अमेरिकामा आप्रवासन कारबाही तीव्र हुँदा संयुक्त राष्ट्रसंघका कर्मचारीलाई परिचयपत्र बोक्न सल्लाह

इनेप्लिज २०८१ चैत १२ गते २:०९ मा प्रकाशित

न्यूयोर्कमा रहेका संयुक्त राष्ट्रसंघका कर्मचारीहरूलाई अमेरिकामा आप्रवासन कारबाही तीव्र भएको कारणले आफू र आफ्नो परिवारको सुरक्षा सुनिश्चित गर्न आफ्नो राहदानी र युएन परिचयपत्र सधैं साथमा बोक्न सल्लाह दिइएको छ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान डुजारिकले यो सल्लाहको पुष्टि गर्दै यसअघि यस्तो कदम कहिल्यै नचालिएको स्मरण गरे।

डुजारिकका अनुसार यो सल्लाह “कर्मचारीहरूलाई ढुक्क पार्ने” उद्देश्यले दिइएको हो। “कर्मचारीहरूलाई आफ्नो पहिचान प्रमाणित गर्ने कागजात, जस्तै प्रवेशाज्ञासहितको तस्बिर भएको परिचयपत्र, साथमा राख्न सम्झाउनका लागि यो राम्रो अवसर हो,” उनले भने ।

गत शुक्रबार कर्मचारीहरूलाई पठाइएको बिधुतिय डाक (इमेल)मा उनीहरू र उनीहरूका परिवारले सधैं “कुनै न कुनै प्रकारको परिचयपत्र” साथमा राख्नुपर्छ भनिएको छ । त्यसमा युएन परिचयपत्र वा जी -४ प्रवेशाज्ञा (भिसा)सहितको राष्ट्रिय राहदानीको प्रतिलिपि समावेश गर्न भनिएको छ।

“यस्ता कागजात देखाउनुपर्ने सम्भावना न्यून भए पनि, सबैजना तयारी अवस्थामा रहून् भन्ने हाम्रो चाहना हो,” बिधुतिय डाकमा उल्लेख गरिएको छ। साथै, पक्राउ परेमा के गर्ने भन्ने निर्देशन पनि समावेश गरिएको छ।

प्रतिक्रिया