अमेरिकी संघीय न्यायाधीशद्वारा रेडियो फ्री युरोपको बजेट कटौतीमा अस्थायी रोक

इनेप्लिज २०८१ चैत १२ गते ०:४४ मा प्रकाशित

अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई रेडियो फ्री युरोप/रेडियो लिबर्टी (आरएफइ/आरएल) बन्द गर्नबाट अस्थायी रूपमा रोक लगाएका छन्।

मंगलवार दिउँसो अमेरिकी न्यायाधीश रोयस ल्याम्बर्थले अस्थायी प्रतिबन्ध आदेश जारी गर्दै ट्रम्प प्रशासनले समूहको बजेट कटौती गर्ने प्रयास “कुनै आधार वा तर्क बिना गरिएको” र सम्भवतः संघीय कानुनको उल्लङ्घन हुने भन्दै रोक लगाए।

“अमेरिकी ग्लोबल मिडिया एजेन्सी (युएसएजिएम – अमेरिकी बिश्व संचार निकाय ) को नेतृत्वले कुनै पर्याप्त व्याख्या नगरी मात्र एक वाक्यमा निर्णय गर्दै आरएफइ/आरएललाई बन्द गर्न बाध्य पार्न सक्दैन—चाहे राष्ट्रपतिले त्यस्तो आदेश दिएका भए पनि,” न्यायाधीश ल्याम्बर्थले लेखे।

उनी राष्ट्रपति रोनाल्ड रेगनद्वारा नियुक्त भएका थिए। यसै महिना, राष्ट्रपति ट्रम्पले अमेरिकी कानुनले अनुमति दिएको न्यूनतम स्तरमा मात्र कार्यहरू सीमित गर्न अमेरिकी ग्लोबल मिडिया एजेन्सी सहित विभिन्न संघीय निकायहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। रेडियो फ्री युरोप/रेडियो लिबर्टीले आफ्नो संघीय अनुदान समाप्त हुनबाट रोक्न गत साता ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया