अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सबै आयातित गाडीमा २५% भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यसले केही हप्ताअघि लागू गरिएको अन्य शुल्कहरू पछि उत्पन्न भएको बजार अस्थिरतालाई थप उग्र बनाउँदै विश्वव्यापी व्यापार युद्धलाई अझ जटिल बनाएको छ। ट्रम्पले भने, “हाम्रो गाडी निर्माण उद्योग पहिलेभन्दा अझ राम्रो प्रगति गर्नेछ।”
अमेरिकामा करिब १० लाखभन्दा बढी कामदार रोजगारीमा संलग्न अटो उद्योगलाई लक्षित गरिएको यस कदमले उपभोक्ताहरूका लागि गाडीको मूल्य महँगो बनाउने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन्।
यसअघि मेक्सिको र क्यानडाबाट हुने गाडी आयातमा पनि ट्रम्पले २५% शुल्क लगाएका थिए तर केही समयपछि त्यसमा ढिलाइ गरेका थिए। बुधबार दिउँसो ह्वाइट हाउसकी प्रेस (छापा) सचिव क्यारोलिन लेभिटले नयाँ वाहन शुल्कबारे जानकारी दिएपछि एकाएक शेयर बजार घट्न थालेको छ ।
डाउ औसत १३० अंक(०.३%) ,एस एण्ड पि १.१% तथा नासडाकको शेयर (अंश )२% गिरावट आएको छ । त्यस्तै टेस्लाका शेयरहरू ५.५% ले घटेको छ भने जेनेरल मोटर्सको पनि ३% ले शेयर घटेको छ ।
मेक्सिको र क्यानडा अमेरिकी सवारी साधन र गाडीका भाग(पार्ट्स )आयातका मुख्य साझेदार हुन्। २०२३ मा मात्र यी दुई देशहरूले १२० बिलियन डलरभन्दा बढीका गाडी तथा सवारी साधन पार्ट्स(पाटपूर्जा) अमेरिका पठाएका थिए।
ट्रम्पले आगामी अप्रिल २ मा थप शुल्कहरूको घोषणा गर्ने तयारी गरिरहेका छन् । जसलाई उनले “मुक्ति दिवस” भनेर सम्बोधन गरेका छन्।
हालैका अघिल्ला कदमहरूमा चीन, युरोपेली संघ , र क्यानडाले प्रतिशोधस्वरूप अमेरिकी सामानमा पनि शुल्क वृद्धि गरेका छन्, जसले बजार अस्थिरता र सम्भावित मन्दीको चेतावनी जन्माएको छ।
प्रतिक्रिया