अमेरिकाबाट १९९ जना भेनेजुएली आप्रवासीलाई बोकेको विमान भेनेजुएलाको राजधानी काराकास नजिकैको माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कडाई अभियानअन्तर्गत पछिल्लो शृङ्खलाको हिस्सा हो।
सोमबार होन्डुरस हुँदै आएको उक्त विमानबाट झरेका युवा पुरुषहरूलाई प्रत्यक्ष श्रब्यदृश्यमा हाँस्दै र ताली बजाउँदै देखिएको थियो। विमानस्थलमा उपस्थित भेनेजुएलाका गृह मन्त्री डियोस्दाडो काबेलोले भने, “आज हामी १९९ जना नागरिकलाई फिर्ता लिन पाउँदा खुशी छौं। हामी जहाँसुकै रहेका भेनेजुएलीलाई फिर्ता लिन तयार छौं।”
भेनेजुएला र अमेरिकाबीच दुई हप्तासम्म रोकिएको फिर्ती उडान शनिबारको सहमतिपछि पुनः सुरु भएको हो।
तर, गत महिनामा यो फिर्ती प्रक्रिया निलम्बन गरिएको थियो । ट्रम्प प्रशासनले भेनेजुएलाले सम्झौता अनुसार छिटो आप्रवासी फिर्ता लिन असफल भएको आरोप लगायो। जवाफमा काराकासले फिर्ती उडान लिन अस्वीकार गर्ने घोषणा गरेको थियो ।
यस विवादका बीच, अमेरिकाले २३८ जना भेनेजुएलीलाई आतंकवादी संगठन घोषित ‘ट्रेन दे अरागुआ’ गिरोहको सदस्य भएको आरोपमा पक्राउ गरी एल साल्भाडोरको उच्च सुरक्षा कारागारमा पठाएको थियो।
यो कदमले अमेरिकी संविधान अनुसार गैरनागरिकहरूको हकका विषयमा बहस सुरु गराएको छ । किनकि अदालतले फिर्ती रोक्न आदेश दिए पनि ट्रम्प प्रशासनले २०० वर्ष पुरानो युद्धकालीन कानुन प्रयोग गरी उक्त कार्यलाई अघि बढाएको छ । काराकासले यस कदमलाई कडा आलोचना गरेको छ।
प्रतिक्रिया