संघिय न्यायाधीश बोस्बर्गद्वारा ट्रम्प प्रशासनको देश निकाला उडानहरू माथी लगाईएको रोक लम्ब्याए

इनेप्लिज २०८१ चैत १४ गते १९:४२ मा प्रकाशित

अमेरिकी प्रमुख संघीय न्यायाधीश जेम्स बोस्बर्गले ट्रम्प प्रशासनद्वारा भेनेजुएली आप्रवासीहरूलाई “विदेशी शत्रु” मानेर तीव्र रूपमा देश निकाला गर्ने योजनामा रोक लगाएका छन्। उनले यो अस्थायी रोक (टेम्पोररी रिस्ट्रेनिङ अर्डर) लम्ब्याउँदै कम्तीमा अप्रिल १२ सम्मका लागि देश निकाला उडानहरूलाई स्थगन गरेका हुन्।

उनको आदेशमा न्यायाधीश बोस्बर्गले ट्रम्प प्रशासनले निष्काशन प्रक्रिया तत्काल पुनः सुरु गर्ने योजनाले “न्यायिक हस्तक्षेपको आवश्यकतालाई झन् प्रष्ट बनाएको” बताएका छन्। यो कदमको उद्देश्य देश निकाला प्रक्रिया पुनः सुरु गर्नुअघि कानुनी मूल्याङ्कन सुनिश्चित गर्नु हो,उनले भने ।

यो मामलामा प्रयोग भएको बिदेशी शत्रु ऐन सन् १७९८ मा पारित गरिएको थियो, जसले युद्ध वा द्वन्द्वको समयमा शत्रु राष्ट्रका मानिसहरूलाई अमेरिका छाड्न बाध्य पार्न सरकारलाई अधिकार दिन्छ।

तर, भेनेजुएली आप्रवासीहरूमा यस ऐनको प्रयोग विवादास्पद बनेको छ। कानुनी प्रक्रिया बिना उनीहरूलाई जबर्जस्ती देश निकाला गर्दा मानवअधिकार हनन हुने र भेनेजुएलाको संकटपूर्ण अवस्थाका कारण उनीहरूको जीवनमा गम्भीर असर पर्न सक्ने छ ।

न्यायाधीश बोस्बर्गको आदेशले कानुनी मापदण्ड पूरा नभएसम्म प्रशासनलाई देश निकाला स्थगन गर्न बाध्य बनाएको छ।

प्रतिक्रिया