ट्रम्प पुटिनप्रति आक्रोशित, युक्रेनमा शान्ति स्थापनामा ढिलाइको आलोचना

इनेप्लिज २०८१ चैत १६ गते १९:२८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तुष्ट देखिएका छन्। उनले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि कटाक्ष गर्नु र शान्ति वार्तामा कुनै ठोस प्रगति नगर्नु आपत्तिजनक भएको बताएका छन्।

एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले यदि पुटिनले युक्रेनमा रक्तपात रोक्नका लागि उचित कदम नचालेमा अमेरिका रूसको तेलमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिए। उनले रूसी तेल खरिद गर्ने कुनै पनि देशलाई अमेरिकी बजारबाट प्रतिबन्ध लगाइने र २५% देखि ५०% सम्मको अतिरिक्त कर लाग्ने बताए।

ट्रम्प र पुटिनबीच गत साता कुराकानी भएको थियो, र दुबै नेता आगामी साता पुनः वार्तामा बस्ने तयारीमा छन्। ट्रम्पले भने, “यदि पुटिनले सही निर्णय गरे भने मेरो आक्रोश तुरुन्तै कम हुनेछ।”

यसैबीच, रूसले युक्रेनमा आक्रमण जारी राखेको छ। खार्किभमा रुसी मानव रहित यान (ड्रोन )हमलामा दुई जनाको मृत्यु र ३५ जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्की फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेटवार्ता गर्दै शान्ति वार्तालाई अघि बढाउने प्रयासमा छन्।

प्रतिक्रिया