निष्ठापूर्वक पूरा गर्दा स्वार्थ समूहबाट आफ्नो प्रतिष्ठामाथि आघात पुग्नेगरी प्रहार गरियो कुलमान घिसिङ

बेद प्रसाद घिमिरे २०८१ चैत २१ गते १०:२३ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्दा स्वार्थ समूहबाट आफ्नो प्रतिष्ठामाथि आघात पुग्नेगरी प्रहार भएको बताएका छन्।

शुक्रबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गरेका घिसिङले भनेका छन्, ‘राज्यले दिएको जिम्मेवारी इमान्दारी र निष्ठाका साथ पूरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी विगतबाटै प्रत्यक्ष/अप्रत्यक्ष चौतर्फी रूपमा प्रहारका प्रयास भएका थिए।’

उनले आगामी दिनमा समेत त्यस्तै हुन सक्ने भन्दै आफू सर्तक हुने पनि बताएका छन्। ‘मलाई कमजोर बनाउन आगामी दिनमा समेत सोही किसिमका प्रहार हुनेमा म सर्तक र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु,’ उनले भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘मैले प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमान्दारीपूर्वक सम्पन्न गरेको छु। यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जवाफदेहितामा आधारित थिए। मेरो प्रतिबद्धता सधैँ जनताको सेवाप्रति समर्पित रहनेछ। राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु।’

पूर्णपाठ भिडियोमा

प्रतिक्रिया