संघीय जिल्ला न्यायाधीश एमी बर्मन ज्याक्सनले शुक्रबार एउटा प्रारम्भिक आदेश जारी गर्दै ट्रम्प प्रशासनलाई उपभोक्ता वित्तीय संरक्षण ब्युरो (सिएफपिबि ) विघटन गर्नबाट रोक लगाएकी छन्।
“अदालतले आँखा चिम्लिन सक्दैन, किनकि सिएफपिबि करिब ३० दिनभित्र पूर्ण रूपमा विघटन हुने थियो, यो मुद्दाको अन्तिम निर्णय आउनु अघि नै,” उनले ११२-पृष्ठ लामो फैसलामा लेखेकी छन्।
यो आदेशले मुद्दाको अन्तिम समाधान नभएसम्म सिएफपिबिलाई कायम राख्नेछ। यसले निकायका सम्झौता, कर्मचारीहरू, तथ्याङ्क र संचालनात्मक क्षमताहरूलाई पुनःस्थापना गर्ने पनि व्यवस्था गरेको छ।
ज्याक्सनले अगाडी भनिन् ,अदालतको आदेश बिना ट्रम्प प्रशासनले २००८ को आर्थिक संकटपछि कंग्रेसद्वारा स्थापना गरिएको उक्त एजेन्सीलाई छिट्टै बन्द गर्ने थियो।
“यदि प्रतिवादीहरूलाई रोकिएन भने, उनीहरूले अदालतले कानुन अनुसार यसलाई बन्द गर्न मिल्छ कि मिल्दैन भन्ने निर्णय लिने मौका नपाउँदै निकायलाई समाप्त गर्नेछन्,” उनले भनिन्।
एजेन्सी(निकाय)भित्रको अराजकता :
मार्च १० मा सुनुवाइका क्रममा न्यायाधीश ज्याक्सनले निकायमा उत्पन्न भएको अराजकताको विवरण सुनेकी थिइन्। सिएफपिबिका प्रमुख परिचालन अधिकारी एडम मार्टिनेजले भने, “फेब्रुअरी १ मा राष्ट्रपति ट्रम्पले निकायका पूर्वनिर्देशक रोहित चोपरालाई हटाएपछि एजेन्सी ‘बन्द हुने अवस्थामा’ मा थियो।”
त्यसपछि ट्रम्पले अस्थायी प्रतिस्थापन नियुक्त गरे, जसले तत्काल सबै कार्यक्रमहरू स्थगित गरिन् । र, १०० मिलियनका सम्झौता रद्द गरिन्, र ७० कर्मचारीलाई बर्खास्त गरिन्।
मार्टिनेजका अनुसार, हालका नेताहरूले सुरुमा अपनाएको हतारो शैलीभन्दा अहिले बढी व्यवस्थित तरिकाले काम गर्दैछन्। इलन मस्कको सरकारी दक्षता बिभागका प्रतिनिधिहरूले वाशिंगटनमा रहेको मुख्यालयमा आगमन गरेपछि परिस्थिति थप तनावपूर्ण बनेको थियो।
सिएफपिबिको भूमिका र विवाद :
सिएफपिबि उपभोक्ताहरूलाई वित्तीय ठगी र भ्रामक अभ्यासबाट जोगाउन जिम्मेवार छ। यसले उपभोक्ता गुनासाहरू समाधान गर्ने र विद्यार्थी ऋण लिनेहरूलाई सुरक्षित राख्न बैंकहरूको अनुगमन गर्ने कार्य गर्दछ।
फेब्रुअरी ९ मा सिएफपिबिका १,००० भन्दा बढी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने राष्ट्रिय कोष कर्मचारी संघले सामूहिक बर्खास्ती रोक्न मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा वादीका वकिलहरूले प्रशासनलाई कंग्रेसद्वारा कानुनी रूपमा स्थापना भएको एजेन्सीलाई समाप्त गर्ने संवैधानिक अधिकार छैन भनि दाबी गरेका छन् ।
वादीमध्ये ८३ वर्षीया एभा स्टिज नामकी एक वृद्ध पादरी थिइन्, जसले आफ्नो विद्यार्थी ऋण समस्यामा सिएफपिबि सँग सहयोग गरिरहेकी थिइन्। निकायले उनलाई ऋण माफी र १५,००० डलर फिर्ता पाउन योग्य ठहर गरिसकेको थियो, तर काम बन्द (स्टप-वर्क) आदेशका कारण उनको पुनः बैठक हुन सकेन, किनकि उनलाई सहयोग गर्ने अधिकारीलाई बर्खास्त गरिएको थियो।
प्रतिक्रिया