लिथुएनियामा सैनिक अभ्यासका क्रममा चार अमेरिकी सैनिकको मृत्यु

इनेप्लिज २०८१ चैत १३ गते ०:२४ मा प्रकाशित

लिथुएनियामा सैनिक अभ्यासका क्रममा चार अमेरिकी सेना सैनिकको मृत्यु भएको छ । नेटोका महासचिव मार्क रुट्टेले बुधबार पोल्याण्डमा पत्रकारहरूसँग कुरा गर्दै पुष्टि गरेका छन्। भिल्नियसस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा चार सैनिक अभ्यासका क्रममा हराएको जानकारी दिँदै बाल्टिक राष्ट्रको सेना र प्रहरीलाई खोजीमा सहयोग गरेकोमा धन्यवाद प्रकट गरिएको थियो।

एपीका अनुसार एक अमेरिकी अधिकारीले ती चार सैनिकहरू प्रशिक्षणका क्रममा भएको दुर्घटनामा परेको मात्र बताएका छन् ।

“लिथुएनियामा चार अमेरिकी सैनिकको मृत्यु भएको खबर आयो,” रुट्टेले वारसामा पत्रकारहरूलाई भने। “यो प्रारम्भिक समाचार हो, त्यसैले विस्तृत जानकारी अझै थाहा भएको छैन। यो साँच्चै दुःखद खबर हो, र हामी मृतक सैनिकका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दछौं।”

अमेरिकी दूतावासले सामाजिक सञ्जालमा प्रकाशन गर्दै सैनिकहरू लिथुएनियाको पूर्वी सिमानासँगै रहेको पाब्राडे नजिकको एक अभ्यास क्षेत्रबाट हराएको जानकारी दिएको थियो। यो क्षेत्र बेलारुसको नजिक पर्छ, जुन रुससँग नजिकको साझेदार राष्ट्र हो। सैनिकहरू कहिले हराए भन्नेबारे दूतावासले कुनै विवरण दिएको छैन ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, “ती सैनिकहरू सबै प्रथम वाहिनी तथा तृतीय पैदल फौज बिभाग का हुन् र घटना भएको समयमा तय कार्यक्रम अनुसारको सामरिक प्रशिक्षण गरिरहेका थिए।” लिथुएनियाको समाचार संस्था ‘डेल्फी’का अनुसार ती सैनिकहरू एक सवारी साधनसहित हराएका थिए ।

प्रतिक्रिया