लक्ष्मी श्रेष्ठ । आज आकाशलाई बादलले ढपक्कै ढाकेको छ। कतै पनि निलो आकाश देखिएको छैन। म संग सम्पूर्ण आकाश अनि सूर्यलाई पनि ढाक्ने सक्ने अद्भूत शक्ति छ भन्दै बादल गमक्क गम्किएको आभास हुन्छ। विचरा बादललाई के थाहा! त्यो उसको शक्ति क्षणिक मात्र हो भन्ने कुरा।
आज पनि काममा छुट्टी लिएकोछु।कामको केही चटारो छैन। घरका सबै परिवार आ-आफ्नै काममा ब्यस्तछन्। यसपाली त पुरै हप्ता नै ओछ्यानमा बित्यो। अब शरिरले नै नसकेपछि कसको के लाग्छ र? औछ्यानबाट उठेर आज पनि सिरानीको अडेस लगाएर छेउमै रहेको चियाको कप तानेर सुरुप्प चियाको सुर्को लगाउँदै झ्यालबाट नजर हुत्याउँछु।
सेभेन ट्रेन सयौं यात्रुहरुलाई पिठ्युमा बोकेर ऐःय्या पनि नभनि आफ्नै रफ्तारमा कुदीरहेछ। उसलाई कसैलाई कुर्ने, रोकिने फुर्सद छैन। उसलाई आफ्ना यात्रुहरुलाई आफ्नो गन्तब्यमा पुर्याउन संधै चटारो छ। उसले १० मिनेट मात्रै बिश्राम लियो भने पनि काममा सयौंजना यात्रीले आफ्नो हाकीमसंग आँखामा आँखा जुधाएर बोल्न सक्दैनन्। झन् अझै ट्रेन कुनै कारणले अचानक रोकियो भने त कर्मचारीहरुको जीवन कष्टकर हुनुको साथै कत्तिको तलब पनि काटीन सक्छ। न्युयोर्कमा त्यसमाथि हामी बसोबास गर्ने कुईन्स क्षेत्रमा सेभेन ट्रेनले कर्मचारीहरुको जीवनमा बडो महत्वपूर्ण भूमिका निभाएकोछ।
विचरा बादललाई के थाहा! त्यो उसको शक्ति क्षणिक मात्र हो भन्ने कुरा।
हुनत न्युयोर्क राज्यमा यानीकी न्युयोर्क शहरी क्षेत्रमा बसोबास गर्ने लाखौं कर्मचारीहरुको जीवनमा नै ट्रेनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस्तो सुबिधा पाउँदा पाउँदै पनि कयौं यात्रीहरु ट्रेनको पैसा जोगाउन ट्रेनको टिकट नै नघोटी केटाहरु टर्नस्टाइल बुरुक्क उफ्रीएर भित्र पस्छन् भने महिलाहरु टर्नस्टाइल मुनिबाट छिरेर ट्रेन चढ्छन्। पैसा बचाउन कयौं आप्रवासी यात्रुहरु एउटै टिकट काटेर एउटा यात्रु त्यही टिकट घोटेर पन्ध्र मिनेट अगाडि ट्रेन स्टेसनमा पसेर पर्खेर बस्छन् भने अर्कों पन्ध्र मिनेट पछि पसेर काममा जान्छन्। किनभने अनलिमिटेड ट्रेनको पास किनेपछि एकपटक घोटेको पन्ध्र मिनेट पछि मात्र फेरी घोट्न सकिन्छ। यहाँ मानिसहरुको सोचाई अपरम्पार छ। यी मान्छे भन्ने जातलाई ट्रेनको पैसा जोगाउने जुक्ति कति आउँछ कति?
