हिजो काठमाडौं तीनकुनेमा जे जस्तो घटना घट्यो झ्वाट्ट हेर्दा र सुन्दा अप्रत्याशित लागेतापनी यथार्थमा भने त्यो आफैंमा एउटा स्वाभाविक परिघटना थियो। त्यो किनभने उक्त कार्यक्रमका कमान्डर दुर्गा प्रसाईले कार्यक्रमका बारेमा केही दिन अघि देखि दिँदै आएका उत्तेजक अभिव्यक्ति र सामाजिक संजाल मार्फत गरेका मान्छे भड्काउने प्रचारबाजीलाई सरकारले नजरअन्दाज मात्र गरेन उनको क्रियाकलापलाई सामान्य निगरानी गर्न पनि आवश्यक ठानेन। परिणामत उनी आफ्नो लक्ष्यमा सफल भए, राजा ल्याउने आन्दोलनलाई उचाईमा पुर्याएरै छाडे। तसर्थ, दुर्गा प्रसाईंले जे बोले पनि छुट र जे गरे पनि माफी दिने सरकारी रवैया आफैंमा पूर्णतः जिम्मेवार छ – काठमाडौं तीनकुने घटनामा।
काठमाडौंमा जुलुस निकालेर, र्याली गरेर, आम सभामा डुक्रेर, राजालाई देशब्यापी भ्रमणमा गराउँदै मान्छे ओसारेर जयजयकार गराएकै भरमा राजाको पुनर्स्थापना हुन सक्दैन भन्ने कुरा जति सत्ताधारी दल र गणतन्त्रबादी नेता कार्यकर्ताहरुले बुझेका थिए त्यो भन्दा बढी दुर्गा प्रसाईंलाई त्यस मामिलामा बखुबी ज्ञान थियो। त्यसैले उनी शान्तिपूर्ण आन्दोलन हैन, वारपारको लडाइँ चाहन्थे र आन्दोलनलाई उग्र बनाउन र हिंसात्मक बनाउन व्यग्र थिए।
चैत १५ गतेको कार्यक्रमका बारेमा उनले दिएको एकदुई दिन अघिको अभिव्यक्तिलाई हेर्ने हो भने उनले नेताको घरघरमा घुस्ने, उनीहरुलाई घर भित्रबाट घिसारेर सडकमा ल्याउने मात्र भन्न भ्याएका थिएनन् आन्दोलनमा सरिक हुनेहरु मध्ये सहिद हुन तयार हुनेको नामलिस्ट नै तयार गरेको प्रचाबाजी अमेत गर्न भ्याएका थिए। तर उनको त्यो उग्रता, अराजकता र उशृंखलतालाई सरकारले सुनेको नसुन्यै गरेर बस्यो, उनको क्रियाकलापलाई पूर्णतः बेवास्ता गरेर बस्यो। त्यसैको फाईदा उठाउँदै प्रसाईले हिजो काठमाडौंमा बितण्डा मच्चाए। सबै कुरा बितिसकेपछी सरकारले अब न्याउरी मारी पछुतो गरेर के गर्ने ?
