ट्रम्प प्रशासनद्वारा युएसएआइडि पुनःसंरचनाका लागि अमेरिकी कांग्रेसलाई स्वीकृतिको लागि अनुरोध

इनेप्लिज २०८१ चैत १४ गते २२:२३ मा प्रकाशित

डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय सहायता निकाय (युएसएआइडि )लाई पुनःसंरचनाका लागि कांग्रेससँग औपचारिक रूपमा अनुरोध गरेको छ।

अमेरिकी अन्तर्राष्ट्रिय सहायता निकाय( युएसएआइडि)कंग्रेसको एक ऐन अन्तर्गत स्थापित गरिएको थियो। तर, शुक्रबार, विदेश सचिव मार्को रुबियोले एक सूचना जारी गर्दै ट्रम्प प्रशासनले निकायका स्वतन्त्र कार्यहरूलाई कार्यकारी नियन्त्रणमा रहेको विदेश बिभागमा समाहित गर्ने संकेत दिएका छन्।

“हामी हाम्रा विदेशी सहायता कार्यक्रमहरूलाई अमेरिकाका नागरिकहरूको हितमा सिधा मेल खाने तर्फ पुनःनिर्देशित गर्दैछौं,” रुबियोले सामाजिक संजालमा भने। “हामी जीवन रक्षाका आवश्यक कार्यक्रमहरूलाई निरन्तर गर्दैछौं र रणनीतिक लगानी गर्दैछौं जसले हाम्रा साझेदारहरू र हाम्रो आफ्नै देशलाई सुदृढ बनाउँछ।”

ट्रम्प प्रशासनले संयुक्त राष्ट्रका विभिन्न सहायता र पुनःसंरचनाका कार्यक्रमहरूको पुनःपरीक्षण गर्न थालेको अल जजिराले जनाएको छ ।

यस योजनामा प्रमुख तत्व भनेको अमेरिकी विदेशी सहायता एजेन्सी (युएसएआइडि) लाई विदेश बिभाग (स्टेट डिपार्टमेन्ट)मा समाहित गर्नु हो। ट्रम्प प्रशासनका यस्ता कदमहरुले प्रशासनलाई अत्यधिक विवादास्पद बनाई रहेको छ । आलोचकहरूले यसलाई संविधानको उल्लङ्घन र प्रमुख निकायहरूलाई कमजोर पार्ने कदमका रूपमा हेरिरहेका छन्।

अमेरिकी विदेशी सहायता निकाय (युएसएआइडि) १९६१ मा कंग्रेसद्वारा स्थापना भएको थियो । र, यो संसारभरि विकास र मानवीय सहायता प्रवाह गर्ने प्रमुख निकाय थियो। तर, ट्रम्प प्रशासनको योजना अनुसार निकायका कार्यहरूलाई स्टेट डिपार्टमेन्ट(विदेश बिभाग)मा समाहित गरिनेछ । युएसएआईडिका स्वतन्त्र कार्यहरू क्रमशः हटाइने छन्।

विदेश बिभाग (स्टेट डिपार्टमेन्ट)का प्रवक्ता ट्यामी ब्रुसले यस्ता पुनःसंरचनाहरूका बारेमा जानकारी दिँदै भनिन् “हामी युएसएआइडिका केही कार्यहरूलाई पुनःसंरचित गर्दै, जुलाई १, २०२५ सम्म ती कार्यहरूलाई विदेश बिभाग (स्टेट डिपार्टमेन्ट)मा समाहित गर्नेछौं।” उनले अगाडी भनिन् , यो कदम अमेरिका र यसको नागरिकको हितमा गरिएको हो र अन्तर्राष्ट्रिय संकटका समयमा विदेशबाट सहायतामा कुनै असर पर्ने छैन।

तर, ट्रम्प प्रशासनका आलोचकहरूले यस कदमलाई सत्ताको दुरुपयोग र विदेशी सहायता कार्यक्रमहरूको व्यवस्थापनमा कमजोर बनाउनको प्रयास भनेर आरोप लगाएका छन्। उनका अनुसार युएसएआइडि जस्ता निकायहरूले अमेरिका र अन्य देशहरूका बीचमा विश्वास र सहकार्यको मर्मलाई कायम राखेका छन्।

ट्रम्प प्रशासनको निर्णयसँगै युएसएआइडिको कर्मचारी संख्या घटाइएका छन्। फेब्रुअरीमा लगभग १,६०० कर्मचारीलाई जागिरबाट हटाइएको थियो, र अहिले बचेका कर्मचारीहरूलाई लामो समयसम्म बिदामा पठाइँदा कार्यालयहरू पनि बन्द गरिएको छ।

यो पुनःसंरचना अमेरिका र अन्तर्राष्ट्रिय सहायता प्रणालीमा केहि महत्वपूर्ण परिवर्तनहरूको संकेत हो र यसका दीर्घकालीन प्रभावहरू कस्तो हुनेछन् भन्ने कुरा हेर्न बाँकी छ।

प्रतिक्रिया