ओहो! आज त चियामा चिनी पनि घोलिदिनुभएछ श्रीमानले।
सानी छँदा ग्लुकोज़, थिन आरारोट बिस्कुट, पब चियामा डुबाएर, चोपेर स्वाद लिई-लिई खाए जस्तो आज त धेरै समय पछि मैले बिस्कुट चियामा मजाले चोपेर स्वाद लिई-लिई खाएँ। साह्रै मिठो लाग्यो। धेरै समय भएको थियो चिनी राखेको चिया नपिएको पनि। अस्ति १३ तारीखबाट रक्तचाप बढेकोले ब्लड प्रेसर बढाउँछ भनेकोले कफी त सुंघ्न पनि पाएको छैन अझै। जब चियामा बिस्कुट चोपेर खाँदैथिए, सानी छंदा आमाको आँखा छलेर एभ्रीडे पाउडर दुधको फ्वाँक लगाउँदा आमा टुप्लुक्क आउनुहुँदा मैले मुख टप्प पारेको देखी आमा हास्दै अर्कोतिर फर्किनुभएको अनि कन्डेन्स मिल्क चम्चाले निकालेर चट्ट मुखमा हाल्दै चम्चा चाटेर मुख मिठ्याएको मिठो सम्झनाले एक्कैक्षण भएपनि मनलाई आत्मबिभोर पार्यो।
चिया बिस्कुट खाईसकेपछि यसो समाचारमा आँखा कुदाएको के थिएँ बैंगकक र बर्मामा त ७.७ रेक्टर स्केलको भूकम्प आएर बिचरा मान्छेहरुको भागाभाग पो हुँदैरहेछ। धन्य प्रभू! यस्तो प्राकृतिक बिपत्तिले पनि मान्छेको जीवनलाई तहस-नहस पारीदिएकोछ।
सन्. २०१५ मा नेपालमा गएको भूकम्प र त्यसपछि गएका आफ्टर सकहरुले अझै जनतालाई झसक-झसक निन्द्राबाट ब्युँझाईरहेको होला। धन्य प्रभू तिम्रो लिला पनि अपरम्पार छ।
मेरो देश र देशका सोझा-साझा निमुखा जनताहरुले कहिल्यै सुखको स्वाँस फेर्न पाउने भएनन्। एकातिर गणतन्त्रको नाममा सरकारको बर्बरता नालायकीपन अनि भ्रष्ट नेताहरुको छोरा, नाती र जन्मंदै नजन्मेका पनातीको लागि पनि धन थुपार्ने परिपाटीले दिन प्रतिदिन देश कंगाल हुंदै गैरहेको अबस्था। अर्कोतिर देशका बलिया जनशक्तिहरु आफ्नो देशमा कुनै भविष्य अनि केही अबसर नदेखेर भएको घर-जग्गा धितोमा राखेर दिन प्रतिदिन बिदेशिंदै गएको अबस्थाले देशको स्थिती दिन प्रतिदिन जिर्ण बन्दै गैरहेको अबस्थामा
आज भोलि त राजाबादी र गणतन्त्रबादीहरुको विच दोहरी खेलेजस्तो अनावश्यक मान्छेको भिडले सडक निक्कै तात्तिरहेको रहेछ।
त्यसमाथि झन् काठमाडौंको स्थिती त भयावह नै भएको रहेछ।
तिनकुनेमा र जरीबुटीमा त धुवाँको कुहिरो मण्डल नै पो लागेको रहेछ। जनताहरु त्यो धुवाँमा कति निस्सासेका होलान्। हेर्दा यस्तो लाग्थ्यो पूरै काठमाडौं धुवाँमा स्वाँस नै फेर्न नसकि निस्सासीरहेको छ। अझ कर्फ़्यू पनि रे। पुलिसले मात्रै नपुगेर आर्मी पनि पो खटिएको देख्दा त कता कता देशको स्थिती बंगलादेश, युक्रेन जस्तो हुन लागेको त हैन भन्ने त्रास पो लाग्यो।
बाटोभरी ढुंगै ढुंगाको बिस्कुन लागेको छ। विचरा किर्तिपुरको एउटा कल्कलाउँदो ठिटोले गोली खाएर ब्यर्थैमा ज्यान गुमाएछ। अर्को ३१ बर्षिय ठिटो एभिन्युज टेलिभिजनको पत्रकार अभिमन्यु जस्तै आगोमा घेरिएर निस्सासीएर ज्यान गुमाएछ। विचरालाई कत्ति पोल्यो होला? कत्ति छट्पटियोहोला?
भाईहरु, तिमीहरुले ब्यर्थ्यैमा ज्यान गुमाउन परेकोमा म अत्यन्तै दुःखी छु। तिमीहरुको आत्मालाई चीर शान्ति मिलोस् अनि बैकुण्ठ बास् होस्। यस दुःखद घडीमा तिमीहरुको सम्पूर्ण परिवारलाई श्री पशुपतिनाथले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनि प्रार्थना गर्दछौं।
हे भगवान! यी मर्न नसकेका भष्ट्र नेताहरु देश बेचेर घिच्न सम्म घिचेर मात्र नपुगेर किन सोझा-साझा जनताको काँधमा बन्दूक राखेर घिनलाग्दो राजनिती गर्छन्?
