वाशिङ्टन राज्यको टकोमा शहरमा किशोरहरुको भोजमा गोलीकाण्ड, २ जनाको मृत्यु, ४ जना घाइते

इनेप्लिज २०८१ चैत १५ गते २१:१६ मा प्रकाशित

अमेरिकाको वाशिङ्टन राज्यको टकोमा शहर स्थित एक किशोरहरुले आयोजना गरेको भोजमा गोलीकाण्ड हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। यो घटना शनिबार मध्यरातपछि भएको हो।

पियर्स काउन्टी शेरिफको कार्यालयका अनुसार, भोजमा झगडा सुरु भएपछि स्थिति नियन्त्रणबाहिर पुगेको थियो। घटनास्थलमा ३० देखि ४० जना किशोरहरू दौडँदै र चिच्याउँदै भागिरहेका देखिएको बताइएको छ।

शेरिफ विभागको बयानअनुसार, “सडकमा झगडा भएपछि केही समयमै गोली चल्यो र मानिसहरू र गाडीहरू भाग्न थाले। त्यस क्रममा केही गाडीहरू छिमेकमा फसिरहेका थिए, र पुरै सडकमा अराजकता मच्चिएको थियो।”

प्रहरीले सडकमा गम्भीर अवस्थामा रहेका एक पुरुषलाई फेला पारे र तत्कालै उपचारका प्रयास गरे। तर उनलाई बचाउन सकिएन।

अन्य पाँचजना घाइतेलाई विभिन्न अस्पतालमा लगिएको थियो। तीमध्ये एक जनाले उपचारको क्रममा ज्यान गुमाए। बाँकी घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरू निको हुने अपेक्षा गरिएको छ। पीडितहरूको उमेर १६ देखि २१ वर्षबीच रहेको छ।

यस गोलीकाण्डमा संलग्न रहेको आरोपमा एक किशोरलाई पक्राउ गरिएको छ। शेरिफ विभागले घटनामा नजिकैका घर र सवारीसाधनमा समेत क्षति पुगेको बताएको छ। अनुसन्धान अझै जारी छ।

प्रतिक्रिया