अमेरिकाको सबैभन्दा व्यस्त सीमा नाका सान यिसिड्रोमा कार्यरत दुई अमेरिकी सीमाशुल्क तथा सीमा सुरक्षाअधिकृतहरूलाई घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ। उनीहरूमाथि अवैध आप्रवासीहरूलाई बिना कागजात अमेरिका प्रवेश गराउन सहयोग गरेको आरोप छ।
अधिकृत फालिस आलमोन्टे र रिकाडो रोड्रिगेजले दर्जनौं सवारीसाधनहरूलाई बिना जाँच पास गराएको अभियोजन पक्षको दाबी छ। तिनीहरूले यसबापत हजारौं डलर घुस लिएको आरोप लगाइएको छ।
बिहीबार सार्वजनिक गरिएको अदालतका कागजात अनुसार, अनुसन्धानकर्ताहरूले ती अधिकृतहरू र मेक्सिकोमा रहेका मानव तस्करहरूबीच आदानप्रदान भएका सन्देशहरू फेला पारेका छन्। साथै, उनीहरूको बैंक खातामा ठूलो रकमको नगद जम्मा देखिएको छ।
आलमोन्टे पक्राउ पर्दा जाँचकर्ताहरूले उनको प्रेमिकासँग करिब ७०,००० नगद बरामद गरेको आरोप लगाएका छन्। उनलाई पैसाको शुद्धिकरण र प्रमाण लुकाउने प्रयाससम्बन्धी थप मुद्दा लाग्न सक्ने बताइएको छ।
अस्थायी अमेरिकी अटर्नी एन्ड्र्यु हेडनले भने, “जोसुकैले तस्करलाई सहयोग गर्छ भने उसले आफ्नो सपथ तोडेको र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको हुन्छ।”
पछिल्ला दुई वर्षमा मात्र सान डिएगो क्षेत्रमा पाँच जना अधिकारीमाथि यस्तै आरोप लागिसकेको छ।
प्रतिक्रिया