आजकल सोसल मिडिया प्रयोगकर्ता फेरिएका छन् । थाहा छैन नँया पुस्ता कुन सोसलमिडिया प्रयोग गर्छन् । पुराना पुस्ता अधिकांशले प्रयोग गर्ने चाहीं फेसबुक र टिकटक हो । केही विद्वान कहलिएकाहरू चाहीं ट्विटरमा आफ्ना बिचार लेख्ने गरेको पाउँछु ।
“ चिनी धेरै खायो भने तितो हुन्छ “ हो त्यस्तै हो सोसल मिडियाको प्रयोग पनि । मात्रा मिलाएर प्रयोग गर्नुपर्छ, कहिल्यै तितो अनुभव हुन्न । मलाई त सोसलमिडिया दुखसुख बिसाउने साझा चौतारी जस्तै लाग्छ ।
अरू जस्तै फुर्सदमा म पनि यसो फेसबुक र टिकटक चाहारी हाल्छु । एकजना साथीले फेसबुकमा पोष्ट गरेको एउटा नाचेको भीडियो देखें । राम्ररी दोहोराएर हेरेको त पोष्ट राख्ने साथी नै पो निक्कै मज्जाले नाचिरहेकी रहिछन् । उनलाई नाचेको देख्दा त स्कुल पढ्दाको दिनहरू पो याद आयो ।
स्कुल पढ्दा, केही असाध्यै राम्रो पढने साथीहरूका आमाबुबाले खेलकुद , नाचगानमा भाग लिंदा पढाई बिग्रन्छ भनेर कडा गरेर भाग लिनै दिंदैनथे। ती साथीहरू धेरै समय पढिमात्र रहन्थे । कोहीलाई टिचरले खेलकुद वा नाच गानमा छानेर राखेको रहेछन् र पढाई बिग्रियो भने बाउआमा टिचरसँग झगडा गर्नसम्म आउँथे ।
ओहो, ल हेर अहिले सोसलमिडियाको कमाल ! तिनै पढन्ते साथी मध्यकी एक साथी जो डाक्टर पनि छिन् । भिडियोमा नाच्दै गरेको देखें। निक्कै राम्रोसँग नाच्ने रहिछन् । अनि सोचें, स्कुलमा कति रहर हुन्थ्यो होला नाच्न । कति ईच्छा दवाएर राखेकी रहिछन् । धन्न आजकल सोसल मिडिया छ र धक फुकाएर आफ्नो रहर पुरा गर्न पाएका छन सबैले ।
हुन पनि हाम्रा स्कुलका दिन गज्जब थिए । उबेलाका हामी अगाडीको पुस्ता, नेपाली समाज र नेपाली आमाबुबा, संतानको भविष्य राम्रो पढाईमा मात्र देख्ने, खाली पढ्नमात्र भन्थे । एकप्रकारले ठिकै पनि हो । अहिले जस्तो आफ्नो पैसामा उच्च शिक्षा पढाउन सक्ने क्षमता उबेला निक्कै कममा थियो । दशैंमा आर्शिवाद चाहीं डाक्टर , ईन्जिनियर हुनु भन्थे । तर पढनलाई त सरकारी वा विदेशी छात्रवृत्तीको भर पर्नु पर्थ्यो । छात्रवृत्तीको सिट पाउन निक्कै कडा प्रतिस्प्रदा हुन्थ्यो ।छात्रवृत्ती नपाउने कोही कोहीलाई विदेश पढ्न आफ्नो खर्चमा पठाउँथे । तर त्यो पनि छोरालाई मात्र , छोरीलाई त मुश्किल नै हुन्थ्यो ।
“ चिनी धेरै खायो भने तितो हुन्छ “ हो त्यस्तै हो सोसल मिडियाको प्रयोग पनि । मात्रा मिलाएर प्रयोग गर्नुपर्छ, कहिल्यै तितो अनुभव हुन्न । मलाई त सोसलमिडिया दुखसुख बिसाउने साझा चौतारी जस्तै लाग्छ ।
एउटा नमिठो घटना याद आउँछ । एकजना केटी साथी र उनको दाई दुबैले आईएस्सी राम्रो अंकमा पास गरे । डाक्टर पढ्न टिचिंग हस्पिटलमा जाँच दिए पनि तर दुबैको नाम निक्लिएन । पछि दाईलाई बंगलादेश आफ्नै खर्चमा आमाबुबाले पढ्न पठाए । साथीको पढाई दाईको भन्दा राम्रो भएपनि “मेडिकल डाक्टर” बन्न पाईनन् । तर पढ्नमा राम्रो थिईन । एमएस्सी पास गरेर , आफ्नै मेहेनतले पुरै छात्रवृत्तिमा विदेशमा पिएडी पढ्न गएर “ डाक्टर “ चाहीं बनेरै छोडिन् ।
हामी सबैमा कुनै न कुनै किसिमको लुकेको प्रतिभा वा क्षमता हुन्छ । कुनै प्रतिभा जन्मदै लिएर आएका हुन्छौं । कुनै प्रतिभालाई चाहीं फूलहरूलाई जस्तै अलिक मलजल र स्याहार पुर्र्याउन सके फक्रिन केही बेर लाग्दैन ।
संतानहरूको लागि आमाबुबा भनेका उनीहरूको भबिष्यलाई सही मार्गदर्शन दिलाउने मार्ग दर्शक पनि हुन। तर तेसो भन्दैमा उहिले जस्तो खाली पढमात्र भन्नु हुन्न । समय बदलियो । पढाई साथसाथै संतानको रूचीमा पनि ध्यान दिनु जरूरी छ । स्कुलमा हुने अतिरिक्त क्रियाकलापको कक्षाहरूमा पनि भाग लिन प्रोत्साहन गर्नु पर्छ । के थाहा तपाईंको संतान भविष्यको प्रसिद्ध खेलाडी, कलाकार आदी पनि बन्न सक्छन की ?
शशी के.सी
लेखिका
प्रतिक्रिया