प्रधानमन्त्री केपी शर्मा ओलीले तिनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चैत्र १५ गते तिनकुनेमा राजावादी समर्थकहरूले गरेको हिंसात्मक घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले उक्त आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताए। उनले पूर्वराजा शाहले पनि उन्मुक्ति नपाउने दावी गरे। ‘ आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन,पाउनु हुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन रु मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक,धनजनको क्षति र लुटापाट- शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?,’उनले भने,’ यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ ।’
उनले तत्कालीन राजा शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेको आरोप लगाए। प्रधानमन्त्रीले भने,”तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेका छन् । त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन विताउने,नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने,पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उनलाई नागार्जुन दरबार प्रयोग गर्न र उनको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको हो ।’
प्रधानमन्त्री ओलीले घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको बताए। यसका योजनाकार को हुन् र कोको संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको उनको भनाइ छ।
राजावादी समर्थकहरूले चैत्र १५ गते तिनकुनेमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा एकजना पत्रकारसहित दुईजनाको मृत्यु भएको छ। केही सञ्चारगृह,व्यक्तिगत तथा सरकारी सम्पत्तिमाथि क्षति पुगेको छ।
प्रतिक्रिया