अमेरिकी सुरक्षा तथा विनिमय आयोग (एसइसि) ले बिश्व कै धनाढ्य व्यक्ति तथा अमेरिकी सरकारी दक्षता विभागका प्रमुख इलन मस्कविरुद्ध १५० मिलियन डलरको मुद्दा जारी राख्ने भएको छ। मस्कमाथि २०२२ मा ट्विटर (हाल एक्स) को शेयर(अंश) खरिद गर्दा लगानीकर्तालाई भ्रममा पार्ने आरोप लागेको छ।
यो मुद्दा बाइडेन प्रशासनको अन्तिम समयमा जनवरी १४ मा दायर गरिएको थियो। अमेरिकी सुरक्षा तथा विनिमय आयो का प्रतिनिधिले मस्कलाई यसबारे सूचना पठाएका थिए, तर मस्कले सेवा प्रक्रिया वैध नभएको दाबी गरेका छन्।
सोमबार दायर गरिएको अदालती दस्तावेजअनुसार, मस्कले मुद्दामा औपचारिक प्रतिक्रिया दिन सहमति जनाएका छन्। अदालतको स्वीकृतिसँगै उनले जुन ६ भित्र आफ्नो जवाफ पेश गर्नुपर्नेछ। दस्तावेजमा भनिएको छ, “यो सम्झौताले न्यायिक स्रोतको संरक्षण गर्नेछ र उचित समाधान प्रदान गर्नेछ।”
यो मुद्दामा मस्कले पहिलो पटक अदालतको जवाफ दिनुपर्ने समयसीमा तोकिएको हो। यसबारे मस्कका वकिलहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।
मस्कले एसइसिको मुद्दालाई आलोचना गर्दै जनवरीमा एक्समा लेखेका थिए,”यिनीहरू यस्तो फजुल कुरामा समय बर्बाद गरिरहेका छन्, जबकि वास्तविक अपराधहरू सजायबिना छुटिरहेका छन्।”
प्रतिक्रिया