शुल्क लगाएको कारण बजार उथलपुथल हुदै गर्दा ट्रम्पद्वारा अमेरिकीहरूलाई ‘धैर्य गर्न’ आग्रह

इनेप्लिज २०८१ चैत २३ गते ०:२१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुल्कको घोषणा गरे पछि पछिल्लो केही दिनमा संसारभरिको सेयर बजारको उथलपुथल हुदै गर्दा अमेरिकीहरूलाई “धैर्य गर्न” आह्वान गरेका छन्।

ट्रम्पले शनिबार बिहान आफ्नै सामाजिक संजाल ट्रुथ सोसलमा उनको योजनाले काम गर्न थालेको बताएका छन् । उनले ट्रिलियन डलर अमेरिकी अर्थतन्त्रमा प्रवाह भइसकेको जनाए ।

“हामीले रोजगारी र व्यवसायहरू पहिले कहिल्यै नभएको रूपमा फर्काइरहेका छौं। अहिले नै पाँच ट्रिलियन डलरभन्दा धेरै लगानी भइसकेको छ, र यो तीव्र रूपमा बढ्दैछ ! यो एउटा आर्थिक क्रान्ति हो, र हामी जित्नेछौं,” ट्रम्पले लेखेका छन् ।

यस हप्ताको एसएण्डपि ५०० तथा नासडाकमा आएको ठूलो गिरावट पछिल्ला १० वर्षमा सबैभन्दा खराबमध्ये एक हो । किनभने सेयर बजार लगातार दोस्रो दिन ओरालो लाग्यो। शुक्रबार डाउ ५.५% ले घट्यो भने एसएण्डपि ५०० र नासडाक क्रमशः ५.९७% र ५.८२% ले घटे।

ट्रम्पले अमेरिका भित्र आयात हुने सबै वस्तुहरूमा १०% आधारभूत शुल्क लागू गरेका छन् । र ,केही देशहरूमा अझ उच्च दरका भन्सार शुल्क लागु गरिएको छ।

तर यसले दीर्घकालमा उनको योजना सफल हुने कुरामा ट्रम्प अझै विश्वस्त छन् । उनको उद्देश्य अमेरिकाको व्यापार घाटा घटाउने, अमेरिकी उद्योगहरूको संरक्षण गर्ने र प्रतिष्ठानहरूलाई उत्पादन अमेरिका फर्काउन प्रेरित गर्दै रोजगारी बढाउने हो।

“धैर्य गर्नुस्, सजिलो हुने छैन, तर अन्त्यमा परिणाम ऐतिहासिक हुनेछ,” ट्रम्पले सामाजिक संजालमा लेखेका छन् ।

ट्रम्पले चीनलाई लक्षित गर्दै प्रतिक्रिया जनाए । “चीनलाई अमेरिका भन्दा धेरै बढी चोट पुगेको छ, तुलना नै गर्न मिल्दैन,” ट्रम्पले लेखे। “चीन र अरु धेरै देशहरूले हामीलाई अत्यन्त खराब व्यवहार गरेका छन्। “

बुधबार ट्रम्पले चीनमाथि लगाएको ३४% शुल्क पहिले नै लागू भइसकेको २०% शुल्कमा थपिएको हो। द वाल स्ट्रिट जर्नलका अनुसार चीनले अमेरिकाविरुद्धको नयाँ शुल्कअप्रिल १० बाट लागू गर्नेछ।

चीनमा आफ्नो सामान बेच्ने प्रतिष्ठानहरू, जस्तै एरोस्पेस, कृषि र भारी उपकरण कम्पनीहरू शुक्रबार ठूलो नोक्सानीमा परेका छन्। बिहीबार घाटा खेपेका बैंकहरु ,बिमानसेवा र प्रविधि कम्पनीहरू शुक्रबार पनि झनै ओरालो लागे।

एप्पल ,माइक्रोसफ्ट ,अल्फाबेट ,एमाजोन ,मेटा ,र टेस्ला लगायतले पछिल्लो दुई दिनमा करिब १.८ ट्रिलियन (खर्ब)डलर बजार मूल्य गुमाएका छन्।

प्रतिक्रिया