नेपाल अमेरिका पत्रकार संघ (नेजा)को प्रेस विज्ञप्ति

इनेप्लिज २०८१ चैत १५ गते ९:४७ मा प्रकाशित

नेपालमा राजसंस्था पुनःस्थापनाको माग राख्दै राजावादीहरूको समूहद्वारा गरिएको आन्दोलनको रिपोर्टिङका क्रममा आगजनीमा परी एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको प्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) दुःख व्यक्त गर्दछ । नेजा स्व. रजकप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । यसैगरी, आन्दोलनका क्रममा पत्रकार दिनेश गौतममाथि भएको कुटपिट, अन्नपूर्ण मिडिया समूहको कार्यालय भवनमा तोडफोड तथा आगजनी, कान्तिपुर टेलिभिजन भवनमा गरिएको ढुङ्गामुडा र हिमालय टेलिभिजनको सवारीसाधनमा गरिएको तोडफोडप्रति नेजा गम्भीर आपत्ति प्रकट गर्दछ ।

नेपालको संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको अवस्थामा प्रेस जगत् नै असुरक्षित रहेको सन्देश प्रवाह गर्ने यस्ता अराजक गतिविधिको भर्त्सना गर्दै नेपाल सरकारलाई प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको संरक्षण र पत्रकारको जिउ-ज्यानको रक्षाका लागि गम्भीर बन्न पनि नेजा आग्रह गर्दछ । साथै, निर्भीक ढङ्गबाट पत्रकारिता गर्ने वातावरण निर्माणका लागि सम्बद्व सबै पक्षसँग नेजा हार्दिक अपिल गर्दछ । निर्भीक पत्रकारिताको सुनिश्चितता र नेपाली पत्रकारको सुरक्षाका सवालमा नेपाल पत्रकार महासंघसँग नेजा सँगै रहेको र महासंघले गर्ने कार्यक्रममा नेजाको ऐक्यबद्वता रहेको छ ।

यसैगरी, आन्दोलनका क्रममा ज्यान गुमाएका सविन महर्जनप्रति नेजा हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको नेजा कामना गर्दछ ।

बाबुराम दाहाल
महासचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ।

प्रतिक्रिया