“मुक्ति दिवस” को घोषणा सहित ट्रम्पको नयाँ शुल्क नीति र यसको विश्वव्यापी प्रभाव ,न्युनतम शुल्क १० % लागू गरिने

इनेप्लिज २०८१ चैत १९ गते २२:४७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ शुल्क घोषणा गर्दै यसलाई “मुक्ति दिवस” को रूपमा नामाकरण गरे।

राष्ट्रपति ट्रम्पले अप्रिल ५ देखि लागू हुने गरी सबै अमेरिकी व्यापारिक साझेदारहरूका लागि १०% न्यूनतम शुल्क घोषणा गरे। साथै, अप्रिल ९ देखि लागू हुने थप पारस्परिक शुल्कको पनि घोषणा गरे ।

यी भन्सार शुल्कहरु राष्ट्रपति ट्रम्पको आर्थिक नीतिको महत्वपूर्ण हिस्सा बनेको छ। क्यानडा र मेक्सिको लगायतका ठूला व्यापारिक साझेदारहरूमाथि पहिले नै शुल्क लगाइएको थियो। नयाँ घोषणासँगै अमेरिकाले व्यापारिक प्रतिस्पर्धालाई थप कडाइका साथ अघि बढाउने संकेत दिएको छ।

युरोपेली नेताहरूको कडा प्रतिक्रिया :

राष्ट्रपति ट्रम्पको शुल्क घोषणापछि युरोपेली नेताहरूले चर्को रुपमा असन्तोष व्यक्त गरेका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले सामाजिक सञ्जाल मार्फत शुल्क गलत दिशा तर्फ अघि बढिरहेको छ । यसले न अमेरिका न त इटालीलाई फाइदा पुर्‍याउने जनाएकी छिन् ।

यसै गरि स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले भने, “हामी थप व्यापार अवरोधहरू चाहँदैनौं। व्यापार युद्ध होइन, अमेरिका र युरोप बीच सहकार्य र व्यापार पुनर्स्थापित गर्न चाहन्छौं।”

युरोपेली जनता दलका अध्यक्ष म्यानफ्रेड वेबर ले ट्रम्पको घोषणालाई “आक्रोश दिवस” भन्दै कटाक्ष गरे। उनले भने, “ट्रम्पको शुल्कले निष्पक्ष व्यापारको रक्षा गर्दैन, बरु डरका कारण व्यापार हमला गर्छ। युरोप एकजुट छ, आफ्ना आर्थिक स्वार्थहरूको रक्षा गर्न तयार छ।”

आलोचकहरूको चेतावनी: मूल्य वृद्धिको सम्भावना :

स्वतन्त्र व्यापार समर्थकहरू र अर्थशास्त्रीहरूले नयाँ शुल्कलाई अमेरिकाका उपभोक्ताहरूका लागि महँगो सावित हुने चेतावनी दिएका छन्।

शुल्कको असर अमेरिकाभन्दा बाहिर पनि देखिनेछ। युरोप, एसिया, र अन्य मुलुकहरूले पनि अमेरिकाविरुद्ध कडा कदम चाल्न सक्ने विश्लेषकहरूको धारणा छ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश :

एक घण्टा लामो सम्बोधनपछि, राष्ट्रपति ट्रम्पले दुई कार्यकारी आदेशमा हस्ताक्षर गरे, जसले पारस्परिक शुल्क कार्यान्वयन गर्ने र चिनियाँ उत्पादनहरूलाई शुल्क छुट दिने अमेरिकी कानुनी प्रावधानलाई हटाउने निर्णय गर्यो।

राष्ट्रपति ट्रम्पले भने, “अमेरिका अब आफ्नै औषधि उत्पादन गर्न सक्दैन, संचार उपकरण (सु-सांख्य यन्त्र )कम्प्युटर, फोन( संचार थान ), दूरदर्शन (टिभी )जस्ता सामग्री विदेशी मुलुकबाट आयात गर्न बाध्य छ। हाम्रो व्यापार घाटा मात्र आर्थिक समस्या होइन, यो राष्ट्रिय सुरक्षाका लागि खतरा हो।”

ट्रम्पको बिभिन्न देशलाई लगाएको शुल्क सूची :

राष्ट्रपति ट्रम्पले विभिन्न मुलुकहरूमाथि लगाइएको पारस्परिक शुल्क सूची प्रस्तुत गरे, जसमा चीनलाई ३४%, युरोपेली संघलाई २०%, भियतनामलाई ४६%, जापानलाई २४% र भारतलाई २६% शुल्क लाग्नेछ।

यो नीति राष्ट्रपति ट्रम्पको “अमेरिकालाई प्रथम बनाउने” कार्यसूचीको ठूलो हिस्सा मानिन्छ। अब सबैको ध्यान अप्रिल ५ र अप्रिल ९ मा केन्द्रित छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ शुल्क घोषणापछि अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ।

राष्ट्रपति ट्रम्पको विवादास्पद दाबीहरू :

राष्ट्रपति ट्रम्पले आज फेरि आफ्नो पहिले देखिको दाबी दोहोर्याउँदै भने ,चीनले उनको पहिलो कार्यकाल अघि अमेरिकी राष्ट्रपतिलाई १० सेन्ट समेत तिरेको थिएन।” तर, यो दाबी पहिले नै गलत प्रमाणित भइसकेको छ।

राष्ट्रपति ट्रम्पले शुल्कहरू निर्धारण गर्नका लागि राष्ट्रिय आर्थिक आपतकाल घोषणा गरेका छन्। उनले दाबी गर्दै भने अमेरिकालाई विदेशी मुलुकहरूले शोषण गरिरहेको छ ,जसले अमेरिकी उपभोक्ताहरूलाई सामान बेच्न चाहन्छन् तर अमेरिकी उत्पादनहरू प्रतिस्पर्धात्मक हुन नदिने गरी व्यापार अवरोध लगाउँछन्।

ट्रम्पले पुनः दाबी गरे र भने उनको पहिलो कार्यकालमा चीनमाथि लगाइएका शुल्कहरूका कारण अमेरिका “बिलियन डलर” कमाउन सफल भयो। तर, अधिकांश अर्थशास्त्रीहरूका अनुसार शुल्कहरू चीनले होइन अमेरिकी आयातकर्ताहरूले तिर्नुपर्ने हुन्छ।

क्यानडालाई लिएर ट्रम्पको भ्रमपूर्ण दाबी :

राष्ट्रपति ट्रम्पले आजको भाषणमा सही रूपमा उल्लेख गर्दै भने क्यानडाले केही अमेरिकी दुग्धजन्य उत्पादनमा २५०% भन्दा बढी शुल्क लगाएको चर्चा गरे ।

ट्रम्पको भन्सार कर नीति र यससँग सम्बन्धित विवादास्पद दाबीहरूका कारण अमेरिकी अर्थतन्त्रमा तनाव बढ्ने संकेत देखिएको छ। लगानीकर्ताहरू अब बजारमा स्थिरता फर्कन कति समय लाग्छ भन्ने प्रतीक्षामा छन्।

प्रतिक्रिया