकिल मार्क भान डर हाउटले यो मुद्दा “निराधार आरोपमा आधारित” भएको बताएका छन्। उनले भने, “यो मुद्दा संविधानको पहिलो संशोधनमा प्रत्याभूति गरिएका राजनीतिक गतिविधि र अभिव्यक्तिसँग मात्र सम्बन्धित छ। अमेरिकी नागरिक र स्थायी निवासीले विश्व घटनाबारे स्वतन्त्र रूपमा बोल्न पाउने अधिकार छ।”

तर प्रशासनले भने खलिलले संगठनमा सदस्यता र बेरूतस्थित कार्यालयमा कामको विषयमा झूट बोलेको र यस किसिमको गलत जानकारीलाई संवैधानिक रूपमा सुरक्षित अभिव्यक्ति मान्न नसकिने दाबी गरेको छ।

विदेश बिभाग (स्टेट डिपार्टमेन्ट)की प्रवक्ता ट्यामी ब्रुसले खलिलको विषयमा कुनै ठोस टिप्पणी दिन अस्वीकार गर्दै भनिन्, “झूट बोलेर प्रवेशाज्ञा वा ग्रिन कार्ड पाउन खोज्नेहरूका लागि अहिले नीति परिवर्तन भएको छ, र राष्ट्रपति ट्रम्पको कार्यकालमा यस विषयलाई कडाइका साथ हेरिन्छ।”

खलिललाई कोलम्बिया विश्वविद्यालयको छात्रावासबाट पक्राउ गरी न्यू जर्सीको आप्रवासन हिरासत केन्द्रमा लगिएको थियो, र पछि लुजीयानाको एक आइसिइ केन्द्रमा पठाइएको थियो।

प्रतिक्रिया