हे भगवान! यी मर्न नसकेका भष्ट्र नेताहरु देश बेचेर घिच्न सम्म घिचेर मात्र नपुगेर किन सोझा-साझा जनताको काँधमा बन्दूक राखेर घिनलाग्दो राजनिती गर्छन्? त्यो मारामारमा आफु त आलिशान महलमा बसेर आदेश जारी गर्ने न हुन्। ढुंगा पुलिसको गोली अनि टियर ग्याँस खाने, ब्यर्थ्यैमा ज्यान गुमाउने त तिनै बेरोजगार अनि ग़रीब जनताका छोरा-छोरी न हुन्। त्यो पुलिसलाई ढुंगा हानेर, बनेको बिकासका पूर्बाधारहरुलाई भत्काएर, सरकारी सम्पत्ति र विचरा जनताकै घरमा आगो लगाएर देशको स्थिती बदलिने वाला छ र? बि. सं. २०४६ मा हजारौं जनताको बलि चढाएर फालिएको राजतन्त्र हैन र? आख़िर के पाए त जनताले यो गाँढ तन्त्र हो कि भाँड तन्त्रबाट? खै! यी जनताले पनि किन बुझ्दैनन् यी कुराहरु? कि बुझेर पनि बुझ पचाउँछन्। म त केही बुझ्नै सक्दिन।
आखिर देशमा जे तन्त्र आवस् सोझा, साझा जनताको आँगमा कहिल्यै घाम लागेको छ र? चाहे जुन ब्यबस्था या जुन तन्त्रको पनि फाईदा लुट्ने भनेको त तिनै नेताको वरिपरी झिंगा भन्के झैं भन्केर नेताले रातोलाई यो कालो हो भन्दा हो हजुर अनि रातलाई दिन हो भन्दा पनि हो हजुर भनेर आफ्नो आत्मा बेचेर नेताको तलुवा चाट्न सक्ने चम्चाहरुले त हो। यो कुरा त छर्लंगै छ नि! यो देख्दा देख्दै पनि किन आफ्नै दाजु-भाई विच माराकाट गर्छन्?
आफु र सन्तानको पेट पाल्न ग़रीब जनता खाडीको तातोमा अलकत्रा पग्ले जस्तै पग्लन बिबश छन्। दिदी-बहिनीहरु पेट पाल्न बिदेशमा बेचिने क्रम डरलाग्दो छ।
बि. सं. २०४६ मा हजारौं जनताको बलि चढाएर फालिएको राजतन्त्र हैन र? आख़िर के पाए त जनताले यो गाँढ तन्त्र हो कि भाँड तन्त्रबाट? खै!
एउटा भिडिवमा देखें, नेता रबिन्द्र मिश्रहरुको आमसभामा कताबाट टियर ग्याँस आएछ। ख्वाक्कः खुक्क गर्दै सबै भागा-भाग गर्दैथिए। आफुहरुलाई त्यो अलिकति टियर ग्याँस सहन त्यत्ति गाह्रो हुन्छ भने जनताको छोरा-छोरीलाई पनि गाह्रो हुन्छ भनेर सोंच्नु पर्दैन।
ति नेता भनौदाहरुको हृदयमा दया, माया, बेदना र समबेदना भन्ने कुरा त रत्ति भर पनि नहुँदोरहेछ।
त्यसैले सम्पूर्ण आदरणिय दाजु-भाई तथा दिदी-बहिनीहरु हो, सबैजना सतर्क रहनुहोला। मेरो बिन्ति छ, यी पाषण हृदय बोकेका नेताहरुको लहलहैमा लागेर
आफु बलिको बोका नबन्नुहोला।
हे! आराध्यदेव पशुपतिनाथ हाम्रो देशमा शान्ति र अमनचयन कायम होस्। जनताले शान्तिको स्वास फेर्न पावस्।
जय आमा नेपाल।
लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्युयोर्क, यु.एस. ए.
प्रतिक्रिया