हटाईएका स्मारक पुनर्स्थापना गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन दिएका छन् ।
एबिसीन्यूजका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार गोप्य रूपमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसमा संघीय निकायहरू र स्मिथसोनियन संस्थालाई सङ्ग्रहालयहरू र राष्ट्रिय उद्यानहरूबाट “विभाजनकारी” र “अमेरिका विरोधी” सामग्री हटाउन निर्देशन दिएको छ।
“अमेरिकी इतिहासमा सत्य र स्थिरता पुनर्स्थापन” शीर्षकको यो आदेशले उपराष्ट्रपति र आन्तरिक विभागका सचिवलाई पछिल्लो पाँच वर्षमा गलत रूपमा हटाइएका वा परिवर्तन गरिएका संघीय पार्कहरू, स्मारकहरू, स्मृतिचिह्नहरू र मूर्तिहरू पुनःस्थापित गर्न निर्देशन दिएको छ ।
इतिहासलाई तोडमोड गरी प्रस्तुत गर्ने वा केही ऐतिहासिक पात्रहरू वा घटनाहरूको महत्त्वलाई न्यून गर्नेमाथि रोक लगाउने उद्देश्य लिएको छ,ट्रम्पको आदेशमा भनिएको छ ।
यसका साथै यो आदेशले उपराष्ट्रपति जेडी भान्स जो स्मिथसोनियन समितिका सदस्य समेत हुन्, उनलाई स्मिथसोनियनका सङ्ग्रहालयहरू, शैक्षिक र अनुसन्धान केन्द्रहरू, तथा राष्ट्रिय संग्रहालयबाट पनि विभाजनकारी र अमेरिकाविरोधी विचारधारा हटाउन समेत उनलाई निर्देशन दिएको छ। आदेशले इतिहासको सही र सकारात्मक चित्र प्रस्तुत गर्दै राष्ट्रको परम्परा, स्मारक र इतिहासको रक्षा गर्ने सन्देश दिन खोजेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया