ब्लड ईज थिकर द्यान वाटर: वहाँको यही वाणीले अहिले मन भारी भएको छ !

मदन बस्नेत, टोरोन्टो २०८१ चैत २० गते २:४९ मा प्रकाशित

नाम नै काफी छ – माथवरसिंह बस्नेत। नाम सुन्ने बितिक्कै सबैले वहाँलाई चिन्ने भनेको वहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, नेपाली काँग्रेसका नेता, निर्भिक, स्पस्ट वक्ता, वरिष्ठ पत्रकार, लेखक, बौद्धिक एवम् आकर्षक व्यक्तित्वका धनी भनेर हो।

२०४६ को जनआन्दोलनपछि तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्प्रसाद भट्टराईको प्रेस सल्लाहकार बन्नुभएका वहाँ, राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान र प्रेस काउन्सिलको अध्यक्ष बन्नुभएको थियो। त्यसैले धेरैले वहाँलाई त्यसरी नै चिन्ने, जान्ने र बुझ्ने गरेका छ्न्।

धेरैले ०४६ को जनआन्दोलनका कमान्डर सर्वमान्य नेता गणेशमान सिंहको “मेरो कथाको पानाहरु” का लेखक भनेर पनि चिन्छ्न्। उहाँले २०४६ सालको जनआन्न्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको आत्मत्मकथा “मेरो कथाका पानाहरु” पुनर्जागरणमा धारावाहिक रुपमा प्रकाशित गर्दै आउनुभएको थियो र त्यसलाई समेटेर तीन खण्ड पुस्तकका रुपमा प्रकाशित भइसकेका छन् भने अन्य खण्ड पनि प्रकाशित हुने क्रममा थिए ।

वहाँले २०४६ सालको आन्दोलनका क्रममा भूमिगत रुपमा पुनर्जागरण साप्ताहिकमार्फत आन्दोलन बुलेटिन निकालेर आन्दोलनका गतिबिधि सम्प्रेषण गर्नुभएको थियो। त्यसैले वहाँलाई बिद्रोही पत्रकार भनेर चिन्नेहरु पनि धेरै छ्न्।

ईतिहासमा रुचि राख्नेहरुले वहाँलाई उपत्यकाको काँठ क्षेत्र भक्तपुरबाट विद्यार्थी कालदेखि प्रजातान्त्रिक आन्दोलनमा होमिएका र प्रजातन्त्र पुनर्वहालीको निम्ति बमकाण्डमा आजीवन जेलसमेत पर्नुभएको एक साहसिक योद्धाको रुपमा चिन्दछ्न्। वहाँ संगै नख्खु जेल बस्दा ताकाको वहाँको मित्र केपी शर्मा ओलि अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ।

नेपाली कांग्रेसका नेताहरु जननायक बीपी कोइराला, सर्बोच्च कमाण्डर गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईसँग निकटस्थ रहेर काम गर्नुभएका वहाँले जेलबाट छुटेपछि पुनर्जागरण पत्रिका प्रकाशित गर्नुभएको थियो, जसको विमोचन बीपी कोइरालाले गर्नुभएको थियो । पुनर्जागरण पत्रिका कुनै बेला नेपाली कांग्रेसको मुखपत्र कै रुपमा चिनिन्थ्यो। जब गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री बने र पार्टीका सर्बोच्च नेता गणेशमान सिंहलाई पार्टीबाटै बिस्थापित गर्ने अबस्थामा पुगे, त्यतिबेला पुनर्जागरण नेपाली कांग्रेस भित्रको प्रतिपक्षीको आवाज भनेर चिनिएको थियो। त्यतिबेलाको गणेशमान सिंहको गिरिजाप्रसाद कोईराला विरुद्धको अभिव्यक्ति पुनर्जागरणमा ब्यानर न्युज बनेर छापिन्थ्यो। पुनर्जागरणको त्यस्तो न्युजलाई कांग्रेस भित्र ”लेटर बम” को रुपमा बुझिन्थ्यो। ती सबै समाचारको संयोजन, निर्माण र सम्पादन गर्ने प्रमुख ब्यक्तित हुनुहुन्थ्यो – माथवरसिंह बस्नेत। वहाँ त्यही कारण कोईराला समुहको आखाँको तारो बन्नु भयो र त्यसको मूल्य वहाँले मरणोप्रान्त पनि चुकाईरहनु पर्यो। आफ्नो ब्यक्तिगत वृत्ति बिकासको पर्वाह नगरी सिद्धान्तनिष्ठ ढंगले पार्टी निर्माणमा अनवरत लाग्ने वहाँको त्यही निष्ठा, त्याग र बलिदानलाई नजिकबाट नियाल्नेहरु वहाँलाई एक साहसी एवं त्यागी नेताको रुपमा चिन्दछ्न्।

नेपाली कांग्रेसलाई पार्टीको नीति सिद्धान्त र बिपिको मार्ग निर्देशन अनुरुप चलाउन पार्टीका तात्कालिक कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र सर्बोच्च नेता गणेशमान सिंहको सारथि बनेर गिरिजाप्रसाद कोईराला पक्षधरसंग नीरन्तर अन्तरपार्टी संघर्षमा लाग्नु भएका माथवरसिंह बस्नेतलाई पार्टी पूर्णत कब्जा गर्न सफल भएपछि र सत्तामा हालिमुहाली गर्न थालेपछि कोईराला समुहले देखिसहेन। प्रतिशोध साध्ने नाममा त्यो समूह उपत्यकाको काँठ क्षेत्रबाट उदायको एउटा होनहार युवा नेतृत्वको तेजोबध गर्ने तिर लाग्यो। प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान र पार्टी निर्माणमा खटिएको ईतिहासलाई नजरअन्दाज गर्न मात्र हैन पार्टीमा वहाँको अबसर र भुमिकालाई पूर्णत निस्तेज पार्ने तिर कम्मर कसेरै लाग्यो। त्यस अर्थमा वहाँ पार्टी भित्र नेता कार्यकर्ताको नजरमा राजनीतिक कोपभाजनमा परेको नेताको रुपमा पनि चिनिनुहुन्छ। त्यसैले धेरै नजिकबाट चिनेजानेका नेताकार्यकर्ताहरुले त वहाँलाई कांग्रेस भित्रको अभिमन्युको संज्ञा पनि दिएका छ्न्।

वहाँको निर्भीक, दृढसंकल्पित स्वभाव र आत्म स्वाभिमानको कारण वहाँलाई पार्टी भित्र रुचाउने भन्दा पनि ईर्ष्या गर्नेहरु धेरै थिए। त्यसैले गर्दा वहाँलाई पार्टी भित्रको एउटा गुटगत सक्रिय समुहले जालझेलपूर्ण तरिकाले राजनीतिक सिकार बनायो। वहाँ भन्दा कनिष्ठले पार्टी भित्र र सरकारमा महत्वपूर्ण जिम्मेवारी पाए तर वहाँ विरुद्ध सधैं षडयन्त्र गरियो र आखाँको तारो बनाईयो। त्यसैले वहाँलाई नजिकबाट चिन्ने र बिशेषगरि काठमाडौं उपत्यकाका र भक्तपुरका पुराना कांग्रेसी नेता कार्यकर्ता वहाँलाई अन्यायमा परेका पार्टी नेताको रुपमा बुझ्छ्न् र पार्टीले जति न्याय गर्नु पर्थ्यो त्यति नगरेको गुनासो आज पर्यन्त गरिरहेका हुन्छ्न्।

वहाँ जहिले पनि एन्टी करेन्ट धारमा हिड्ने गर्नुहुन्थ्यो। ७७ बर्ष उमेर पार गरेर जीवनको उत्तरार्ध अवस्थामा आईपुग्दा सम्म पनि समसामयिक राजनीतिक घटनाक्रमका बारेमा र बिशेष गरेर कांग्रेसले समात्नु पर्ने राजनीतिक बाटो र कार्यशैलीका बारेमा नीरन्तर कलम चलाई नै रहनु भयो। आफ्नो निधन भएकै साता पनि वहाँको लेख “देशान्तर” मा प्रकाशित भएको थियो। वहाँ नै नरहेपछी अब वहाँको त्यो कलमले पनि सदाकालागि विश्राम लिएको छ।

हाल वहाँ भक्तपुरको कटुन्जेस्थित गणेशमान सिंह बाटिकाको अध्यक्षको रुपमा कृयाशिल हुनुहुन्थ्यो। वहाँको त्यस्तै गतिशीलता र कृयाशिलता नै हामी सबैकालागि प्रेरणाको स्रोत थियो। अरु सबैले वहाँलाई जसरी चिने पनि बुझे पनि वहाँ हाम्रालागि भने अभिभावक हुनुहुन्थ्यो। बिधिको बिधान यस्तै रहेछ, यतिखेर हामीले त्यो अभिभावकत्व गुमाएका छौं। ब्यक्तिगत रुपमा मैले अभिभावक मात्र गुमाईन, पत्रकारिताको गुरु अनि आफ्नो शिर माथिको छानो पनि गुमाउन पुगेको छु।

सम्झनाका शृङ्खला थुप्रै थुप्रै छ्न् तर यतिखेर वहाँ संगको एउटा पुरानो घटनाले मलाई बारम्बार डकसिरहेको छ। हामी एक दिन पुनर्जागरण पत्रिकाका सहकर्मी मित्र राहुल बस्नेतको बैबाहिक भोजमा सामेल हुन जाने क्रममा थियौं। वहाँहरु तयार भएर मेरो घर नजिकै आईपुग्नु भएको रहेछ। वहाँले मलाई नदेखेर सम्पादक ज्युलाई फोन गर्न लगाउनु भयो। म हतार हतार गाडी भएको ठाउँमा पुगेँ। पुनर्जागरण पत्रिकाका सम्पादक दस्तुरसिंह बस्नेत लगायत पत्रिकाका अन्य सहयोगी ब्यक्तित्वले वहाँले चलाउनु भएको रातो कारमा गाडीको क्षमता अनुसार पाँच जनाको संख्या पुगिसकेको थियो। मलाई बस्ने ठाउँ थिएन किनकि वहाँ गाडीको क्षमता भन्दा कहिँ कहिल्यै एकजना पनि बढी मान्छे राखेर हिंड्नु हुँदैनथ्यो। त्यसैले मैले बाईकमा आउँछु भनेँ तर वहाँले हैन संगै जाऔं भन्नू भयो तर कसरी ? गाडीमा भएकै मध्ये कोही एक ओर्लनै पर्ने अवस्था आयो। हामी सबै मुखामुख गर्न थाल्यौं। त्यति नै बेला वहाँले भन्नुभयो – गाडीको क्षमता ५ भन्दा बढी त कुनै हालतमा पनि म राख्ने मान्छे हैन तर आज एक दिनको लागि म तिमीलाई बस्न अनुमती दिन्छु किनकी “ब्लड ईज थिकर द्यान वाटर”। त्यसपछि वहाँ समेत हामी ६ जना वहाँको त्यो रातो गाडीमा विवाह घर तिर हुँईकियौं। गाडीको गति भन्दा धेरै छिटो गति शायद मेरो मुटुको थियो होला त्यतिबेला। गर्वले छाती ढक्क फुलेको थियो। ज्यान तातो अनि गाला रातो भएर आएको थियो। आँखा, माया मिश्रित आँसु अनि गर्वले भरिलो भएको थियो।

आज म त्यो क्षण झलझली सम्झिरहेको छु। वहाँ अपर्झट महाप्रस्थानमा जानू भयो भन्दा पत्याई सक्नु अबस्था थिएन। तर नियतीको अगाडि कसैको केही नलाग्ने रहेछ। वहाँको बिदाई वहाँलाई चिन्ने जान्ने सबैकालागि निश्चय पनि पिडादायक छ नै तर त्यो भन्दा धेरै गुणा बेसी पीडा यतिखेर म महसुस गरिरहेको छु किनकी “ब्लड ईज थिकर द्यान वाटर” !

वहाँको महाप्रस्थानको आज १३ औं दिनको पुण्य तिथिमा वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकको घडीमा हामी र हाम्रो परिवारलाई सान्त्वना प्रदान गर्नु हुने सम्पूर्ण ईष्टमित्र, आफन्त, मित्रजन, छरछिमेकी, शुभचिन्तक, पार्टीका सम्पूर्ण नेता कार्यकर्ता तथा सबै मान्यजनहरुमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छौं।

मदन बस्नेत, टोरोन्टो।

प्रतिक्रिया