ट्रम्प प्रशासनद्वारा भेनेजुएली आप्रवासीको निर्वासन मामिलामा गोप्यताको अधिकार प्रयोग , थप जानकारी दिन अस्वीकार

इनेप्लिज २०८१ चैत ११ गते ११:१२ मा प्रकाशित

ट्रम्प प्रशासनले सोमबार भेनेजुएली आप्रवासीलाई एल साल्भाडोर पठाउने मामिलामा “राज्य गोप्यताको विशेषाधिकार” प्रयोग गर्दै थप जानकारी दिन अस्वीकार गरेको छ ।

अमेरिकी संघिय जिल्ला न्यायाधीश जेम्स बोआसबर्गले सरकारले आफ्नो आदेश उल्लङ्घन गर्दै बिमानहरू फर्काउन असफल भएको भन्दै समीक्षा गरिरहेका छन्। उनले विमानमा को को थिए र कहिले बिमानहरू अवतरण भए भन्ने विवरण मागेका थिए । तर ट्रम्प प्रशासनले कूटनीति र राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने भन्दै जानकारी नदिन अडान लिएको छ।

प्रशासनले भेनेजुएली आप्रवासीलाई “विदेशी आक्रमणकारी” भनेर ठहर्याउँदै १७९८ को बिदेशी शत्रु ऐन अन्तर्गत निर्वासन गरेको हो। यो कानून दोस्रो विश्वयुद्धपछि पहिलो पटक प्रयोग गरिएको हो।

पुनरावेदन अदालतकी न्यायाधीश पेट्रिसिया मिलेटले भेनेजुएली आप्रवासीलाई नाजी बन्दीहरूभन्दा कम कानूनी संरक्षण दिइएको भन्दै आलोचना गरिन्। न्याय विभागका वकिलले यो तुलना विवादास्पद रहेको प्रतिक्रिया दिए।

न्यायाधिश बोआसबर्गले आफ्नो आदेशमा आप्रवासीहरूले आफूलाई गिरोह सदस्य भनेर लगाइएका आरोपमा चुनौती दिन पाउनुपर्छ। प्रशासनले यो आदेश कार्यकारी शक्तिमा “अनुचित हस्तक्षेप” भएको दाबी गरेको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले न्यायाधीश बोआसबर्गको महाभियोगको आह्वान अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन्।

यस प्रकरणले अमेरिकी अदालत र कार्यकारी प्रशासनबीचको विवादलाई थप पेचिलो बनाएको छ।

प्रतिक्रिया