ट्रम्पको पत्रपछि इरानद्वारा अमेरिकासंग प्रत्यक्ष वार्ता गर्न अस्वीकार

इनेप्लिज २०८१ चैत १६ गते १३:१३ मा प्रकाशित

तेहरानले अमेरिकासंग प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गरेको छ। राष्ट्रपति मसूद पेजेश्कियनले आइतबार जवाफ दिए । इस्लामिक गणतन्त्र इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना पठाएको पत्रको जवाफमा प्रत्यक्ष वार्ता अस्वीकार गरेको छ । ट्रम्पको पत्रमा इरानको तीव्र गतिमा अघि बढिरहेको आणविक कार्यक्रमबारे छलफल गर्ने प्रस्ताव राखिएको थियो।

पेजेश्कियनका अनुसार, ” प्रत्यक्ष वार्ताको सम्भावना अस्वीकार गरिएको छ, तर अप्रत्यक्ष वार्ताको बाटो खुला रहेको स्पष्ट गरिएको छ।” इरानको यो जवाफ ओमानमार्फत अमेरिकासम्म पुर्याइएको थियो।

यद्यपि, ट्रम्पले अप्रत्यक्ष वार्तालाई स्वीकार्ने वा अस्वीकार गर्ने भन्ने अझै स्पष्ट नभएको सिबिएसन्यूजले जनाएको छ । सन् २०१८ मा ट्रम्पले इरानसँग भएको आणविक सम्झौताबाट अमेरिकालाई हटाए देखि नै अप्रत्यक्ष वार्ताहरू असफल हुँदै आएका छन्।

यस महिनाको सुरुमा फक्सन्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पत्र लेखेको खुलासा गरेका थिए। उनले पत्रमा वार्ता गर्न आग्रह गर्दै यदि इरानले अस्वीकार गरेमा सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका थिए।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको बताउँदै आएको छ, तर अमेरिका र इजरायलले इरानलाई आणविक हतियार बनाउन नदिने बताउँदै आएका छन्।

संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्थाले दिएको पछिल्लो प्रतिवेदन अनुसार, इरानले उच्च स्तरको समृद्ध युरेनियम भण्डारण बढाएको छ। यसैबीच, खामेनीले अमेरिकालाई चेतावनी दिँदै भने, “यदि अमेरिकाले इरानविरुद्ध कुनै दुस्साहस गर्‍यो भने उसलाई कडा जवाफ दिइनेछ।”

प्रतिक्रिया