आन्दोलनको नाममा काठमाडौं तीनकुने आसपास जे जस्तो घटना घट्यो त्यो सबै घटनाको प्रकृतिलाई सरसर्ती हेर्ने हो भने त्यो आकस्मिक वा स्वतस्फूर्त भएको भन्ने र मान्ने ठाउँ नै छैन। झडप हुन्छ तिनकुनेमा अनि एउटै टाईम फ्रेम भित्र बिमानस्थलमा हमला हुन्छ। भाटभटेनीमा लुटपाट हुन्छ। जडिबुटीको सरकारी औसधि उत्पादन केन्द्रमा आगजनी हुन्छ। माधवकुमार नेपाल नेतृत्वको समाजबादी पार्टी कार्यालय तोडफोड हुन्छ। माओवादी पार्टी कार्यालय पेरिस डाँडा घेराउ गरिन्छ। माधवकुमार नेपालको घर भित्र घुस्न खोजिन्छ। एमालेको पार्टी अफिसमाथी आक्रमण प्रयास हुन्छ। मिडिया हाउसहरुमाथी धावा बोलिन्छ। जनताको घरमा आगजनी गरिन्छ। सडकपेटीका जनताको सवारी साधन सुनियोजित तरिकाले तोडफोड गरिन्छ। तर बिडम्बना, झडप भएको ठाउँमा न नेता देखिन्छन् न त आन्दोलनलाई लिड गर्ने कमान्डर नै । तैपनी एकपछी अर्को क्रमशः छानीछानी चुनिचुनी फरक फरक ठाउँमा एक्कसी, अकस्मात धावा बोल्न कसरी संभव छ ? घटना प्रकृतीले स्पष्ट गरेको छ – घटना नियोजित थियो, प्रायोजित र पूर्वनिर्धारित नै थियो।
आन्दोलनकर्ताहरु बिशेष गरि दुर्गा प्रसाईको समुहले को मान्छे कहाँ कतिखेर पुग्ने र कसले कतिखेर कहाँ के गर्ने भन्ने निश्चिति गरेको र तयारीका साथ त्यहाँ पुगेर काम फत्ते गरेको बुझ्न कुनै माथापच्ची गरिरहनै पर्दैन। निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहसंग कानेखुसी गरेपछी आफैं तीनकुने पुगेर उपद्रव मच्चाउन उत्ताउलो बनेका दुर्गा प्रसाईंको हर्कत कसैबाट छिपेको छैन। घटना विवरणबाट त्यो सबै खुलस्त भएको छ। त्यो सबैले सहजै बुझ्न सक्ने ओपन सेक्रेट नै हो।
तर बिडम्बना, एउटा सर्वसाधारण मान्छेले पनि सजिलै बुझ्ने उक्त घटना प्रकरणलाई सरकारले बेलैमा बुझ्न सकेन, गृह प्रशासन लाटाले पापा हेरेझैं हेरेको हेर्यै भयो। सबैभन्दा आश्चर्य त के भने प्रहरीको दुई दुईवटा सुरक्षा घेरा तोडेर ज्यानै मार्ने उदेश्य बोकेर प्रहरिमाथी गाडी हुँईकाउँदै निषेधित क्षेत्र तोडेर अगाडि बढ्ने आतंक मच्याउने दुर्गा प्रसाईलाई पछ्याउन र उनीमाथी सामान्य निगरानी राख्न समेत नेपाल प्रहरी असमर्थ रह्यो, किन ?
राजालाई देशब्यापी भ्रमणमा गराउँदै मान्छे ओसारेर जयजयकार गराएकै भरमा राजाको पुनर्स्थापना हुन सक्दैन भन्ने कुरा जति सत्ताधारी दल र गणतन्त्रबादी नेता कार्यकर्ताहरुले बुझेका थिए त्यो भन्दा बढी दुर्गा प्रसाईंलाई त्यस मामिलामा बखुबी ज्ञान थियो।
घटानाले गम्भीर रुप लिईसकेपछी, एकजना पत्रकार र एकजना प्रदर्शनकारी गरि दुईजनाको ज्यान गईसकेपछी, सर्वसाधारण जनताको घरमा आगजनी र धनजनको क्षती भएपछी, सरकारी अड्डा र व्यापारी केन्द्र लुटिएपछी, सर्वसाधारण जनताको निजि सवारीसाधन तोडफोड गरिएपछि, सरकारी साधन र स्रोत ध्वस्त पारेपछि मात्र झल्यास्स ब्युँतिएको सरकारले हतार हतार मन्त्रीहरुको बैठक डाक्यो र आन्दोलनकारी केही नेताहरूलाई गिरफ्तार गर्ने निर्णयमा पुग्यो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, धवल शम्सेर राणा, सामाजिक अभियन्ता स्वागत नेपाल लगायत १८ जनालाई हतार हतार गिरफ्तार गरेको नेपाल सरकारले तिनकुने घटानाको मुख्य योजनाकार दुर्गा प्रसाईलाई छुन त के उनको छायाँलाई पनि भेट्टाउन सकेको छैन। सरकारी सुरक्षाकर्मी नेपाल प्रहरी र सिबिआईको खुस्किएको धोती अब कसले समाई दिने ?
