राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार संघीय कर्मचारी यूनियनहरूविरुद्ध आफ्नो अहिलेसम्मकै ठूलो कदम चालेका छन्। उनले राष्ट्रिय सुरक्षासम्बन्धी कार्यमा संलग्न सरकारी कर्मचारीहरूको सामूहिक सौदाबाजी अधिकार समाप्त गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
यो आदेश राज्य, रक्षा, न्याय, स्वास्थ्य तथा मानव सेवा विभागहरू लगायत धेरै संघीय निकायहरूमा लागू हुनेछ। यसले रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी ), संघीय सञ्चार आयोग (एफसिसि) तथा अमेरिकी आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आइसिइ) लाई पनि प्रभावित पार्ने छ ।
ह्वाइट हाउसले जारी गरेको विवरणमा भनिएको छ, “राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षाको रक्षा गर्न उत्तरदायी र जवाफदेही नागरिक सेवा आवश्यक छ।”
आदेशले ट्रम्पको नीति अवरोध गर्ने संघीय संघ (यूनियन)हरूलाई रोक्न खोजेको उल्लेख गरिएको छ। विवरणअनुसार अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट एम्प्लोइज (एएफजिइ) लगायतका संघहरूले धेरै उजुरी दायर गरी ट्रम्पको कार्यसूची (एजेन्डा)लाई अवरुद्ध गर्न प्रयास गरिरहेका थिए।
“राष्ट्रपति ट्रम्पले संघ (यूनियन)का अवरोधहरूलाई अमेरिकी सुरक्षा र राष्ट्रिय चासोको रक्षामा हस्तक्षेप गर्न दिन्नन्,” विवरणमा भनिएको छ। ट्रम्पले १९७८ को निजामती सेवा सुधार ऐन(सिभिल सर्भिस रिफर्म ऐन)बाट प्राप्त अधिकारको प्रयोग गरिरहेका छन्।
कर्मचारी व्यवस्थापन कार्यालयद्वारा जारी निर्देशनअनुसार, अब आदेश लागू हुने निकायहरूले संघीय संघहरूसँग सामूहिक सौदाबाजी गर्नु नपर्ने भएको छ। यसले पूर्व सम्झौतामा भएका सामूहिक सौदाबाजीका प्रावधानहरूको बेवास्ता गर्दै कर्मचारी कटौती कार्यान्वयन गर्न सक्ने बताइएको छ।
अमेरिकी सरकारी कर्मचारी संघका अनुसार यसले ८ लाखभन्दा बढी कर्मचारीहरूलाई प्रतिनिधित्व गर्छ । र ,यस कदमको कडा आलोचना गर्दै यसले १० लाखभन्दा बढी संघीय कर्मचारीहरूको अधिकारलाई असर पुर्याउने बताएको छ ।
ट्रम्पले पद सम्हालेदेखि नै संघीय कर्मचारीतन्त्रलाई परिवर्तन गर्ने प्रयास गरिरहेका छन्। उनले सुरुमा सरकारी कर्मचारीहरूको दूरप्रणालीबाट काम गर्ने अभ्यास (टेलिवर्क) अधिकार समाप्त गरेका थिए। यसका अतिरिक्त निकायहरूलाई यूनियनहरूका सामूहिक सौदाबाजी सम्झौताहरूलाई नबुझी आफ्नो कार्यालयमा फर्किने आदेश जारी गर्न निर्देशन दिइएको थियो।
यसै महिनाको सुरुमा अमेरिकी गृह विभागले विमानस्थलका हजारौँ सुरक्षा अधिकारीहरूका सामूहिक सौदाबाजी अधिकार खारेज गर्ने घोषणा गरेको थियो।
संघीय यूनियनहरूले यस कदमविरुद्ध प्रतिरोध गरिरहेका छन्। अमेरिकी सरकारी कर्मचारी संघका र अन्य संघहरूले दायर गरेका मुद्दाहरूले प्रशासनको कर्मचारी कटौती र अन्य विवादास्पद योजनाहरूलाई केही समयका लागि रोक्न सफल भएका छन्।
प्रतिक्रिया