हैन यो घटना जनताको निराशा, दलहरु प्रतिको उदासिनता र बेरोजगार जत्थाको उदण्डता मात्र हो भनेर यसो एकदुई दिन कर्फ्यु लगाउने, सेनाको गाडी र एकदुई वटा टयांक गुडाएर सडकमा रमिता देखाउने अनि एकाध दर्जन नेतालाई धरपकड गरेर राजाबादी नेताहरुलाई प्रहरी परिसर महाराजगन्जमा राखेर मेहमाननवाजी मात्र गरेर जनताको आँखाको धुलो छ्याप्ने हो भने भोलिका दिनमा अरु धेरै दुर्गा प्रसाईं जन्मने छ्न् अनि ती सबै दुर्गा प्रसाईहरु एकैस्वरमा एकैपटक सडकमा आज जस्तै ओर्लिएर ताण्डव मच्चाउन थाले भने स्थिति कति भयावह होला ? त्यसको जिम्मेवारी कसले बोक्ला ?
मुकुक यतिखेर निकै गम्भीर परिस्थितिबाट गुज्रिरहेको बेला दुर्गा प्रसाईसंगै बसेर हिजोका दिनमा मार्सी चामलको भात खाने मध्यका एकथरीले सरकारको नेतृत्व गरिरहेको र अर्कोथरी प्रतिपक्षीको नाईके भई टोपलेको अबस्थामा दुर्गा प्रसाईंमाथी दया जागेर वा करुणा लागेर उनीहरू एक आपसमा चोर पुलिसको लुकामारी खेलेर बस्ने गल्ती उनीहरू मध्ये कुनै एक पक्षले पनि नगरुन्। आन्दोलनको नाममा तीनकुनेमा जे जस्तो घटना घटाईयो त्यो अराजकता अक्षम्य छ। सरकारले आँखा चिम्लने काम नगरोस्। धेरै गल्ती दुर्गा प्रसाईको नै हो र छ। उसका सबै हर्कतहरुलाई देखेको नदेखे झैँ गरेर बस्ने सरकारले अब उसको आँगमा हिंडेको जुम्रा खोज्न ढिलो नगरोस् अनि आफ्नै जिउको भैंसीलाई पनि राम्ररी देखोस्। सिंगो रोम जल्दा बाँसुरी बजाएर बस्ने राजा निरोको ब्यहोरा नदोहोर्याओस्।
पूर्व राजा नै सहि जनताले त्यसै अनुरुप एक किसिमको मान, सम्मान र सद्भाव ज्ञानेन्द्र शाह र उनको परिवार प्रती दर्शाए कै थिए तर उनले जसरी दुर्गा प्रसाईं जस्तो ब्यापारीक सुझबुझ र राजनीतिक संस्कार दुबै नभएको एउटा मौका परस्त चरम महत्वाकांक्षी उदण्ड ब्यक्तित्वमाथी बिश्वास गर्न पुगेका छ्न् त्यसबाट उनको बचेखुचेको पारिवारिक ईज्जत पनि सरेआम लिलाम हुन पुगेको छ।
दुर्गाप्रसाई दुर्गा प्रसाईँ जस्तो गुण्डागर्दीमा रमाउने एउटा बैंक डिफल्टर, अराजनीतिक, उदण्ड र अराजक चरित्र बोकेको टपरटुईयाँ पाखण्डीलाई आन्दोलनको कमाण्डर र दस दान गरेर काशी जाने बेला भएका नवराज सुवेदी जस्ता डेटएक्स्पाएर्ड पात्रलाई राजा ल्याउने आन्दोलनका संयोजक बनाएर ज्ञानेन्द्र शाहले आफ्नै खुट्टामा आफैंले बन्चरो हान्ने काम गरेका छ्न्।
मदन बस्नेत। टोरोन्टो
प्रतिक्रिया